नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सर्वोच्च अदालतबाट संसद पुनर्स्थापना हुनेमा विश्वस्त रहेको बताएका बताएका छन्।
नेपालमा कार्यरत विदेशी मिडियाका प्रतिनिधिसँग मंगलबार कुरा गर्दै प्रचण्डले संसद पुनर्स्थापना हुने बताउँदै सरकारले तोकेको वैशाख १७ र २७ मा निर्वाचन हुनै नसक्ने जिकिर गरे।
‘हामी विश्वस्त छौं, केपी ओलीले घोषणा गरेको चुनाव हुँदैन । प्रतिनिधिसभा पुनःस्थापना हुन्छ,’ उनले भने, ‘यदि केपी ओलीले घोषणा गरेको चुनाव हुने भयो भने त्यो अर्को असंवैधानिक र अलोकतान्त्रिक कदम हुनेछ ।’
प्रचण्डले ओली र आफूहरूबीचको विवादलाई कुर्सीको लडाइँका रूपमा नबुभिदिन पनि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे । केपी ओली र आफूलाई एकै रुपमा तुलना नगर्न आग्रह गर्दै प्रचण्डले माधव नेपाल र आफूबीच ४० वर्षदेखि सहकार्य रहेको जिकिर गरे।
त्यहीकारण नेपालसँग ओलीसँग जस्तै विभाजन नहुने तर्क पनि उनले गरेका छन्। उनले आफूहरुलाई संवैधानिक निकायमाथि अझै भरोसा रहेको बताउँदै उनीहरुले संविधानको भावना र मर्मअनुसार नै निर्णय गर्ने बताएका छन्। उनले सर्वोच्च अदालतबाट प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक र अलोकतान्त्रिक कदम सदर नहुने पनि जिकिर गरेका छन्।
‘हामीलाई हाम्रो संवैधानिक निकाय प्रति विश्वास छ। उनीहरुले संविधानको भावनाअनुसार नै निर्णय गर्ने भरोसा छ', उनले भने, 'संविधानको भावनाभन्दा बाहिर गएर सर्वोच्चले त्यसलाई सदर गर्छ भन्ने हामीलाई लागको छैन।’
अहिले संवैधानिक आयोगहरूमा सेटिङको चर्चा भए पनि आफूहरुलाई सेटिङमा विश्वास नभएको प्रचण्डले बताए। ‘ओलीका प्रतिनिधि गाउँगाउँ गएर निर्वाचन आयोग र सर्वोच्चले हाम्रै पक्षमा निर्णय गर्छन् भन्दै सेटिङको झल्को दिइरहेका छन्', दाहालले भने, ‘मैले जे भन्यो संवैधानिक निकायहरुले त्यही मान्छन् भन्ने ठानेको भए त्यो प्रधानमन्त्रीको भ्रम हो । निर्वाचन आयोग र सर्वोच्च स्वतन्त्र रहेकाले संवैधानिक व्यवस्था अनुसार नै फैसला गर्ने हामीलाई विश्वास छ ।’
सर्वोच्चले सरकारको कदमलाई सदर गरे देश संकटमा पर्ने जिकिर उनले गरे। असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरी घोषित निर्वाचनलाई पनि उनले असंवैधानिक भने। उनले वैशाखमा निर्वाचन हुनै नसक्ने ठोकुवा गरे। ‘वैशाखमा निर्वाचन हुनै सक्दैन, केपीजीले गर्नै सक्नुहुन्न। वैशाखमा चुनाव हुँदैन भन्ने त पुष्टि भइसकेको छ', दाहालले भने।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।