प्रधानमन्त्रीले आयोगलाई भने : निर्वाचन प्रक्रिया नरोक्नू, स्रोतसाधन अभाव हुँदैन
थपलिया भन्छन् : तयारी तीव्र पारिसकेका छौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले  वैशाख १७ र २७ का लागि तोकिएको प्रतिनिधिसभाको मध्यावधि निर्वाचन प्रक्रिया नरोक्न आग्रह गरेका छन्। मंगलबार निर्वाचन आयोग पुगेर ओलीले पदाधिकारीहरूलाई यस्तो आग्रह गरेका हुन्। 

उनले विगतका अभ्यास पनि हेरेर निर्वाचन तयारीमा जुट्न प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितलाई आग्रह गरे। 'निर्वाचन आयोगले गरेको  तयारीबारे प्रधानमन्त्रीले अपडेट लिनु भएको छ। विगतका अभ्यासहरू हेरेर पनि निर्वाचन तयारीमा लाग्‍ने आयोगलाई आग्रह गर्नु भएको छ', प्रेस सल्लाहकार सूर्य थापाले भने, 'भोलिदेखि तयारीलाई अझै तीव्र पार्नुस्, स्रोत साधनको कुनै कमी हुँदैन।'

प्रधानमन्त्रीको आग्रहपछि जवाफमा प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै तयारी राम्रो भइरहेको जानकारी दिए। 'सबै तयारी एकदमै राम्रो भइरहेको छ। हामी गरिरहेका छौं समयमा गर्ने गरी गरिरहेका छौँ,' प्रधानमन्त्रीसँगको छलफलमा थपलियाले भने, 'सरकारले निर्वाचन गर्ने भनिसकेकाले अहिलेभन्दा अझै तीव्रगतिमा हामी तयारीमा जाँदैछौँ।'

प्रधानमन्त्रीले आयोगले गरेका तयारी सन्तोषजनक रहेको भन्दै कुनै कमी नराखी काममा लाग्न आग्रह गरे। 'आयोगलाई निर्वाचन तयारी तीव्र बनाउन प्रधानमन्त्रीले सुझाव दिनु भएको छ', थापाले भने, 'दलको विवादका सन्दर्भमा माघ ११ गते आयोगले एउटा निर्णय लिइसकेको छ। माघ २० गते पनि अर्को निवेदन परेको छ। त्यसतर्फ आयोगले काम गरिरहेको छ। तर निर्वाचनको समग्र तयारी पनि अब तीव्र गतिले बढ्ने भएको छ।'

छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्तले थपलियाले आयोग तयारीबारे बताउँदै सरकारले सुरक्षा बन्दोबस्त र बजेट लगायतमा कमी हुन दिने अवस्थाका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। 'प्रधानमन्त्रीले पुस ५ गते नै निर्वाचन तयारीमा जुट्न भनिसक्नु भएको थियो', थापाले भने, 'त्यही आधारमा निर्वाचन आयोगले तयारी गरेको छ। तोकिएको समयमा निर्वाचन गराउनेबाहेक अरु कुरामा आयोगलाई नसोच्न प्रधानमन्त्रीले भन्नु भएको छ।'



यस्तो छ निर्वाचन तालिका

सरकारले सोमबार मात्रै पहिलो र दोस्रो चरणमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २०७८ वैशाख १७ र २७ गते सातवटा प्रदेशमा दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो।



पहिलो चरणमा वैशाख १७ गते ४० जिल्लामा निर्वाचन गर्ने तयारी सरकारले गरेको हो। २७ गते देशका ३७ वटा जिल्लामा निर्वाचन हुने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए। 

वैशाख १७ गते प्रदेश नम्बर २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुनेछ। दोस्रो चरण अर्थात् वैशाख २७ गते प्रदेश १, बागमती र कर्णालीमा निर्वाचन हुने गुरुङले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय गरेका थिए।

त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाखमा २ चरणमा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेकी थिइन्। तर दुई समूहमा विभाजित नेकपामा आधिकारिकता विवाद मिलिनसकेकाले निर्वाचन अझै पनि अन्योलमा परेको छ। 

  • प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार १३:३४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया