प्रहरीकै माइकबाट रामकुमारी झाँक्री : राज्यको नियम मान्छु, गिरफ्तारी दिन्छु

मिनभवनस्थित महानगरीय अपराध महाशाखाबाट बिहीबार बिहानै आफूलाई पक्राउ गर्न सादा पोसाकमा चारजना प्रहरी आएको थाहा पाएपछि रामकुमारी झाँक्रीले शंखमुलस्थित निवासमै पत्रकारसँग कुरा गरिन्।

झाँक्रीलाई पक्राउ गर्ने थाहा पाएपछि पुगेका पत्रकारहरूबीच उनले गरेको कुराकानीले पत्रकार सम्मेलनकै रूप लियो। झाँक्रीलाई पक्राउ गर्ने थाहा पाएपछि दाहाल-नेपाल समूहनिकट अनेरास्ववियुका नेताहरु आरती लामा र सुदेश पराजुलीसहितका कयौँ कार्यकर्ता तत्कालै शंखमुल पुगेर नाराबाजी थाले।

कयौँ नेता कार्यकर्ता जम्मा भएर आक्रमक रुपमा प्रस्तुत भएपछि सादा पोसाकको प्रहरी पछि हट्यो। त्यहाँ खटिएका एकजना प्रहरी निरीक्षक दिनेश गौतमलाई त रामकुमारीका समर्थकले मुक्का नै हाने। 

पक्राउ पुर्जी नआएसम्म आफू घर बाहिर ननिस्किने अडानमा रहेकी रामकुमारीलाई पक्राउ गर्न अपराध महाशाखाका डिएसपी दुर्गाराज रेग्मीले पुर्जी जारी गरे। रेग्मीको हस्ताक्षरमा जारी पुर्जीमा राज्यविरुद्ध कसुर अन्तर्गत दफा ५८ उल्लेख गरिएको छ।

पक्राउ पुर्जी आएपछि रामकुमारी गिरफ्तारी दिन तयार भइन्। उनको पक्षमा, राष्ट्रपति तथा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरिरहेको भिडलाई उनी आफैंले सम्बोधन गर्न चाहिन्। तर चर्को नाराबाजीका कारण त्यो सम्भव भए। अनि माइकको खोजी भयो। भिड नियन्त्रणका लागि निर्देशन गर्न प्रहरीले हाते माइक लिएर गएको थियो। 

खोज्दै जाँदा रामकुमारीका लागि प्रहरीले आफ्नै माइक उपलब्ध गराउने भयो। अनि उनले प्रहरीले उपलब्ध गराएको हाते माइकबाट आफ्ना समर्थकलाई त्यहीँबाट सम्बोधन गरिन्। उनले सम्बोधनका क्रममा राज्यको नियम पालना गर्ने बताइन्। 



'म राज्यको नियमको पालना गर्छु। देशको, राज्यको नियम सबैले पालना गर्नुपर्छ', उनले भनिन्, 'पक्राउ पुर्जी आएकाले म आफैँ गिरफ्तारी दिन राजी छु। राज्यको नियम पालना गर्ने सच्चा नागरिक भएकाले गिरफ्तारी दिन्छु।'

उनले गिरफ्तारी दिएपछि पनि उनका समर्थक नाराबाजी गर्दै महाशाखाको कार्यालय रहेको घरको गेटसम्म आए। अहिले झाँक्रीका समर्थकहरु अपराध महाशाखाको गेट अगाडि सडकमै नाराबाजी गरिरहेका छन्। 



  • प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार १३:३४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया