संयुक्त आन्दोलनमा अलमल : बाटो हेर्दै दाहाल-नेपाल तर कांग्रेसले कसैलाई नबोक्ने
ओलीविरुद्ध बन्‍न सकेन संयुक्त मोर्चा

यही माघ २२ गते गरिएको बन्दका क्रममा सडकमा निस्किएका नेकपा दाहाल-नेपालका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन पहिलो सातादेखि देश संयुक्त आन्दोलनमा जाने घोषणा गरे। प्रतिनिधिसभा विघटन भएको २ महिना पुग्न लाग्दा पनि आन्दोलन नतातेपछि प्रचण्डले संयुक्त आन्दोलनको कार्ड फ्याकेका हुन्।

त्यसअघि माघ १८ मा बूढानीलकण्ठ पुगेर अर्का अध्यक्ष माधवकुमार नेपालले कांग्रेसका सभापति शेरबहादुर देउवालाई आगामी दुई वर्ष प्रधानमन्त्री बन्ने शर्तमा संयुक्त आन्दोलनको प्रस्ताव गरे। त्यस पहिले पनि दाहाल-नेपाल बूढानीलकण्ठमा पुगेर देउवालाई एकसाथ सडकमा ल्याउन फकाउने प्रयास गरेका थिए। तर देउवाले अहिले पनि यदि संयुक्त आन्दोलनमा गएमा आफ्नो बुई चढेर दाहाल-नेपाल सत्तामा जाने निचोडसहित मौन बसिरहेका छन्। 

५ पुसमा प्रतिनिधिसभा विघटन गरेलगत्तै कांग्रेस, जसपा र नेकपाको प्रचण्ड-नेपाल पक्षको बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दल कार्यलयमा बसेको थियो। ६ पुसमा कांग्रेसले आफ्नो पार्टी कार्यालयमै बोलाएर प्रचण्ड-नेपाल र जसपासँग संयुक्त बैठक गर्यो। तर त्यो बैठकपछि देउवा अन्य दलसँग मिलेर अघि बढ्न तयार भएनन्। 

अहिले विरोध प्रदर्शन पनि कांग्रेसले छुट्टै गर्दै आएको छ। कांग्रेसले निर्वाचन क्षेत्र हुँदै वडातहसम्म पुगेर आन्दोलन चर्काइरहेको छ। कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा पुन:स्थापनाको पक्षमा छन् भने देउवा सर्वोच्चको आदेश आएपछि मात्रै थप रणनीतिमा जुट्ने योजनामा छन्। अर्कातिर कृष्ण सिटौला समूह ओलीको कदमविरुद्ध एक्लै आन्दोलनमा देखिन्छ। 

जुटेन सहमति



संसद विघटनको समयले दुई महिना छुन लाग्दा पनि ओली इतर दलहरुले मोर्चाबन्दी गर्न सकेका छैनन्। दाहाल-नेपालले देउवा र रामचन्द्र पौडेललाई मनाउन कुनै कसर बाँकी राखेका छैनन्। तर ओलीप्रति आक्रमक पौडेल पनि कांग्रेस एक्लैले सडक आन्दोलन चर्काउनुपर्ने पक्षमा मत राखेका छन्। उता देउवा सर्वोच्चको आदेश नआएसम्म ओली या दाहाल-नेपाल कुनै पनि पक्षलाई साथ दिने मुडमा देखिएका छैनन्। 

यसबीचमा नेकपाका नेताद्वय प्रचण्ड र माधव नेपाल, जसपा नेता तथा पूर्व प्रधानमन्त्री डा. भटराईले देउवासँग पटक-पटक भेटेका छन्। डा. भट्टराई र दाहालबीच उपराष्ट्रपति निवासमै चार पटकसम्म गोप्य वार्ता भइसकेको छ। कुनै बेलाका सहयात्री दाहाल-भट्टराईबीच नै संयुक्त आन्दोलनका लागि मत मिल्न सकेको छैन। दाहालले ओलीलाई सत्ताबाट हटाउने रणनीति बलियो बनाउन भट्टराईलाई जनशक्तिबाट आफ्नै पार्टीमा भित्र्याउनेसम्मको रणनीति बनाए पनि उनको यो योजना पनि सफल हुने छाँट देखिएको छैन।



दाहालले सोमबार मात्रै अहिलेसम्म एक्लै गरिरहेको आन्दोलनले विस्तारै मोर्चाबन्दीको स्वरुप लिने तर्क गरे। तर कांग्रेसको अडानका कारण उनको त्यो चाहना तत्काल पूरा हुने देखिँदैन। 'प्रतिगमन र प्रतिक्रान्तिविरुद्ध पुस ५ गतेबाटै लडाइँ सुरु गरेका हौँ। अरु साथीहरुलाई सडकमा कुरेर बसेनौँ, हामी एक्लै निस्कियौँ', उनले सोमबार भने, 'अब आन्दोलनको वातावरण विस्तारै सकारात्मक बन्दैछ। अब नेपाली जनताले जित्नेतिर जाँदै छ, प्रतिक्रान्तिकारीहरु हार्दैछन्। माघ २८ गतेको कार्यक्रमलाई सफल बनाऊँ, अहिले नै केपी ओली रक्षात्मक भइसकेका छन्। हामी लडाइँ जितेर आउँछौँ आउँछौं।'

दाहालले यस्तो तर्क गरे पनि उनको समूहले वैचारिक हिसाबले निकट जनता समाजवादी पार्टीलाई समेत संयुक्त आन्दोलनका लागि 'कन्भिन्स' गर्न सकेको देखिएको छैन। ओलीको कदमविरूद्ध सबैभन्दा आक्रमक डा. भट्टराई संयुक्त आन्दोलनका लागि तयार देखिन्छन्। तर उनी आवद्ध जनता समाजवादी पार्टीका अन्य नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुरको मुड फरक फरक देखिन्छ। महतो चुनावका लागि तयार देखिएका छन् भने अन्य नेताहरु अझै प्रष्ट खुलेका छैनन्। 

जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण संयुक्त आन्दोलनबारे कुराकानी भइरहेको बताउँछन्। उनले पनि प्रचण्डले जस्तै फागुन पहिलो साताबाट संयुक्त आन्दोलन सुरु हुने अन्दाज गरे। तर जसपा र दाहाल-नेपाल समूह अहिलेसम्म संयुक्त रुपमा सडकमा देखिएका छैनन्। कांग्रेस त कुनै हालतमा अरुलाई आफ्नो बुई नचढाउने अडानसहित बसिरहेको छ। 

कर्णले अदालतको निर्णय कुर्ने भन्दा आन्दोलनमै जानुपर्ने तर्क गरे। ‘अदालत यसको पक्षमा वा  त्यसको पक्षमा हुन्छ भनेर कल्पना नगरौं,’ उनी भन्छन्, 'प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक हो। अहिले देशका कुना कुनबाट ओलीको कदमको विरोध भइरहेको छ।'

  • कांग्रेस सभापति देउवा माथि प्रश्नै–प्रश्न
  • उनले पनि संयुक्त आन्दोलन हुने कुरा त गरे त सर्वोच्चले फागुनसम्म निर्णय लिएपछि अघि बढ्ने रणनीति सुनाए। 'संसद पुनःस्थापनाको विकल्प छैन, यो हाम्रो सुझाव मात्रै हो तर हामी अदालतको पक्षमा छौं', उनले भने, 'सर्वोच्च अदालतको फैसलाअनुसार हामी चल्छौँ। ’

के भन्छ कांग्रेस ? 

प्रतिनिधिसभा विघटनलाई कांग्रेसले ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै र मान्दै आएको छ। सुरुमा आन्दोलित हुन तयार नभएका सभापति देउवाले पनि ओलीको कदमको विरोध गरिरहेका छन्। तर उनी ओलीविरुद्ध अन्य कुनै शक्तिसँग मिलेर सडकमा जाने पक्षमा नै छैनन्। 

देउवाले अहिले झैँ कांग्रेसले साथ नदिए वा मौन मात्रै बसिरहे पनि व्यवहारिक रुपमा विभाजित भइसकेका ओली र प्रचण्ड-नेपाल अझै टाढिन सक्ने सम्भावना देखेका छन्। नागरिक तहमा कांग्रेसविरुद्ध विगतमा कम्युनिस्टहरूले विगतमा फैलाएको अफवाह आफैँ समाप्त भएर जाने पनि उनले ठानेका छन्। यसो भएमा कम्युनिष्टहरू खुइलिन सक्ने हुँदा निर्वाचनसम्म आफ्नो पक्षमा जनमत आउन सक्ने  विश्वास देउवाले बोकेका छन्। 

ओलीको कदमविरुद्ध आक्रमक देखिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला पनि संयुक्त आन्दोलनका लागि तयार  छैनन्। उनले कांग्रेस आफैंले आन्दोलन चर्काउनुपर्ने मत राखे। 'अहिलेलाई संयुक्त आन्दोलनको सम्भावना कम छ', उनले भनेका छन्, 'पार्टीका सबै नेताको मत आन्दोलन गर्नुपर्छ भन्ने नै हो। तर कांग्रेस आफैँले आन्दोलन गर्नुपर्छ भनेका छौँ।'

देउवानिकट एकजना नेता एनपी साउदले अहिले कसैसँग मिलेर आन्दोलनमा जान नसकिने अडान राखे। फरकधारसँगको कुराकानीमा उनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अदालतमा रहेकाले अन्य शक्तिसँग मिलेर सडकमा जाने कांग्रेसको कुनै योजना नरहेको सुनाए। 

'अहिले हामी कसैसँग मिलेर सडकमा जाँदैनौं। पहिलो कुरा प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा छ, अर्को कुरा अन्यलाई फाइदा हुने गरी हामी मोर्चाबन्दी गर्ने पक्षमा छैनौँ', उनले भने, 'प्रतिनिधिसभा विघटनपछि मध्यावधिमा जाने कुरा सरकारले गरेको छ। यदि यो सरकारले घोषित मितिमा निर्वाचन गर्न सकेन भने मात्रै हामी नयाँ समीकरणबारे सोच्छौँ।'

उनले कांग्रेसले जहिले पनि विधिको शासनमा विश्वास गर्ने बताए। 'हामी विधिको शासनमा विश्वास गर्छौँ। त्यसैले अहिलेलाई हामी सर्वोच्च अदालतको निर्णय पनि कुरिरहेका छौं', उनले अगाडि भने, 'उहाँहरु (दाहाल-नेपाल) ले बारम्बार संयुक्त आन्दोलनमा जाऊँ भनिरहनु भएको छ। तर हाम्रो बटमलाइन अहिलेलाई अदालतको निर्णय कुर्ने हो। अदालतले निर्वाचनमा जा भनेर यो सरकारले चुनाव गर्न नसके मात्रै मोर्चाबन्दी गरेर सडकमा जान्छौँ।'

नेता साउदले अहिलेलाई यसअघिकै शैलीमा कांग्रेस एक्लै ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध आन्दोलित भइरहने बताए। 'अहिले कांग्रेसले एक्लै आन्दोलनमा गरिरहन्छ', उनले भने, 'अदालतको निर्णय निर्वाचन या पुन:स्थापनामध्ये एक पक्षमा आएमा त्यही अनुसार रणनीति बनाउँछौं। अहिलेलाई संयुक्त आन्दोलनको सम्भावना छैन।'

फेरियो पौडेलको बोली

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि यही शनिबार गृह जिल्ला तनहुँको दमौलीमा बोल्दै आन्दोलनबाट नभई अदालतबाट आउने फैसलाको पक्षमा आफूहरु रहेको बताए। ओलीविरुद्ध सबैभन्दा आक्रमक उनले अहिले नै संयुक्त आन्दोलनबारे केही नसोचिएको बताए।

देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा जोड दिँदै उनले देशमा स्थायित्व र समृद्धि आवश्यक रहेको पनि बताए । ‘कांग्रेसले हैसियत, उत्तरदायित्व बुझेर अगाडि बढ्नुपर्छ, अहिले प्राप्त भएको अवसरलाई सदुपयोग गर्नुपर्छ,’ पौडेलले भने। 

प्रचण्डको निष्कर्ष : केपी ओली रक्षात्मक भइसके, केही महिनामै हामी सत्तामा हुन्छौँ

कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समूह ओलीविरुद्ध सबैभन्दा आक्रमक देखिएका छन्। पौडेल, सिटौलासँगै युवा नेताहरू गगन थापा र प्रदीप पौडेल पनि ओलीको कदमविरुद्ध सडकमा छन्। उनीहरुले ओलीको कदम प्रतिगामी भन्दै देशभर कार्यकर्ता  सडकमा उतारेका छन्। उपसभापति विमलेन्द्र निधि पनि ओलीको कदमविरुद्ध सडक संघर्ष चर्काउनुपर्ने पक्षमा छन् तर उनको मुड पनि कांग्रेस एक्लै अघि बढ्नुपर्ने पक्षमा देखिन्छ।

प्रचण्डको अनुमान 

करिब डेढ महिनादेखि एक्लै सडकमा उत्रिरहेका प्रचण्डले ओलीको सत्ता ढाल्न केही महिना लाग्ने बताउँदै आएका छन्। उनले प्रतिनिधिसभा विघटनलगत्तैको आन्दोलनका क्रममा ओलीलाई तीन महिनामा सत्ताबाट निकाल्ने बताएका थिए। तर प्रतिनिधिसभा विघटन भएको ५० दिन नाघिसक्दा पनि उनले सोचे जस्तो आन्दोलन उठ्न सकेको छैन। न त ओली नै टसमस भएका छन् न त प्रचण्डले ओलीविरुद्ध संयुक्त संघर्षको माहोल नै बनाउन सकेका छन्। 

माघ २८ मा काठमाडौंमा हुने प्रदर्शनलाई प्रतिष्ठाको विषय बनाएका प्रचण्डले त्यसपछि फागुन पहिलो सातासम्ममा संयुक्त आन्दोलनको माहोल बन्न सक्ने अनुमान गरेका छन्। उनको अनुमान अनुसार विस्तारै ओली रक्षात्मक बन्दै गएका छन् भने गर्मी चढ्दै जाँदा आन्दोलन पनि तात्दै जानेछ। 

'केपी ओली विस्तारै रक्षात्मक भइरहेका छन्। अबको हामी लडाइँ जितेर आउँछौँ आउँछौं', उनले सोमबार मात्रै आफूनिकट शिक्षकहरुलाई काठमाडौंमा भने, 'अबको केही महिनामा ओलीलाई फ्यालेर तपाईँहरुका समस्या सम्बोधन गर्ने अवस्थामा हामी पुग्न सक्छौं।'

जसपा पनि एक्लै
 
नेता लक्ष्मणलाल कर्णले फागुनदेखि आन्दोलन संयुक्त रुपमा अघि बढ्ने तर्क गरेका छन्। प्रतिनिधिसभा विघटनपछि पटक पटक सडकमा उत्रिएको उनकै पार्टीमा आन्दोलनबारे अनेक मत देखिएका छन्। उसले सरकारको कदमविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको छ। माघ ७ मा दोस्रो चरणको आन्दोलन सकेको जसपाले माघ २३ गतेदेखि तेस्रो चरणको आन्दोलन गरिरहेको छ।

तेस्रो चरणको आन्दोलन अन्तर्गत जसपाले नेकपा ओली समूहले माघ २३ मा दरबारमार्गमा शक्ति प्रदर्शन गरेका दिन जिल्ला जिल्लामा आमसभा र जुलुस गर्‍यो। अब त्यसपछि जसपाले यो आन्दोलनलाई पालिका र वडातहसम्म लैजाँदैछ। पालिका र वडा तहसम्मको आन्दोलनमा पनि जसपा एक्लै अघि बढिरहेको छ। 

जसपामा पनि आन्दोलनबारे  कांग्रेसमा जस्तै मतभेद छ। तर पनि उसले आफ्नो उपस्थिति जनाउन पनि सडकमा आफूलाई निकालिरहेको छ। प्रतिनिधिसभा पुन:स्थापनाले मात्रै समस्या नउल्टिने निचोड अध्यक्ष अध्यक्ष महन्थ ठाकुरसहितका नेताले राखिरहेका छन्। अर्का अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु प्रतिनिधिसभा पुनःस्थापना एक मात्रै विकल्प रहेको बताउँछन्।  यादवसँग प्रचण्डले निरन्तर संवाद गरिरहेका छन्। 

जसपा नेता डा. बाबुराम भट्टराई भने आन्दोलनको पक्षमा देखिएका छन्। उनी जिल्ला जिल्लामा पुगेर सम्बोधन गरिरहेका छन्। माघ २३ मा धनकुटा पुगेर उनले प्रतिनिधिसभा विघटनविरुद्ध शक्ति प्रदर्शन गरे। डा. भट्टराईले ओलीको कदम निरङ्कुश र तानाशाही भन्दै लोकतन्त्र रक्षाका लागि प्रतिनिधिसभा पुन:स्थापना एक मात्रै विकल्प भएको बताइरहेका छन्। तर उनैले पनि पार्टीका नेतालाई आफ्नो मतमा सहमत गराउन सकेका छैनन्। 

  • प्रकाशित मिति : माघ २६, २०७७ साेमबार १८:४४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया