सडकमा हिँडेका जनता नदेख्ने सरकार टाउका गनेर हर्षित छ
दिनदिनै हिसाब : कताका टाउका बढी कता कम ?

सबै प्राणीको भन्दा अनौठो टाउको मान्छेकै हो। भनूँ भने मान्छेको विशेषता नै टाउको हो र टाउकोको सार्थकता नै मान्छे !

साहित्यकार भैरव अर्यालले आफ्नो ‘टाउको’ निबन्धमा मान्छेको टाउकालाई यसरी अर्थ्याएका छन्। 

हो अहिले नेपालमा यही मान्छेका टाउकाहरूको व्यापक चर्चा छ। जोड–घटाउ, गुणन–भाग, गाली, ताली जे छ टाउकाहरूकै छ।

नेपाली राजनीतिमा यतिखेर विछट्टै रमिता छ। रमिता देखाउनेहरू हुन्, जनताले नै भारी मत दिएर ५ वर्ष देश चलाउन पठाएका नेकपा नामधारी पार्टीका महाशयहरू। वर्षौसम्म राम्रोसँग देश चलाउँछु भनेकाहरू आफ्नै पार्टी चलाउन असक्षम ठहरिए। अनि आँखा तरातर, गालागाल, पेलापेला हुँदै मारामारको अवस्था आयो। 

पार्टीभित्रको झगडाको रिसमा व्यवस्थापिकाको हत्या भयो। कानुनी शासनको धज्जी उडाइयो। 

अनि सुरुभयो टाउकाहरूको हिसाब किताब।



एउटा समूहले हामीसँग पार्टीको बहुमत छ भन्दै कटाक्ष गरिरहेको छ। अर्काे समूहले हामीसँग सत्ताको शक्ति छ भन्दै धमास देखाइरहेको छ। यही दावी र दम्भ बोकेर दुवै समूहका टाउकेहरू देश दौडाहामा छन् टाउकाहरूको हिसाब किताब देखाउन।

हिजोआज हरेक साँझ समाजिक सञ्चालहरूमा फोटा पोस्ट्याएर हिसाब–किताब हुने गरेको छ, कताका टाउका बढी कता कम ? 



सडकमा रहेको बहुमत नेकपाका टाउका धेरै कि सत्तामा रहेको अल्पमत नेकपाका धेरै ? यहीँ अल्झिरहेको छ अहिले देश।

शुक्रबार सत्तामा रहेको नेकपा अर्थात सरकारले नारायणहिटी राजदरबार अगाडि ठूलै तामझामका साथ टाउका प्रदर्शन कार्यक्रम गर्यो। सरकार वरिपरि रहेर खाएपिएकाहरूले नारायणहिटीको गेट अगाडी उभिएर तीन दिशामा छरिएका टाउकाहरूको खुब मूल्यांकन गरे। ती टाउकाहरू उनीहरूका सान र मान बनेर केही घण्टा चिसो सडकमा बसिरहे। दरबारमार्गका सडकमा यताउता भौँतारिरहे। 

सभा सुरु भएको केही क्षणमा नै टाउकाको हरहिसाब सुरु भइसकेको थियो। 

टाउका प्रदर्शन कार्यक्रमका हेड प्रधानमन्त्रीले मञ्चबाट तीनै दिशातिर औँला तेर्स्याएर टाउकाहरूको लेखाजोखा गरे। मनमा के सोचे तर आफू निकै हर्षविभोर भएको भाव अनुहारमा झल्काउन प्रयत्न गरे उनले। 

सभामा बोल्ने प्रधानमन्त्री, मन्त्रीहरूले टाउकाहरूको संख्यामाथि निकै तारिफ गरे। त्यही टाउका देखाएर आफ्नो पक्ष अब्बल अनि अर्को पक्ष कमजोर भएको दावी ठोके। 

अझै देशका विभिन्न भागमा यो भन्दा धेरै टाउका प्रदर्शन गर्ने उद्घोष पनि उनीहरूले गरे। 

चाहिएको जनता होइन टाउका 

टाउका धेरै देखाउनका लागि दुवै समूहले देशका दूरदराजबाट बस रिजर्भ गरेर उस्तै प्रकृतिका जनताहरू सडकमा उतारेको देखिन्छ। 

राजनीतिज्ञका लागि ती खालका जनताहरू तीन समयमा अति काम लाग्छन्। 

.टाउका प्रदर्शन गर्न।
२.भाषणको बीच-बीचमा ताली बजाउन।
३.चुनावमा भोट हाल्न।

अहिले नारायणहिटी अगाडि जसका टाउका देखाएर सरकारका मान्छेहरू हर्षित भइरहे केही महिना अगाडि तिनीहरू नै सरकारका लागि ठूलो टाउको दुखाइ थिए। 

कोरानाको त्रासले लकडाउन भयो। सबै काम धन्दा बन्द भए। सहरबासीहरू दिनभर घरमा बसेर आइटम–आइटमका परिकार बनाएर फेसबुकमा पोस्ट्याइरहेका थिए। नाचगान गर्दै, तास खेल्दै समय दिन कटाइरहेका थिए। 

अहिले टाउका प्रदर्शनमा सहभागी वर्ग त्यो बेला निकै उपेक्षित भयो। सहरमा बास पाइएन।   खानेकुरा पाइएन, गाउँ जानलाई सवारी पाइएन भन्दै रोइलो गरिरहेका थिए उनीहरू। उनीहरूको कचकचले सरकारको अमन चयनमा बाधा पुर्याउँदै टाउको खाइरहेको थियो। 

आफूनिकटका मान्छेलाई विदेशबाट औषधि ल्याउने ठेक्का पार्न रातारात काम गरिरहेको सरकारलाई बिथोल्ने यिनै थिए। 

अभाव र भोकको शिकार भई, परिवार चिन्ता र अन्योलबाट पिल्सिएर छटपटाइरहेका थिए उनीहरू। एक हप्ता, १५ दिन , महिना दिनसम्म हिडेर घर जानेहरूलाई सरकारले कतै देखेकै थिएन।

जसरी अहिले उनीहरू आफ्ना अघिल्तिर भएका भन्दा पनि दोब्बर–तेब्बर टाउका देखिरहेका छन्। साना बच्चा बोकेर भोकभोकै हिडिरहेका, सडकमै सुतिरहेका, थकाइले सुस्ताइरहेका बाटोमै बिरामी परिरहेका मजदुरका कथा व्यथा मिडियामा आए।

सरकारले आश्वासन मात्रै दिए पनि केही खुसी हुने थिए उनीहरू। ती मान्छेलाई सरकारले देख्नै चाहेन। सञ्चारकर्मीले प्रधानमन्त्रीबाट उल्टै गाली खाए। ‘प्रहरीले देख्दैन, जिल्लाका सिडिओले देख्दैन, पत्रकारले मात्रै कसरी देख्छ मान्छे सडकमा हिँडेको ?’ यही प्रश्न थियो प्रधानमन्त्रीको। 

उनीहरू त्यसरी हिँड्नु अनि तिनका पीडा, समस्याबारे खबर लेख्नुलाई सरकारले आफ्नो बदनाम गर्न रचिएको प्रपञ्च सम्झियो। 

आफ्नो गाउँ-ठाउँ पुग्ने, परिवार र आफन्तसँग भेट्ने आशाले खुट्टामा उठेका फोकाहरूका पीडा भुल्दै हिँडेका जनतालाई सहानुभूतिका केही शब्द खर्चिन समेत आवश्यक ठानेन सरकारले। 

भारतबाट आफ्नो  देश फर्किन सीमा नाकामा लागेका जनताको भीड सरकारको टाउको दुखाइको विषय बन्यो। तिनलाई सरकारले कति उपेक्षा गर्यो ? तिनले कति पीडा भोगे ? ती घटना त्यति पुराना भइसकेका छैनन्। त्यसका घाउहरू पनि मेटिइसकेका छैनन्। 

अहिले ‘बा’लाई समस्या पर्यो भन्दै ज्यान फालेर खट्नेहरू यी दृश्य देखाउने पत्रकारहरूलाई गाली नै गरिरहेका थिए।

पिएमले ठूलो मास उतारेर सभा गर्न चाहनुभएको छ भन्दै सर्कुलर गर्ने अनि गाडी र बाटो खर्च बोकेर बस्ती बस्ती चहार्दै मान्छे बटुल्नेहरू कता थिए त्यति बेला ?

जनता समस्यामा पर्दा केन्द्रले प्रदेश, प्रदेशले पालिकालाई देखाइरहेका थिए। अनि अहिले तिनै जनताका टाउका चाँही जिल्ला, प्रदेशमा नभएर केन्द्रीय राजधानीकै सडकमा देखाउनु परेको छ।

जनताहरू भेडाबाख्रा जस्तै क्वारेन्टाइनमा बसे। कतिले क्वारेन्टाइनमै प्राण त्यागे।  घनुषाका १६ वर्षीय राजु सदा अस्पताल पुगेर जीवनजल समेत नपाएर छट्पटाउँदै बिते।

अहिले तिनै जनताका टाउका देखेर पुलकित भइरहेको सरकार त्यतिबेला बालुवाटारबाट भर्जुअल सम्बोधन गरेर, संसदको रोष्टममा खडा भएर बेसारपानी र हिमाली हावाको टिप्स सुनाउनमै मस्त थियो।

त्यो बेला सरकारका नजर न अहिले टाउका देखाउन आउनेमा थिए। न तिनका समस्यामा।

अहिले राजनीतिक भविष्य र कुर्सी संकटमा परेका बेला सडकमा जसका टाउका देखाएर छाति पिटिरहेका छन्, तीनै कुनैबेला उनीहरूले सम्झनै नपर्ने बेक्कारका मान्छे थिए। उनीहरूको सुख, शान्ति खलबल्याउने अराजकहरू थिए। 

समृद्धि र अग्रगमनका बाधक थिए। कोरोनाले समस्यामा परेकालाई सडकमा कसैले भात खुवाउँदा सरकारको खुब इज्जत गएको थियो। अहिले त्यही सरकार राजनीति नै नबुझेका निमुखाहरूलाई विभिन्न प्रलोभनमा ल्याइ भात खुवाएर सडकमै बसाइरहेको छ। कतिका खुट्टामा जुत्ता, चप्पल पनि देखिँदैन। उनीहरूको खाली खुट्टा हेर्ने फुर्सद कहाँ ? चाहिएको छ हिसाब–किताब टाउकाको। 

तस्वीर खिच्दा सडक भरिभराउ हुनुपर्यो। ड्रोनबाट उडाएर नियाल्दा कालै टाउकाहरू देखिनु पर्यो। मात्र त्यत्ति।

धन्य छन् टाउकाहरू। ती अनजानमै कसैका दम्भ, अहंकारको साक्षी बसिरहेका छन्।  कसैलाई माथि पुर्याउन र कसैलाई तल झार्नका लागि प्रयोग भइरहेका छन्।

टाउको फुटबल जस्तै हुन्छ, त्यसैले यसलाई बराबर पम्प दिनुपर्छ भन्दै व्याख्या गर्ने भैरव अर्याल अहिले जीवित हुन्थे भने पक्कै टाउकाको महिमाबारे थप दुई–चार निबन्ध लेख्ने थिए। 

  • प्रकाशित मिति : माघ २४, २०७७ शनिबार १४:४४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया