राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणका चार नयाँ अनुहार

नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी विश्व लिग–२ अन्तर्गत ओमान सिरिजका लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले शनिबार (माघ २४) बाट बन्द प्रशिक्षण सुरु गर्दै छ । ओमान, नेपाल र अमेरिका सम्मिलित सिरिज चैत ६ देखि १५ सम्म ओमानमा हुँदै छ ।

टोलीमा अधिकांश पुरानै अनुहार दोहोरिँदा चार नयाँ खेलाडी पनि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समेटिएका छन् । गत साता राजधानी सम्पन्न प्रधानमन्त्री कप चौथो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका आधारमा उनीहरूले बन्द प्रशिक्षणमा स्थान बनाएका हुन् । 

नयाँ अनुहारमा अलराउन्डर विवेक यादव, ब्याट्सम्यान अर्जुन कुमाल र खडक बहादुर बोहोरा तथा बलर अनुज चुनारा रहेका छन् ।

विवेक यादव 

यादव प्रधानमन्त्री कपका उदीयमान खेलाडी हुन् । प्रतियोगितामा प्रदेश–२ जितविना समूह चरणबाटै बाहिरिँदा यादवको प्रदर्शन भने उच्च थियो ।



राजविराजका १७ वर्षीय यादवले प्रधानमन्त्री कपमा ४ खेलमा २ अर्धशतकसहित १ सय ६७  रन बनाएका थिए । जसमा ८ चौका र १० छक्का सामेल छ । तल्लो क्रममा निकै आक्रामक ब्याटिङ गर्ने उनले प्रतियोगितामा लुम्बिनी प्रदेश विरुद्ध  आठौं नम्बरमा ब्याटिङ गर्न आएर ४९ बलमा समान ३–३ चौका र छक्काको मद्दतले ५१ रन बनाएका थिए ।

बागमती प्रदेश विरुद्ध नवौं नम्बरमा ब्याटिङ गरेका विवेकले ७४ बलमा समान ३–३ चौका र छक्काको मद्दतले ६६ रन, सुदूरपश्चिम विरुद्ध ४१ र नेपाल पुलिस क्लब विरुद्ध ९ रन बनाएका थिए । 



तिव्र गतिमा बलिङसमेत गर्न सक्ने यादवले प्रतियोगितामा ४ विकेट पनि हात पारेका थिए ।  सातौं राष्ट्रिय खेलकुदमा पूर्वाञ्चलको प्रतिनिधित्व गर्दै क्रिकेटमा पाइला टेकेका यादवले  प्रधानमन्त्री कपको तेस्रो संस्करणमा पनि प्रदेश–२ बाट खेलेका थिए ।  

अर्जुन कुमाल 

प्रधानमन्त्री कपमा सबैको ध्यान खिच्न सफल युवा ब्याट्सम्यान हुन् अर्जुन कुमाल । उमेरले मात्र १५ वर्ष पुगेका अर्जुनको ब्याटिङ गर्ने शैली कुनै सिनियर खेलाडीको भन्दा कम थिएन ।

प्रतियोगितामा गण्डकीको प्रतिनिधित्व गरेका उनले ४ खेलमा १ सय १७ रन प्रहार गरे । ओपनिङमा ब्याटिङ गर्ने उनले त्रिभुवन आर्मी क्लब विरुद्ध ३६, प्रदेश–१ विरुद्ध ३५ र कर्णाली विरुद्ध ४६ रन बनाएका थिए । नेपाल एपिएफसँगको खेलमा भने उनी रन विहीन बने । 

विसं २०७५ मा सम्पन्न यु–१६ राष्ट्रिय लिगमा उत्कृष्ट प्रदर्शन गरेका अर्जुनले  सोही वर्ष नेपालको यु–१६ राष्ट्रिय टिममा स्थान बनाएका थिए । 

थाइल्यान्डमा सम्पन्न एसिसी इस्र्टन रिजन यु–१६ प्रतियोगितामा नेपालका लागि २ खेल खेल्दा ४२ रन प्रहार गरेका उनले पहिलो खेलमा म्यानमार विरुद्ध अविजित २६ र दोस्रो खेलमा मलेसिया विरुद्ध १६ रन जोडेका थिए । 

पुख्र्यौली घर गुल्मी भए पनि अर्जुन हाल भारतको दिल्लीमा बस्दै आएका छन् । उतै क्रिकेट सिक्दै गरेका उनी प्रतियोगिताका बेलामात्र नेपाल आउँछन् । 

खडक बोहरा

प्रधानमन्त्री कपमा सुदूरपश्चिमको प्रतिनिधित्व गरेका खडकले गत वर्ष नेपालका लागि यु–१९ टिममा डेब्यु गरेका थिए । एसिसी यु–१९ रिजन प्रतियोगितामा उनले सिंगापुर विरुद्ध ९० रन जोड्दै सबैको मन जित्न सफल भएका थिए ।

सुदूपश्चिमका लागि प्रतियोगिता सम्झन लायक नभए पनि बैतडीका १८ वर्षीय खडकले आफूलाई भने सम्भावना बोकेको खेलाडीको रुपमा स्थापित गराए । उनले ४ खेलमा ९० रन प्रहार गरे । 

उनले नेपाल पुलिस क्लब विरुद्ध ४० र प्रदेश–२ विरुद्ध ४३ र लुम्विनी प्रदेश विरुद्ध ७ रन प्रहार गर्दा बागमती प्रदेश विरुद्ध भने कुनै रन जोड्न सकेनन् । खडक तेस्रो संस्करणको प्रधानमनत्री कपमा उदियमान खेलाडी घोषित भएका थिए ।  

अनुज चुनारा 

प्रधानमन्त्री कपले जन्माएको अर्का स्टार हुन अनुज चुनारा । जाजरकोटका अनुजले  प्रतियोगितामा कर्णालीको प्रतिनिधित्व गरेका थिए । प्रतियोगितामा ४ खेलबाट ८ विकेट हात पारेका तिब्र गतिका बलर अनुजले  २९.५ ओभर बलिङ गर्दा ६ ओभर मेडन राखेर १ सय ३१ रन खर्चिएका थिए ।  

त्रिभुवन आर्मी क्लब विरुद्धको डेब्यु खेलमा ७ ओभर बलिङ गर्दै २ मेडन सहित २७ रन खर्चिएर १ विकेट लिए । गण्डकी प्रदेश विरुद्ध निकालेको ५ विकेटको ऐतिहासिक जितमा ७ ओभर बलिङ गर्दै १ मेडनसहित २५ रन खर्र्चिएर २ विकेट लिएका थिए । गण्डकी विरुद्धको यो जित प्रधानमन्त्री कपमा कर्णालीको पहिलो र एक मात्र जित हो । 

प्रदेश–१ विरुद्ध ९ ओभर बलिङ गर्दै २ मेडनसहित ४९ रन खर्चिएर २ विकेट लिएका अनुजले नेपाल एपिएफ क्लब विरुद्ध ६.५ ओभरमा १ मेडन सहित ३० रन खर्चिएर ३ विकेट हात पारेका थिए । 

  • प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार १७:५९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया