नेपाल राष्ट्र बैंकको स्वीकृतिबिनै प्रत्यक्ष विदेशी लगानी (एफडिआई) भित्र्याउन सकिने भएको छ । यसअघि एफडिआई भित्र्याउन नेपाल राष्ट्र बैंकबाट अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने व्यवस्था थियो ।
नेपाल राष्ट्र बैंकले एफडिआईलाई सहजीकरण गर्न ‘विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७७’ मा नीतिगत व्यवस्था ल्याउन लागेको हो । मस्यौदाका रूपमा जारी गरेको उक्त विनियमावलीमा १ महिनाभित्र रायसुझाव दिन केन्द्रीय बैंकले सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।
विदेशी लगानीकर्ताले राष्ट्र बैंकबाट स्वीकृति लिन नपरे पनि अन्य निकायबाट भने स्वीकृति लिनुपर्ने बताइएको छ । विनियमावलीले लगानीकर्तालाई थप सहज बनाउने विश्वास छ ।
विनियमावली अनुसार विदेशी लगानी स्वीकृत गर्ने निकायबाट विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजाने स्वीकृति उपलब्ध हुन नसकेमा यस्तो विदेशी मुद्रा सटही सुविधाका लागि सम्बद्ध निकायको सिफारिश तथा स्वीकृतिको आधारमा राष्ट्र बैंकबाट सटही स्वीकृत गरिनेछ ।
विदेशी ऋण ल्याउनुअघि राष्ट्र बैंकको स्वीकृति चाहिने व्यवस्थालाई भने निरन्तरता दिइएको छ ।
यद्यपि, यसअघि यस्तो विदेशी ऋणका लागि आवश्यक पर्ने स्वीकृति र लेखांकनसँग सम्बद्ध व्यवस्थालाई सहज तथा सरल गरेको छ ।
केन्द्रीय बैंकमा तोकिएको अवधिभित्र उक्त विनियमावलीबारे संकलित सुझावमाथि छलफल गरेर कार्यान्वयनका लागि जारी गर्ने बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।