नेपाली कांग्रेसले संसदीय सुनुवाइविना नै संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्नुलाई सरकारको ‘सर्वसत्तावाद उन्मुख प्रवृत्तिको शृंखला’को संज्ञा दिएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको सर्वसत्तावाद उन्मुख प्रवृत्तिविरुद्ध संघर्षका कार्यक्रम सञ्चालन गर्ने बताएका हुन् ।
एकपछि अर्को संवैधानिक व्यवस्थालाई उलंघन गरेर सरकार संविधानलाई विखण्डित गर्ने यात्रामा अघि बढेको भन्दै प्रवक्ता शर्माले संवैधानिक परिषद्सम्बन्धी विश्वव्यापी व्यवस्थालाई उलंघन गरेर सरकारले अध्यादेश ल्याउँदा नै आफूहरुले असहमति जनाएको र अध्यादेश फिर्ता नभई प्रतिपक्षी दलका नेता बैठकमा नजाने निर्णय नै गरेको पनि बताए ।
‘संसदीय सुनुवाइपछि मात्रै नियुक्तिको प्रक्रियालाई पूर्णता दिने भन्ने हाम्रो संवैधानिक मर्म छ । त्यस प्रकारको व्यवस्था प्रस्ट छ । तर, त्यो केही पनि नगरीकन आज एकाएक सपथ ग्रहण भयो’ उनले भने, ‘यो स्थिति जन्मनुको पछाडि दुईवटा कुराले प्रधानरुपमा काम गर्यो । एकातर्फ उहाँहरुसँग रहेको भनिएको दुई तिहाइको दम्भ र अर्कोतर्फ उहाँहरुको द्वन्द्वका कारणले आज संविधानलाई नै विखण्डित गर्ने प्रकारको यात्रा उहाँहरुले अगाडि बढाउनुभएको छ ।’
शर्माले पछिल्लो कदमलाई सरकारको सर्वसत्तावाद उन्मुख प्रवृत्तिकै एउटा शृंखलाको रुपमा लिएको र त्यसविरुद्धको संघर्षलाई अझै घनीभूत बनाउनुपर्छ भन्ने निष्कर्षमा पार्टी पुगेको पनि बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।