निर्वाचन आयोगमा प्रधानमन्त्री : सूर्यमा अरुको दाबी लाग्दैन, नेकपामा मबाहेक अरुको हस्ताक्षर चल्दैन
माधवले मकैको घोगा र हँसिया हथौडा लिएको जिकिर

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगमा पुगेर आफ्नै समूहमा नेकपामा आधिकारिक रहेको दाबी गरेका छन्। मंगलबार निर्वाचन आयोग पुगेका उनले पार्टीको नाम नेकपा र चुनाव चिन्ह सूर्य आफ्नै समूहको हुने जिकिर गरेका हुन्। 

प्रमुख आयुक्त दिनेश थपलियासहितसँगको छलफलका क्रममा ओलीले पुस ५ गते पहिले नेकपामा कुनै किसिमको विवाद नरहेको जिकिरसहित त्यसयताको विवादमा नपस्न पनि आयोगलाई आग्रह गरेका छन्। उनले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहको पुस ५ यताको सबै गतिविधि अवैधानिक भएको तर्क राख्दै आफू नै नेकपाको पहिलो अध्यक्ष भएको पनि जिकिर गरे। उनले त्यहीकारण नेकपामा आफ्नो मात्रै एकल हस्ताक्षर मान्य हुने जिकिर गरे।

'निर्वाचनको अवधिमा कुनै पनि दलको आन्तरिक विवादमा आयोगले पस्न मिल्दैन। उपनिर्वाचन र राष्ट्रियसभाको निर्वाचनमा मेरो एकल हस्ताक्षरमा उम्मेदवार सिफारिस भएका हुन्। अरुको हस्ताक्षर आयोगले चिन्दैन', उनले जिकिर गर्दै भने, 'नेकपामा मेरोबाहेक अरुको हस्ताक्षर चलेकै छैन। कुनै कुनै बेला मसँगै पुष्पकमल दाहालले पनि हस्ताक्षर गरेका छन्। तर नेकपामा मेरो हस्ताक्षरबिना आधिकारिकता मानिँदैन।'

नेकपा ओली समूहका नेता एवम् संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले फरकधारलाई बताए अनुसार आगामी वैशाख १७ र २७ गते हुन लागेको निर्वाचनका सन्दर्भमा सरकारको तर्फबाट केही कुरा राखिएको हो। 

प्रचण्डले मानेका थिएनन्

ओलीले छलफलका क्रममा आफू सदैव सूर्य चिन्हमै चुनाव लडेको बताएका थिए। 'म सदा सर्वदा सूर्य चिन्ह लिएर चुनाव लडेको मान्छे हुँ। पछिल्लो समय दुई पार्टीबीचमा एकता हुँदा म नेकपा एमालेको निर्वाचित अध्यक्ष र पुष्पकमल दाहाल प्रचण्ड ए-माओवादी केन्द्रको निर्वाचित अध्यक्ष हुनुहुन्थ्यो', ओलीको भनाइ उद्धृत गर्दै नेम्वाङले भने, 'उहाँ (दाहाल) हँसिया-हथौडा लिएर चुनाव जितेर आउनुभएको हो। मैले सूर्य चुनाव चिन्ह लिएर जितेर आएको हुँ।' 



ओलीले दुई पार्टीबीच एकतापछि अध्यक्षबाहेक सबै पदाधिकारी मनोनित गरिएको स्मरण गराए। 'हामीले दुई पार्टीबीचमा एकताको घोषणा गर्दा अरु सबै पदाधिकारी, सदस्य मनोनित गरेका हौँ। त्यसरी हामीले पार्टी एकता गरेका थियौँ। तर पार्टी एकता टुं‌गिन नपाउँदै विभिन्न घटनाक्रम देखिए', ओलीले भने, 'पछिल्लो समय २०७४ सालमा एमाले र माओवादी मिलेर निर्वाचन लड्दा चुनाव चिन्ह सूर्य राखौं भनेर मैले प्रस्ताव गरेको थिएँ, प्रचण्डले मान्नु पनि भएको थियो । तर केही दिनपछि उहाँले यो कुरा उल्टाउनुभयो, मान्नुभएन । त्यो विवादले गर्दा झण्डै १० लाख मत हाम्रो बदर भयो।'

ओलीले आफू सूर्य चिन्ह धारक रहेको बताए। 'म त सूर्य चिन्हधारक हो। त्यही नाताले चुनाव जितेर बहुमतको प्रधानमन्त्री भएर संसद विघटनको सिफारिस गरेँ। त्यसैले सूर्य चिन्ह त हाम्रै हो', उनले भने, 'हामी नै आधिकारिक हौँ। यसमा तपाईँहरू अल्मलिनुपर्छ भन्ने लाग्दैन। अब मैले यति बताएपछि त सूर्य चिन्ह र पार्टीको आधिकारिकता हाम्रै हुन्छ। तपाईंहरुले सबै कुरा ठीक ढंगले निष्कर्षमा पुर्‍याउनुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ।'



माधवको होइन सूर्य

निर्वाचन तयारी तीव्र पार्न आग्रह गर्दै पुगेका ओलीले नेकपामाथि आफ्नो दाबेदारी मात्रै पेश गरेनन्, अरुले सूर्य चिन्ह दाबी गर्नै नसक्ने तर्क पनि पेश गरे। उनले दाहाल समूहमा लागेका माधवकुमार नेपाल र बलराम उपाध्यायले हँसिया र मकैको घोगा चुनाव चिन्ह दर्ता गराएको पनि स्मरण गराए।  उनले पार्टी विभाजित नभएको तर्कसहित केही मानिसहरुले छाडेर गएको दलिल पेश गरे। उनले आफूहरुको केन्द्रीय कार्यालय धुमबाराहीमा रहेको बताउँदै माधव नेपाल र प्रचण्डको कार्यालय नै पेरिस डाँडामा रहेको जिकिर गरे। 

उनले नेकपा अहिले पनि देशकै प्रमुख पार्टी रहेको तर्क गरे। उनले आफू नेकपाको आधिकारिक अध्यक्ष रहेको बताउँदै दलविहीनका रुपमा व्याख्या नगर्न पनि आग्रह गरे। ओलीले पुस ५ गते यताका कुनै पनि पत्र आफ्नो हस्ताक्षरबिना आएमा ती सबै छलकपट र जालझेल मात्रै हुने जिकिर पनि गरेका छन्। 

नेकपा ओली समूहका नेता एवम् संविधानसभा अध्यक्ष नेम्वाङले फरकधारलाई बताए अनुसार आगामी वैशाख १७ र २७ गते हुन लागेको निर्वाचनका सन्दर्भमा सरकारको तर्फबाट केही कुरा राखिएको हो। 

छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन तयारी, शान्ति सुरक्षा र बजेटलगायत समग्र वस्तुस्थितिबारे बताएका थिए। सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने गरी पुस ५ गते नै निर्वाचन मिति घोषणा गरिसकेको छ।

  • प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार १७:१२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया