भागरथी हत्या प्रकरण : ५ दिन बित्दा पनि प्रहरीले अपराधीको ‘क्लु’ भेट्टाएन

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट बेपत्ता भएको ६ दिन र मृत फेला परेको ५ दिन भइसकेको छ । यी पाँच दिनमा प्रहरीले अपराधी पत्ता लगाउन नसकेको मात्रै होइन त्यसको कुनै ‘क्लु’ भेट्टाउन सकेको छैन ।

पोस्टमार्टम रिपोर्टमा भट्टको बलात्कारपछि हत्या भएको देखिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता मुकेशकुमार सिंहले जानकारी दिएका छन् । ‘पोस्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भएको देखिएको छ’, एसएसपी सिंहले भने । उनका अनुसार मृतक किशोरीको भेजाइनल स्वाब थप परीक्षणका लागि काठमाडौँ पठाइएको छ ।

यसले बलात्कार एकल थियो कि सामूहिक थियो भन्नेबारे टुंगो लगाउने छ । यसै गरी बलात्कारमा संलग्नको डिएनएको पहिचान पनि भेजाइनल स्वाबको परीक्षणबाट हुनेछ । डिएनए परीक्षणका लागि ‘भेजाइनल स्वाब’ लगायतका नमुना संकलन गरिएका हुन् । भागरथीको ‘भेजाइनल स्वाब’ मा शंका लागेको व्यक्तिको शुक्रकिटसँग मिलेमा दोषी ठहर हुने प्रहरीले बताएको छ ।

अहिलेसम्म शंकास्पद दर्जनभन्दा बढी व्यक्तिहरूलाई सोधपुछ गरिसकिएको बैतडीका प्रहरी प्रवक्ता जनक धामीले जानकारी दिए ।

भागरथी भट्टको हत्या संलग्न भएको आशंकामा सोधपुछ कार्य चलिरहेको प्रहरीले जनाएको छ । भागरथी हत्याको घटनाको सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता धामीको भनाइ छ । ‘अनुसन्धानकै क्रममा छौँ । विद्यालयका शिक्षकदेखि परिवारका सदस्यसम्मलाई सोधपुछ भइरहेको छ । अहिले नै केही भन्न सक्ने अवस्था छैन’, उनले भने, ‘घटनास्थलबाट प्राप्त सम्पूर्ण प्रमाण सुरक्षित राखेर थप अनुसन्धानको काम भइरहेको छ ।’

अनुसन्धान र अध्ययनका लागि माथिल्लो निकाय पनि परिचालन भएको उनले जानकारी गराए । ‘दोषीलाई पत्ता लगाउन हाम्रो सबै शक्ति लागिपरेको छ, छिट्टै पत्ता लाग्नेछ ।’



सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको टोली पनि घटनास्थलमा पुगेर अध्ययन गरिरहेको छ । यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली, केन्द्रीय अनुसन्धान ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको छ ।

यसका साथै तालिम प्राप्त कुकुरसँगै भागरथीको हत्या भएको जङ्गल क्षेत्र पनि प्रहरीले ‘सर्च’ गरेको थियो । यस क्रममा किशोरीले प्रयोग गरिरहेको मोबाइल पनि घटनास्थलमै प्राप्त भएकाले मोबाइलबाट धेरै कुरा पत्ता लाग्ने प्रहरीको दाबी छ ।



बलात्कारपछि हत्या भएको र हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने भागरथीका काका शिवराज भट्टले बताए । उनले भने, ‘वास्तविक हत्यारा पत्ता नलाग्दासम्म शव बुझ्ने कुरै हुँदैन ।’ 

किशोरीका आफन्त तथा स्थानीय बासिन्दाले संघर्ष समिति नै गठन गरेर आन्दोलन गरिरहेका छन् । आइतबारदेखि तीन दिनका लागि शैक्षिक हड्ताल गरिएको संघर्ष समितिका सदस्य भुवन कार्कीले जानकारी दिए । 

संघर्ष समितिले पहिलो चरणमा ३ दिन शैक्षिक हड्ताल गर्ने, माघ २८ गते दोगडाकेदार गाउँपालिका घेराउ गर्ने र माघ २९ गते आम हड्ताल गर्ने घोषणा गरेको छ । भागरथीले न्याय पाउनुपर्ने र दोषीले दण्ड पाउनुपर्ने मागसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा दैनिक जसो प्रदर्शन भएका छन् ।

माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको लबलेक जङ्गलमा विभत्स र निर्वस्त्ररूपमा मृत अवस्थामा फेला परेकी थिइन् । भागरथी दोगडाकेदार गाउँपालिका ३ श्रीकोटस्थित सनातन धर्म माविमा अध्ययनरत रहेकी थिइन् ।

  • प्रकाशित मिति : माघ २६, २०७७ साेमबार १९:४३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया