व्यवसायसम्बन्धी सबै जानकारी एकै थलोबाट
सरकारले सञ्चालनमा ल्यायो ‘ट्रेड एण्ड इन्फरमेशन पोर्टल’

व्यवसायसम्बन्धी सम्पूर्ण सूचना एकै थलोबाट उपलब्ध गराउने उद्देश्यसहित सरकारले ‘ट्रेड एण्ड इन्फरमेशन पोर्टल’ सञ्चालनमा ल्याएको छ । लामो समयको प्रयासपछि व्यवसायका लागि आवश्यक सबै सूचना सहज एवं सरल रुपमा उपलब्ध गराउने लक्ष्यसहित यसलाई पोर्टल सञ्चालनमा ल्याएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाअन्तर्गत विश्व बैङ्कको सहयोगमा उक्त पोर्टल सञ्चालनमा ल्याइएको हो ।

नेपालको निर्यात व्यवसायसम्बन्धी सम्पूर्ण जानकारीलाई एकद्वार प्रणालीबाट सम्प्रेषण गर्न व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले उक्त पोर्टलको सम्पूर्ण कार्य अघि बढाउनेछ । मुलुकभित्रका व्यवसायी तथा व्यवसायसँग सरोकार राख्ने निजी संघ, संस्था तथा सरकारी निकायलाई सूचना उपलब्ध गराउन उक्त पोर्टल सञ्चालनमा ल्याइएको केन्द्रले जनाएको छ । सरकारले मुलुकभित्रको निर्यात व्यापार बढाउने उद्देश्यले यसलाई सञ्चालनमा ल्याएको हो । 

व्यवसायीलाई कस्तो सुविधा

नेपाल ट्रेड पोर्टलको वेबसाइट तथा एनटिआइपी मोबाइल एपबाट सहज रुपमा सेवाग्राहीले प्रयोग गर्न सक्ने केन्द्रले जनाएको छ । पोर्टलबाट व्यापार व्यवसाय सञ्चालन गर्न चाहनेले अपनाउनुपर्ने विधि र प्रक्रियाका बारेमा जानकारी उपलब्ध हुनेछ । विश्वको कुनै पनि कुनामा बस्ने सेवाग्राहीले नेपाली निर्यातयोग्य वस्तुको माग र पोर्टलमा प्रविष्ट भएका वस्तु एवम् व्यावसायिक प्रोफाइल सहज रुपमा प्राप्त गर्न सक्ने व्यवस्था रहेको केन्द्रले बताएको हो । 

यसबाट नीति निर्माता, सरकारी एवम् निजी क्षेत्र तथा वाणिज्य क्षेत्रको अध्ययन तथा अध्यापन गर्नेलाई सहयोग पुग्ने केन्द्रले विश्वास लिएको छ । विश्व व्यापार सङ्गठनको व्यापार सहजीकरण ऐनको दफा १ र २ मा सूचनाको पारदर्शिता उल्लेख भए बमोजिम यसमा समावेश गरिएको केन्द्रको भनाइ छ । 

यस पोर्टलमा निर्यात व्यापार व्यवसाय सुरु गर्न साधारण सूचनादेखि निर्यातका लागि वस्तु बजार र त्यसका लागि आवश्यक पर्ने नीति, नियम, प्रावधान, निर्यातकर्ता तथा सेवा प्रदायकको विवरण, निर्यातयोग्य वस्तुको विवरणका साथै व्यापारसँग सम्बन्धित सूचना, नेपालको वैदेशिक व्यापारका करिब एक दशकदेखिका तथ्यांकलगायत विषय समावेश गरिएको छ ।



निर्यातकर्ताले निर्यात गरेको वस्तुको विवरण, सेवा प्रदायकको विवरण आफैं पोर्टमा प्रविष्ट गर्ने व्यवस्थासमेत रहेकाले भविष्यमा व्यापार अभिवृद्धिमा सहयोग पुग्ने केन्द्रले विश्वास लिएको छ । पोर्टलबाट व्यापारसँग सम्बन्धित विषयको प्रचारप्रसार तथा बजारीकरणका लागि समेत कार्य गर्नेछ ।

पोर्टल सञ्चालनले निजी क्षेत्रलाई सहजीकरण गर्नेमा सरकारको ध्यान केन्द्रित भएको मन्त्रालयका सचिव बैकुण्ठनाथ अर्याल बताउँछन् । वाणिज्य सम्बन्धी नीति निर्माणमा भएका कमीकमजोरीबारे सरकारलाई सुझाव दिन आग्रह गर्दै अर्यालले निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्दै, व्यापारमा सहजीकरण गर्ने उद्देश्यले सरकारले उक्त पोर्टल सञ्चालनमा ल्याएको र यसबाट अधिकतम लाभ लिन आग्रह पनि गरे । यो प्रयोग गर्न निकै सजिलो छ, इन्टरनेटको पहुँचमा भएका व्यक्तिले सहजै प्रयोग गर्न सक्ने अर्यालको ठम्याइ छ । 



व्यापार सहजीकरणमा प्रविधिको प्रयोगले सघाउ पुग्ने उद्योगी तथा व्यवसायीको ठम्याइ छ । मुलुकको व्यापार घाटा न्यूनीकरण गर्न निर्यात प्रवद्र्धनका साथै आयात प्रतिस्थापनमा सबै व्यवसायीको ध्यान जानुपर्नेमा व्यवसायीको भनाइ छ । पोर्टल सञ्चालनमा आएसँगै निकासी प्रवद्र्धनमा महत्त्वपूर्ण टेवा पुग्ने व्यवसायीको दाबी छ । 

  • प्रकाशित मिति : माघ ३०, २०७७ शुक्रबार १३:५१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया