दाहाल-नेपाल समूहको आमहड्तालविरुद्ध प्रहरी कडा रुपमा उत्रिने

नेकपा दाहाल–नेपाल समूहले घोषणा गरेको आमहड्तालविरुद्ध कडा रुपमा प्रस्तुत हुने तयारी सरकारले गरेको छ।

गृहमन्त्री रामबहादुर थापा (बादल) ले जारी गरेको ८४ बुँदे कार्ययोजनाविपरीत आमहड्ताल घोषणा गरेकाले त्यसविरुद्ध कडा रुपमा उत्रिने सरकारको तयारी रहेको गृह मन्त्रालयले जनाएको छ । 

गृह मन्त्रालयले जारी गरेको ८४ बुँदा कार्य योजनामध्ये मुख्य राजमार्ग अवरुद्ध गर्न नपाउने योजना छ। त्यसलाई कार्यान्वयन गराउनमा सरकार पछाडि नहट्ने गृहमन्त्रालय स्रोत बताउँछ। यसमा कुनै पनि दलबाट मुख्य राजमार्ग बन्द गर्न खोजिए त्यसको प्रतिकारमा सरकार उभिने मन्त्रालय स्रोतको दाबी छ ।

नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले नेकपा दाहाल–नेपाल समूहको आमहड्तालको प्रतिकार गर्ने बताएका छन्। सवारीसाधन रोक्ने र कलकारखाना बन्द गर्न नपाउने नीति रहेकोले यसको बचाउमा प्रहरी उभिन तयार रहेको उनले बताए।

‘कुनै पनि दलले विरोधका कार्यक्रमहरु गर्न पाउँछन् तर त्यसको नाममा जनतालाई दुःख दिन पाइँदैन’, उनले भने, ‘त्यसैले जनतालाई दुःख दिने कसैबाट पनि काम भएमा प्रहरी जनताको रक्षाको निम्ति उभिन्छ ।’ 

कलकारखानासहित सवारीसाधनको पूर्ण सुरक्षा व्यवस्था मिलाउने प्रहरीको तयारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  



नेकपा दाहाल–नेपाल समूहले भोलि बिहीबार देशव्यापी आमहड्ताल घोषणा गरेको छ । संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले आमहड्ताल आह्वान गरिएको सुनाउँदै भनिन्, ‘भोलि विद्यालय, कारखाना, सार्वजनिक क्षेत्र र यातायात पनि ठप्प पारिनेछ।’ 

काम चलाउ बनिसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक नियुक्ति गरेको भन्दै दाहाल–नेपाल हड्तालमा उत्रिएका हुन्। 



  • प्रकाशित मिति : माघ २१, २०७७ बुधबार १४:५९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया