भारतमा नेपाली बालिकाको बलात्कारपछि हत्या, प्रहरी मिलेमतोको आरोप

भारतको बिहारमा पूर्वी चम्पारणमा जिल्लामा दोस्रो ‘हाथरस घटना’ दोहोरिएको छ । त्यहाँ १२ वर्षकी एक बालिकामाथि बलात्कार भएको छ । बलात्कारपछि उनको हत्या गरिएको छ । उनको शरिरमा आगो लगाएर हत्या गरिएको प्रारम्भिक अनुमानमा खुलेको छ । 

१२ वर्षकी ती बालिका नेपाली हुन् । 

प्रारम्भिक अनुमान तथा एक भाइरल भिडियोलाई आधार बनाएर यो घटनामा त्यहाँको प्रहरी कार्यालयका थानाध्यक्षले पनि घटनाका दोषीलाई सहयोग गरेको आरोप लगाइएको छ ।

त्यहाँका एसपी नवीनचन्द्र झाले बिबिसीको हिन्दी संस्करणलाई यसबारे भनेका छन्, ‘जुन अडियो अहिले भाइरल भएको छ, त्यसबाट स्पष्ट हुन्छ कि थानाध्यक्ष सन्जीव कुमार रन्जनले यो घटनामा लापरवाही गरेका छन्, कर्तव्यबाट उनी च्यूत भएका छन् । उनलाई अहिले निलम्बित गरिएको छ र उनीविरुद्ध पनि एफआइआर दर्ज गर्ने तयारी भएको छ ।’

बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाका सुरेश (नाम परिवर्तन गरिएको) गत वर्षदेखि भारतको मोतिहारी जिल्लाको चैनपुरमा मजदूरी गर्न थालेका थिए । 

उनले यो घटना २१ जनवरीको भएको बताएका छन् । त्यति बेला आफ्नी पत्नी नेपाल आएको र आफू काममा गएको समयमा आफ्नी छोरीमाथि बलात्कार भएको उनले बताएका छन् । उनका छोरा पनि त्यति बेला अरु कुनै काम परेर बजारमा गएको सुरेशले बताएका छन् ।



उनले प्रहरी चौकीमा दिएको उजुरीअनुसार यसमा उनका घरबेटीको पनि संलग्नता भएको उल्लेख गरिएको छ ।

उनले भनेका छन्– साँझ करिब चार बजे मेरो छोरा बजारबाट फर्किँदा घरबेटी सियाराम साहले उसलाई रोकेका थिए । तर, उनलाई नसुनी मेरो छोरा घर पुग्दा मेरी छोरी भुइँमा पूरै घाइते भएर लडेकी रहिछिन् । उसले बहिनी घाइते देखेपछि मलाई बोलायो । म घर पुग्दा मेरी छोरीको घाँटी थिचिएको अवस्थामा भेटिइको थियो । मैले स्थानीय चिकित्सककहाँ छोरीलाई लिएर गएको थिएँ, तर कसैले पनि उपचार गर्न मानेन ।



त्यसपछि आफ्नी छोरीको मृत्यु भएको सुरेशले बताएका छन् । 

छोरीको मृत्यु भएपछि केही मानिसहरु त्यहाँ आएको र उनलाई ती बालिकाको शव जलाउन दबाब दिन थालेको सुरेशले बताएका छन् ।

शव नजलाए आफ्नो र छोराको हत्या गर्ने धम्की दिइएको सुरेशले बताएका छन् । ‘शव नजलाए तिमीहरु दुवै जनालाई मारिदिन्छौँ र नेपालमा फालिदिन्छौँ,’ उनीहरुको धम्कीलाई सुरेशले बताएका छन्, ‘त्यसपछि एउटा सादा कागजमा मेरो औंठाछाप लिइयो र हामीलाई राति १२ बजे नै नेपालतिर लखेटियो ।’

यो घटनाको अब १२ दिनपछि एफआइआर दर्ज भएको छ ।

त्यसमा ११ जनालाई अभियुक्त बनाइएको छ । यसमा चार जना विनय साह, दीपककुमार साह, रमेश साह, देवेन्द्र साहमाथि बलात्कार तथा हत्याको आरोप लगाइएको छ । अन्यलाई यसमा सहयोग गरेको आरोप लगाइएको छ । 

बिबिसी हिन्दीका अनुसार यो एफआइआर दर्ता भएपछि ५ फ्रेबुअरीमा एउटा अडियो बाहिरिएको थियो । यसमा २१ जनवरीमा त्यो ठाउँका चौकीका प्रहरी प्रमुख सन्जीव कुमार रन्जन र एक अभियुक्त रमेश साहबीच कुराकानी भएको छ । ‘उसको व्यवस्थापन गर्नु र ती बालिका जाडोका कारण मरेकी हुन् भन्ने लेख्नु,’ अडियोमा रन्जनले भनेका छन् ।

यो घटनामा अहिलेसम्म प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ ।

  • प्रकाशित मिति : माघ २५, २०७७ आइतबार २२:२७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया