प्रसव पीडा र खुसी
घरमै सुत्केरी हुने सपना पूरा भएन
गाली गर्दै माया गर्ने त आमाले मात्रै हो : सुत्केरी हुँदा सासूआमाले धेरै स्याहार्नु भयो

सामाखुसीस्थित ‘ट्रान्जिट’ रेस्टुरेन्टमा पुग्दा गायिका देवी घर्ती मगर आफ्नै सुरमा थिइन् । उनको टाउको बेसरी दुःखेको केही दिन भयो । उनका श्रीमान् राजु ढकाल बारम्बार अस्पताल जान आग्रह गर्थे । देवीलाई अस्पताल भनेपछि एलर्जी हुने । उनले आफ्नै ब्रिफिङमा क्लिनिकबाट औषधी ल्याइन् । टाउको दुःखेको औषधी नामबाट हाल्दै थिइन् । भनिन्, ‘मलाई पिनासले यस्तो भाको हो औषधी राखेपछि निको हुन्छ ।’

पिनास, टाउको दुखाइ र औषधी छाडेर हामी उनको प्रसव पीडा र खुसी शीर्षकमा कुरा गर्ने तयारीमा थियौं । उनी आफ्नो ९ वर्ष अघिको प्रसव अनुभव साट्न तयार भइन् ।

गायक राजु ढकाल र गायिका देवी घर्तीको बिहे भएको ३ वर्ष भएको थियो । त्यो समय देवीको ‘फूलमा माहुरी डुल्ने बेलामा’ बोलको गीत सुपर हिट भइरहेको थियो । करिअरको उकालो बाटोमा लागेकी देवी घर्तीले उनका परिवारले बच्चाका लागि गरेको इसारा बुझेकी थिइन् । ‘बच्चा कहिले जन्माउने भनेर प्रश्न नगरे पनि उहाँहरूको मनमा भएको कुरा कतिपय इसाराले बुझेकी थिएँ’ देवीले भनिन् ।

यत्तिको करिअर बनाइहालियो । अब बेबी प्लान गर्नुपर्छ भन्ने खालको सल्लाह घरमा हुन पाएकै थिएन । देवी गर्भवती भइछन् । उनलाई त त्यतिबेला महिनावारी रोकिँदा पनि विश्वास थिएन । त्यसैले उनी आफैंले मेडिकलबाट प्रेग्नेन्सी किट ल्याएर आफ्नो अवस्था आफैंले जाँच गरेकी थिइन् । प्रेग्नेन्सी किटले रिपोर्ट पोजेटिभ देखाउँदा देवी केही समय शून्य भएकी थिइन् । 

बाहिर निस्कन डर



भर्खर उकालो लागेको करिअरको बाटो । पेटमा बच्चा । करिअर र बच्चा दुवैको माया लाग्थ्यो देवीलाई । ३ महिनासम्म त उनलाई खासै गाह्रो भएन । ३ महिना कटेपछि बिस्तारै असहज अवस्था सिर्जना हुँदै गयो । खाने कुरा भनेपछि सम्झँदै एलर्जी हुन्थ्यो । जे खाए पनि उल्टी हुने । खाने कुराको स्वाद नै बिर्सिए जस्तो भयो देवीलाई ।

गीत संगीत चटक्कै छोड्ने अवस्था पनि थिएन । उनलाई घरबाट स्टुडियो आउजाउ गर्न निक्कै गाह्रो हुन्थ्यो त्यो समय । ४ महिनाको गर्भ भएपछि स्टेज कार्यक्रम छोडेकी देवीले रेकर्डिङ भने डेलिभरीको अघिल्लो दिनसम्मै गरिन् । यो समय उनलाई हिँडडुल गर्न डर लाग्थ्यो । पेटमा बच्चा छ । यसलाई जोगाउनु पर्छ भन्ने हुन्थ्यो । यात्रामा निक्कै सजगता अपनाउँथिन् । ‘हामी छोरी मान्छेलाई करिअर जोगाइराख्न पनि कति गाह्रो हुँदो रहेछ’ देवीले अनुभव साटिन् ।



अधुरै रहेको एउटा चाहना

नयाँ बजार बस्ने देवीलाई दुई जिउकी हुँदा एक्लो हुनु परेन । भाइ, बहिनी, श्रीमान् साथमा थिए । तर, देवी गाउँमा रहेका सासू ससुरालाई सम्झन्थिन् । गर्भवती भएको यो समय देवी केएप्सी खान खूब मन लागेको थियो । उनले श्रीमान् राजुलाई धेरै पटक भनिन् । राजुले लगेनन् । त्यो कुरा आज पनि खड्किन्छ देवीको मनमा ।

‘आफैं सक्षम भए पनि यो बेला आफ्नाको आश लाग्ने रहेछ । म आफैं पनि त्यही बाटो भएर हिँड्थे । तर, श्रीमान्ले लैजानुहोस् भन्ने लाग्थ्यो । छोरो जन्मिएर ९ वर्षको लाग्यो । आजसम्म लग्नु भएको छैन’ देवीले सुनाइन् । 

काठमाडौं मोडल अस्पतालमा नियमित जाँचका लागि जाँदा देवीलाई रमाइलो लाग्थ्यो । भन्छिन्, ‘भिडियो एक्सरेमा बाबु देखाइदिन्थे । कुचुङकुचुङ बच्चा चल्थ्यो मलाई रंग लाग्थ्यो ।’ 

अस्पताल भर्ना

२०६८ साल पुस २ गतेका लागि स्टुडियोमा भोकल गर्ने टाइम फिक्स भएको थियो । त्यो कुन गीत गाउने दिन थियो देवीलाई ठ्याक्कै थाहा छैन । तर, उनलाई पुस १ गते रातिबाटै व्यथाले च्याप्यो । उनी रातभरि बाथरुम जाने आउँने गरिरहिन् । घरका मानिस अस्पताल जान जोड गर्थे । देवी भन्थिन्, ‘म घरमै सुत्केरी हुने हो ।’ 

आमा हुन सोचेको जस्तो सजिलो पनि त थिएन । उनलाई झन् धेरै गाह्रो पार्यो व्यथाले । बिहान ८ बजे अस्पताल भर्ना गरियो । बेलैमा अस्पताल नगएका कारण शरीरमा पानीको मात्रा निक्कै कम भइसकेको रहेछ । अप्रेसन गर्नुपर्ने भयो ।

अप्रेसन थिएटरमा पस्ने बेला श्रीमान् र सासू अगाडि थिए । खै किन हो देवीको मनमा केही त्यस्तो भावना आएन । केवल, ‘नर्मल अप्रेसन हुन्छ । बच्चा जन्मन्छ म निस्किहाल्छु’ भन्ने भयो । ‘मलाई डर नै लाग्दैनथ्यो । अहिले पनि ढुक्कले हिँड्ने हो क्या’ देवीले निर्धक्क सुनाइन् । 

अप्रेसन गरेर बच्चा निकालियो । देवीलाई डाक्टरले बच्चा देखाएर भने, ‘तपाईंको छोरा भयो ।’ उनले ‘ए’ भन्दा बाहेक कुनै प्रतिकृया जनाउन सकिनन् । भनिन्, ‘झ्याप्प–झ्याप्प निद्रा आएको जस्तो हुन्थ्यो । फेरि झल्यास–झल्यास ब्यूँझेको जस्तो लाग्थ्यो । झल्यास–झल्यास हुँदा मेरो बाबु खै भन्ने हुन्थ्यो मनमा । बोलेर केही भन्न सक्दिनथेँ ।’

बच्चा जन्मिएको भोलिपल्ट सम्म पनि उनलाई बच्चा पेटभित्रै चलिरहेको जस्तो हुन्थ्यो । छोरो जन्मदा नेपाली लोक गायनमा देवीको नाम चर्चाको शिखरमा थियो । अस्पतालको क्याबिन लिएर बसेकी उनलाई भेट्न अस्पतामा ठूलै भीड लाग्थ्यो ।

बच्चा जन्मिएको ४ दिनसम्म देवीको दूध आएन । अस्पतालमा थिइन् । पहिलो पटक बच्चा जन्मिएका प्रायः आमाहरूको साझा समस्या जस्तै रहेछ त्यो । देवीलाई अस्पतालको दृश्यले पनि आत्तिन दिएन । ५ दिनपछि दूध आयो । उनले छोरालाई साढे २ वर्षको हुँदासम्म दूध खुवाइन् । 

एक सातापछि घर

अप्रेसन गरेको एक सातापछि देवी घर फर्किइन् । पेटमा बोकेर गएको छोरो काखमा थियो घर फर्किँदा । छोरो निक्कै सानो जन्मियो । उनलाई बच्चा लिएर सुत्नै डर लाग्थ्यो । तेल लगाइदिन डर लाग्थ्यो । सासूआमाले खूब मायाले स्याहारिन् । देवीले त्यतिबेला माइतीकी आमा बिर्सिएकी थिइन् । तेल लगाउनै नमान्ने देवीलाई उनकी सासू हर्कादै तेल लगाइदिन्थिन् । ‘गाली गर्दै माया गर्ने त आमाले मात्रै हो’ देवी सम्झन्छिन् ।

छोरो जन्मिएको एक महिनापछि सासू घर फर्किइन् । छोरो अलि खाइलाग्दो देखियो । त्यस्तो ठूलो कुनै समस्या नआउँदै छोरो हुर्किँदै गयो । छोरो जन्मिएको ३ महिनामा गीत रेकर्डिङका लागि निस्किएकी देवी त्यसपछि एकैपटक ५ महिनामा निस्किइन् ।

‘बच्चा ५ महिनाको भएपछि बोकेर हिँड्न सकिने हुने रहेछ । बाबु बोकेरै स्टुडियोमा गएँ । बाबु छोडेर गएको दिन मन आत्तिने । कहिले सकेर घर जाऊँ भन्ने हुने । गायनमा भन्दा बच्चामा ध्यान । त्यसैले धेरै त बाबुलाई लिएरै गीत गाउन जान्थेँ’, देवीले सुनाइन् । 

नौ महिनामा विदेश 

छोरो ९ महिनाको नहुँदासम्म देवी कुनै पनि स्टेज कार्यक्रमका लागि निस्कन सकिनन् । ९ महिना लागेपछि भने पहिलो पटक कार्यक्रमका लागि विदेश उडिन् । ९ महिनाको बच्चा दूध असाध्यै तान्ने बेला । दूध पनि निक्कै आउँथ्यो । बच्चाले दूध चुस्न नपाएपछि देवीको दूध गानियो ।

कार्यक्रममा गीत गाउन गएकी देवी पटक–पटक बाथरुममा जान्थिन्, कपडा भिजाउँदै दुध फाल्दै गर्थिन् । एकातिर छोरोले खान पाएन भन्ने पिर थियो । अर्कोतिर दूध फाल्दा कति पाप लाग्ला भन्ने पीडा । त्यो समय भने देवीलाई निक्कै गाह्रो भएको थियो । उनलाई त्यसबेला लागेको थियो, ‘अलि समय कार्यक्रममा ननिस्किएको भए पनि हुने रहेछ ।’ 

साढे २ वर्षमा मन्टेश्वरी 

छोरो साढे २ वर्षको भएपछि भने देवीले आफ्नो छोरालाई मन्टेश्वरीमा हाल्ने निधो गरिन् । घर नजिकै मन्टेश्वरी । वरिपरिका अरू बच्चा मन्टेश्वरी जाँदा देवीमा पनि रहर पलायो । उनले पनि मन्टेश्वरीमा हालिन् । सुरुका केही दिन छोरो आमा छोडेर मन्टेश्वरी जाँदा रुन्थ्यो । देवीको मन कटक्क खान्थ्यो ।

उनलाई लाग्थ्यो, ‘अलि धेरै सानैमा त मन्टेश्वरी पठाइएन ?’ २/४ दिनमै छोरो मन्टेश्वरीमा रमाउन थाल्यो । देवीको मनको प्रश्न पनि मनभित्रै हरायो । अहिले देवीलाई त्यो बेला मन्टेश्वरी हालेर निक्कै राम्रो भएछ । मन्टेश्वरीमा नभएको भए उसले त्यो समय जति पनि राम्रो कुरा सिक्यो । आफूले घरमै सिकाउन सकिन्नथ्यो भन्ने लाग्छ ।

छोरो हुर्कँदै गयो । देवीले प्रसव पीडा सबै भुल्दै गइन् । छोरो राम्रोसँग हुर्काउने चक्करमा अर्को सन्तानको चाहना मनमा आउँनै पाएन छ । छोराले कहिले काहीँ ‘किन मेरो आफ्नै भाइ बहिनी छैन’, भनेर प्रश्न गर्छ । एकैछिनमा बिर्सन्छ । देवीले छोरालाई लिएर खासै सपना बनाएकी छैनन् । भन्छिन्, ‘मेरो छोरो यो बनोस् भन्ने छैन । उसको जिन्दगीमा ऊ जे बन्न चाहन्छ त्यसैमा उसलाई साथ दिने हो ।’

  • प्रकाशित मिति : फागुन १, २०७७ शनिबार ७:१०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया