फागुन अन्तिम सातादेखि त्रिविका सबै क्याम्पसमा भौतिक उपस्थितिमै पढाइ

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ ।  

कोभिड–१९ का कारण भौतिक रुपमा उपस्थिति नभई रोकिएको पढाइ फागुन अन्तिम सातादेखि सुरु गर्ने भएको त्रिविका शिक्षाध्यक्ष (रजिस्ट्रार) प्रा.डा. पेशल दाहालले जानकारी दिए । उनले कोभिड–१९ सामान्य भइसकेकाले भौतिक रुपमा विद्यार्थी उपस्थिति गरेर कक्षा सञ्चालन गर्न थालिएको बताए। 

कोभिड–१९ पछि त्रिविले भर्चुअल विधिबाट कक्षा सञ्चालन गर्दै आइरहेको थियो । त्रिविले कोभिड–१९ को कारणले यस वर्ष तीन महिनापछि मात्र कक्षा सञ्चालन गर्न थालेको हो । उनका अनुसार केही क्याम्पसले स्थानीय तहको स्वीकृत लिएर पहिल्यैदेखि नै पठनपाठन सुरु गरिसकेका छन् । 

‘कोभिड–१९ को कारणले हामीले तीन महिनापछि मात्र कक्षा सञ्चालन गर्न थालेका हौ,’ उनले भने, ‘त्यो पनि कक्षा १२ को परीक्षाफल ढिला प्रकाशन भएकाले मात्र तीन महिना ढिला भएको हो ।’ त्रिविले पढाइ सञ्चालनका लागि अहिले प्रवेश परीक्षा लिइरहेको छ । उनले बन्दाबन्दीले रोकिएका परीक्षा धमाधम लिँदै र नतिजा प्रकाशनको काम भइरहेको जानकारी दिए । 

‘मङ्सिरदेखि अहिले पनि परीक्षा सञ्चालन भइरहेका छन्,’ उनले भने, ‘ती सबै परीक्षाको परीक्षाफल यही फागुन–चैत महिनाभित्र प्रकाशित गर्ने योजना रहेको छ ।’ कोभिड–१९ को कारणले गत चैतदेखि स्थगित भएको त्रिविको परीक्षा यही मङ्सिरदेखि सञ्चालन भएको थियो । त्रिविअन्तर्गत देशभरि एक हजार १२४ क्याम्पस रहेका छन् । 





  • प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार १६:४१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया