नारायणहिटी अगाडि ओलीको तर्क : प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछ
कामै गर्न नदिएपछि ताजा जनादेशमा गएको जिकिर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न मिल्ने बताएका छन्। नारायणहिटी दरबार अगाडिको सडकमा आयोजित आफू पक्षीय नेकपाको जनसभालाई शुक्रबार सम्बोधनका क्रममा ओलीले यस्तो तर्क गरेका हुन्। 

'अहिले देशव्यापी रुपमा एउटा बहस भइरहेको छ, संसद विघटन र विघटनको सिफारिस संविधानसम्मत छ कि छैन भनेर', ओलीले अगाडि भने, 'यो विवाद संसद् विघटन संवैधानिक छ कि छैन भनेर एकातिर बहस हुँदैछ भने अर्कातिर चुनावमा जानु ठीक हो कि होइन भनेर पनि विवाद भइरहेको छ। म भन्छु, प्रधानमन्त्रीले काम गर्न पाएनन्, गर्न दिइएन भने संसद विघटन गर्न पाउँछ।'

ओलीले बेलायतमा लिखित संविधान नभए पनि प्रधानमन्त्रीले संसद विघटन गरेको दृष्टान्त पेश गरे। 'काम गर्न दिइएन भने प्रधानमन्त्रीले संसद विघटन गर्छ, ताजा जानेदशमा जान पाउने अधिकार छ', उनले भने, 'हाम्रै बलमा संसदमा आएर हामीलाई नै काम गर्न नदिने अवस्था आएकाले ताजा जनादेश खोज्नु परेको हो।'

ओलीले दाहाल-नेपाललाई नाटकबाजको संज्ञा दिए। 'तपाईंहरुले कुनै पनि नाटकबाजहरुका छली कुरा सुनेर तपाईंहरु भ्रममा पर्नु हुँदैन', उनले भने, 'जेष्ठ नागरिकलाई, दाजुदिदी बाआमाहरु जेष्ठ नागरिकहरुले लामो इतिहास लेख्नु भएको छ। अहिलेको सरकारले जनताका लागि जसरी काम गरेको छ।'

उनले चुनावी भाषणको शैलीमा यो सरकारले सबै तहका नागरिकको हितमा काम गरेको बताए। 'प्रहरी, किसान, मजदुर, बुद्धिजीवी सबैका लागि काम गरेको छ। इतिहासमा कुनै सरकारले यति छिटो विकास कहिल्यै गरेको थिएन', उनले भने, 'अहिले जति बाटा र पुल कहिल्यै बनेका थिएनन्। कोभिडले केही दु:ख दिएकाले पर्यटन पछाडि परेको छ। अब पर्यटनलाई हामी उठाउँछौँ।'

ओलीले अब देशमा लोडसेडिङ नहुने पनि बताए। 'लोडसेडिङ फेरि फर्किन्छ भन्छन्, होइन अब फर्किँदैन', उनले भने, 'लैनचौरको बाटोमा हिँड्नेहरुले भन्दै थिए राजतन्त्र फर्काएको घोषणा गर्छ भनेर। आधा दशकभन्दा धेरै सामाजिक न्याय गणतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रका लागि लडेको मान्छे हो म। संघीय लोकतान्त्रिक गणतन्त्र हामीले लडेर, बलिदान दिएर ल्याएका छौँ। यस्ता कुरामा तपाईंहरु भ्रमित नहुनुहोला।'



उनले आजको कार्यक्रमम खुलेआम साकाहारी आन्दोलन गर्दिनँ भनेर युवाहरुलाई उचालेर भड्काउन खोजेर बिथोल्ने प्रयास गरेको बताए।  'तर त्यस्ता प्रयासलाई रोक्न खटिने सुरक्षाकर्मीलाई धन्यवाद', उनले भने,'कोभिडविरुद्ध खटिने स्वास्थ्यकर्मीलाई आभार।'

ओलीले दाहाल-नेपालालई चाटुकारको संज्ञा दिए। 'चाटुकारहरुका चटके कुरामा नपरेर जसरी पार्टीको पक्षमा उभिनुभएको छ यसमा हामी आभारी छौँ। अवश्य नै ट्राफिकमा समस्या आएको छ, काठमाडौं अस्तव्यस्त भएको छ। सर्वसाधरणले दु:ख पाएका छन्', उनले भने, 'तर हामी सडकमा नउत्रिँदा दुईचार हजार मान्छे जम्मा गरेर लल्कार्ने काम भयो। केपी ओली यहाँ आऊ हेर भनेर लल्कारे। त्यसकारण सडकमा आउनुपरेको हो।'
 



  • प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार १५:४०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया