आमा ! भन्दै छोरी आउँछिन् कि भनेर बर्बराइ रहन्छिन् द्रोपती

प्रायः घरको दैलोमा बसेर बाटोतिर एकहोरो हेरिरहेकी हुन्छिन् उनी । ओठमुख सबै सुकेका छन् । उनलाई न दिनमा भोक छ न रातमा निद्रा । मनमा छ केबल सहनै नसक्ने पीडा मात्र । उनी हुन्, बैतडी जिल्ला दोगडाकेदार–७ की भागरथी भट्टकी आमा द्रोपती । 

१७ वर्षीया भागरथी यही माघ २२ गते मृत अवस्थामा फेला परेकी थिइन् । 

श्रीमान्को मृत्यु भएको २ महिना पनि नपुग्दै छोरीको हत्या भयो । द्रोपती माथि परेको यो बज्रपातको कल्पना मात्रै गर्दा पनि मुटु चिरिन्छ । 

द्रोपतीका आँखाबाट बारम्बार आँशु झरिरहेका हुन्छन् । पुछ्ने हेक्का छैन उनलाई । उनी अर्धचेत अवस्थामा छिन् ।

आमा ! भनेर बोलाउँदै कतैबाट छोरी टुप्लुक्क आइपुग्छिन् कि भन्ने लाग्छ द्रोपतीलाई ।  बेसुरमा के–के भन्दै बेलाबेलामा बर्बराउँछिन् उनी । भागरथीले स्कुल जाने बेलामा भनेकी थिइन्, ‘बसै आमा तमीलाई खाजा खुवाउन आउँला’ भागरथीको त्यही अन्तिम बोली झलझली सम्झिन्छिन् द्रोपती । आँसुले भरिएका आँखा लिएर आफू नजिक रहेकासँग यो कुरा सुनाइरहन्छिन् ।

बुवा बितेको ३५ दिन भएको थिएन । काजक्रिया गर्दा लागेको ऋण तिर्न नसकेर भागरथीका दाजु केशव नोकरी गर्न भारतको हरियाणा पुगेका थिए । बहिनीको दुःखद् खबरपछि विक्षिप्त हुँदै घर फर्किए ।



भागरथीलाई सम्झँदै रसाएका केशवका आँखाले बहिनी गुमाउँदा मनमा फुटेको दुःखको ज्वारभाटालाई प्रष्टै देखाउँछ ।

‘बुबा पनि हुनुहुन्न । म पनि इन्डिया कमाउन जाँदैछुु । आमाको र आफ्नो ख्याल राख्नू । राम्रोसँग पढ्नू ।’ बहिनीलाई यसरी सम्झाएका थिए उनले हिँड्ने बेलामा ।



बहिनीसँग गरेको अन्तिम कुराकानी सम्झिएर भक्कानिन्छन् केशव । ‘स्कुल छुट्टी भएपछि बाटोमा अलमल नगरी घर फर्किने गर्थिन् उनी’ भागरथीकी मिल्ने साथी गीता शर्माले भनिन्, ‘घरमा आमा एक्कै हुनुहुन्छ मैले घर चाँडो जानुपर्छ भनेर विद्यालयबाट सरासर घर आउने गर्थिन् ।’

साथीहरूले खाजा खाएर जाऊँ भन्दा पनि मान्दिनथिन् ।

भागरथीको हत्या गरेको देख्दा, उनको शव देख्दा, ती खुट्टा देख्दा र रगत देख्दा गीताको मन पनि भयभीत भएको छ । ‘गाउँमा कोही छोरी, चेलीबेटी सुरक्षित छैनन्’ यस्तै लागेको छ गीतालाई । ‘मेरो घर माथि एकान्तमा छ । चारैतिर जंगल छ’ उनी सुनाउँछिन्, अब त घरमा रातिराति आएर घाँटी रेटेर जान्छन् कि भन्ने डर लाग्न थालेको छ ।’ 

भागरथी हत्याको घटनाका कारण गाउँ नै त्रसित र सुनसान छ ।

‘दिदीले कहिले कहीँ मात्रै फेसबुक चलाउँथिन् । पढाइमा पनि राम्रै थिइन्’ भागरथीका जेठा बुवाका छोरा महेश उनलाई सम्झिन्छन् ।

घटनापछि राहत दिन धेरै जना पुगिरहेका छन् । आमा द्रोपतीले सबैलाई एउटै कुरा भन्छिन्, ‘राहत मलाई चाहिएन, मेरी छोरीका हत्यारालाई पत्ता लगाइदिनुहोस्, कारबाही होस् ।’

चडेपानी र आसपासका बस्तीमा किशोरीहरूलाई एक्लै विद्यालय पठाउन, मेलापात र पानी पँधेरोमा पठाउन नसकिने अवस्था सिर्जना भएको स्थानीयको भनाइ छ ।

भागरथीको शव अझै अस्पतालमै छ । आफन्तले शव बुझ्न मानेका छैनन् । घटनाको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी, एसएसपी जनकराज पाण्डेय, केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी पञ्चकुमार बाँखुसहितको टोलीले घटनास्थलमै पुगेर अनुसन्धान गरिरहेको छ । अपराधी पत्ता लाग्ने केही आशा बढेको भए पनि सर्वत्र सन्त्रास कायमै छ ।

घटनास्थलदेखि तीन किमि टाढा रहेको खोचलेकस्थित प्रहरी चौकीमा बसेर उच्च पदस्थ प्रहरी अधिकारीको टोलीले अनुसन्धान गरिरहेको छ । 

बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले शंकास्पदहरूको ‘क्लोज रिङ’ बनाएको छ । प्रहरीका अनुसार विभिन्न तथ्य र सूचनाका आधारमा शंकास्पदहरूको ‘क्लोज रिङ’ बनाइएको हो । घटनामा नजिकैका व्यक्तिको संलग्नता हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी सुवेदीले सूक्ष्म रुपमा घटनाको अनुसन्धान अघि बढिरहेको बताउँदै ढिलोचाँडो अनुसन्धान सफल हुने विश्वास व्यक्त गरे ।

‘क्लुहरू भेटिएका छन् । छिटै अपराधीसम्म पुग्छौं । विभिन्न कोणबाट अनुसन्धान जारी छ । मृतक किशोरीको ‘भेजाइनल स्वाब’ र केही सामग्री अनुसन्धानका लागि विधि विज्ञान प्रयोगशालामा पठाएका छौं’, उनले भने । घटनामा संलग्नको पहिचान गरी शिघ्र कारबाहीको दायरामा ल्याउन बैतडीसहित विभिन्न ठाउँमा दैनिकजसो प्रदर्शन भइरहेका छन् ।

  • प्रकाशित मिति : माघ ३०, २०७७ शुक्रबार १५:१६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया