भ्रष्टाचारको अभियोगमा प्रहरी नै अख्तियारको फन्दामा !

‘भ्रष्टचार गर्दिनँ, भ्रष्टाचारीको मुख पनि हेर्दिन’ यो प्रधानमन्त्री केपी शर्मा ओलीले भन्दै आएको वाक्य हो । प्रधानमन्त्री भएको पहिलो वर्षका हरेक जसो भाषणमा उनले यो वाक्य दोहर्याइरहे । देशको प्रमुख कार्यकारी पदमा रहेका प्रधानमन्त्री ओलीले नै यस्तो भनेपछि आमनागरिकलाई विश्वास नहुने कुरै भएन । जनताले पत्याए । सबैको मनमा खुसी पनि छायो ।  

तर, यो खुसी एमनेस्टी इन्टरनेसनलले निकालेको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनले उल्टो पारिदियो । अर्थात्, मुलुकमा भ्रष्टाचारमा कमी आउनुको साटो भ्रष्टाचारको ग्राफ बढ्दो अवस्थामा रहेको उजागर गरिदियो । 

एकातिर सरकार प्रमुखले ‘भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचारीको मुख हेर्दिनँ’ भनिरहने, अर्कोतिर सरकारकै अंग भ्रष्टाचारमा लिप्त रहने अवस्था पाइएको छ । यसमा निजामती कर्मचारी मात्र होइन, प्रहरीलगायत सबै क्षेत्रका  ‘राष्ट्रसेवक’ कर्मचारी मुछिएका छन् । 

फ्रन्टलाइनमा रहेर कानुनको पालना गराउने पहिलो निकायको रुपमा चिनिएको प्रहरी संगठनसमेत भ्रष्टाचारको दलदलबाट अछुतो रहेको छैन । अन्य सरकारी कर्मचारी सरह प्रहरी पनि भ्रष्टाचारीका रुपमा पक्राउ परिरहेका छन् । जसले प्रहरीभित्र अझै अनुशासनको कमी रहेको देखाएको जानकारहरु बताउँछन् ।

केही उदाहरण हेरौँ । 

उदाहरण–१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले करिब एक महिनाअघि १० हजार रुपैयाँ घुससहित एकजना प्रहरीलाई नियन्त्रणमा लियो । तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारीलाई अख्तियारले नियन्त्रणमा लिएको थियो । हिरासतमा रहेका व्यक्ति छुटाइदिने भन्दै अतिरिक्त रकम लिन खोज्दा पोखराबाट खटिएको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो । उनीमाथि भ्रष्टाचार निवारण ऐन २०५९ दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड क बमोजिम कारबाहीको माग गर्दै आरोप पत्र दायर गरिएको छ । यही माघ २३ गते विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिमालले जानकारी दिएका छन् । उनी पुसको २८ गते पक्राउ परेकी थिइन् ।  



उदाहरण–२
अख्तियारको टोलीले घुस लिएको अभियोगमा एकजना सईलाई पक्राउ गर्यो । सप्तरीको तिलाठी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक सिकन्दरप्रसाद कानुलाई ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरिएको अख्तियार बताउँछ । प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकल फिर्ता दिने सर्तमा सई कानुले सेवाग्राहीसँग अनैतिक रुपमा पैसा असुल्न खोजेका कारण उनलाई पक्राउ गरिएको अख्तियारको प्रतिवेदनमा उल्लेख छ । 

६१ प्रहरी घुस लिँदा लिँदै पक्राउ



घुस लिएको अभियोगमा तनहुँबाट पक्राउ परेकी प्रहरी हवल्दार भण्डारी र चितवनबाट पक्राउ परेका प्रहरी नायब निरीक्षक कानु त उदाहरण मात्रै हुन् । आर्थिक वर्ष ०७६–०७७ मा मात्रै ५५ जना प्रहरी अख्तियारको फन्दामा परेका छन् । कार्यालयबाट नियमानुसार गरिदिनुपर्ने काममा पनि सेवाग्राहीसँग पैसा लिएको आरोपमा उनीहरु पक्राउ परेका हुन् । यो वर्ष सेवाग्राहीसँग घुस लिने कुल प्रतिवादी ३४१ जनामध्ये ५५ जना प्रहरी रहेको तथ्यांक छ । यसैगरी चालू आर्थिक वर्षको पुससम्ममा ६ जना प्रहरी घुस लिएको आरोपमा पक्राउ परेको तथ्यांक छ ।  

झुटो विवरण पेस गरी जागिर खाने १३ प्रहरी

प्रहरीमा घुस मात्र नभई शैक्षिक योग्यताको नक्कली विवरण, नागरिकता, सिफारिस पत्रसमेत गलत रहेको पाइएको छ । आर्थिक वर्ष ०७६/०७७ मा शैक्षिक योग्यताको झुटो प्रमाणपत्र परेको ८५ वटा उजुरी परेका थियो ।

सरकारी नोकरी तथा पदोन्नति हासिल गर्ने तथा सरकारी सेवा र सुविधा प्राप्त गर्ने उद्देश्यले झुटो विवरणसहितको कागजात पेस गरिएको भन्ने परेको उजुरीमा छानबिन गर्दा त्यसमा १३ जना प्रहरीको कागजात नक्कली पाइएको  अख्तियारले जनाएको छ । 

घुस लिएका कारण पक्राउ पर्ने प्रहरीको सूची लामै छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो दुई वर्षको तथ्यांकमा ६० जनाभन्दा बढी प्रहरी घुस लिएको अभियोगमा पक्राउ परेका छन् । प्रहरीहरु नै भ्रष्टाचारको आरोपमा पक्राउ पर्नुले सो संगठनमा अनुशासनको कमी रहेको देखाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठहर छ । 

‘प्रहरी त समाजको ऐना हो, कानुन पालना गराउने पहिलो निकाय हो,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रिमाल भन्छन्, ‘ऊ आफैँले कानुनको उल्लंघन गर्नु भनेको अनुशासन बाहिर जानु हो ।’ यसको मतलब प्रहरीलाई अझै तालिम नपुगेको बुझ्नुपर्ने उनको तर्क छ । 

  • प्रकाशित मिति : माघ २८, २०७७ बुधबार ७:२१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया