नेकपा ओली पक्षको जनसभा नारायणहिटी दरबार अगाडि

नेकपा ओली पक्षले यही माघ २३ गते नारायणहिटी दरबार संग्रहालय अगाडि जनसभा गर्ने भएको छ। नेकपा ओली पक्षका बागमती प्रदेश संयोजक आनन्द पोखरेलले २३ गतेको आमसभा नारायणहिटी दरबार संग्रहालय अगाडि गर्न लागिएको जानकारी दिएका छन्। 

आमसभा तयारी सचिवालयका प्रमुखसमेत रहेका पोखरेलले तयारीलाई तीव्र बनाइएको  जानकारी दिएका छन्। 'आमसभाको तयारी भइरहेको छ। यसलाई नियमित प्रक्रियाकै रुपमा लिएका छौं', उनले फरकधारसँग भने, 'नेकपा बागमती  संगठन कमीटीले आयोजना गर्न लागेको यो आमसभा नारायणहिटी गेट अगाडि हुनेछ।'

पोरखेलका अनुसार यो आमसभामा बागमती प्रदेशका १३ जिल्लाका नेता कार्यकर्ता उपस्थित हुने छन्। 'हामी यो आमसभामा बागमती प्रदेशका १३ जिल्लाका नेता कार्यकर्ता उपस्थित हुन्छौँ', उनले भने, 'सभालाई प्रधानमन्त्री र महासचिव विष्णु पौडेलसहितका ठूला नेताहरुले सम्बोधन गर्नुहुनेछ।'

नारायणहिटी अगाडि नै किन ? 

अध्यक्ष पोखरेलले नारायणहिटी अगाडि आमसभा गरिनुपर्नेका दुई-तीन कारण दिएका छन्। 'नारायणहिटी अगाडि गर्नुपर्ने कारण त्यस्तो केही होइन, यसलाई विशेष अर्थ लगाएर व्याख्या गर्नु जरुरी छैन', उनले भने, 'नारायणहिटी अगाडिको क्षेत्रमा आमसभा गर्दा उपस्थित भएका जनतालाई बस्ने र उभिने ठाउँ प्रशस्त छ।'

उनले आमसभाका लागि कयौँ विकल्पबारे सोचिएको पनि बताए। 'हामीले रत्नपार्कबारे सोच्यौँ तर त्यहाँ गर्दा उपत्यकाको ट्राफिक अस्तव्यस्त हुने देखियो। सैनिक मञ्चमा राजनीतिक कार्यक्रम गर्नु भएन। खुलामञ्चको अवस्था हामीलाई थाहै छ', उनले थपे, 'भृकुटीमण्डपमा गर्दा पनि ट्राफिक व्यवस्थापन बिग्रिने देखियो।'



उनले दुई लाख मानिस २३ गते उतार्न लागिएको बताए। 'दुई लाख मानिस अट्ने ठाउँको खोजी गर्दा उपयुक्त विकल्प त्यही लाग्यो', उनले भने, 'नाराणहिटी दरबारदेखि घण्टाघर, सञ्जयकोष र जयनेपाल हलसम्मको क्षेत्रलाई हामीले कार्यकर्ता राख्न प्रयोग गर्दैछौँ।'

उनले रत्न पार्कलाई खुला गर्ने गरी यो ठाउँ चयन गरिएको बताए। 'रत्नपार्कको सडक क्षेत्र रोकिँदा उपत्यकाकै सवारी व्यवस्थापन बिग्रिएको हामीले देखिसकेका छौं', उनले भने, 'सकेसम्म कम जाम होस् भन्नका लागि यो ठाउँ छानेका हौँ। यो क्षेत्रमा सभा गर्दा बालाजुबाट आउने सवारीलाई गौशाला पठाउन सकिन्छ। अर्कातिर त्रिपुरेश्वरबाट आउने सवारीलाई पनि अवरोध नहुने सुझाव हामीले पाएका छौं।'



  • प्रकाशित मिति : माघ १८, २०७७ आइतबार १४:४३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया