सिद्धबाबालाई उन्मुक्ति दिने अदालतको फैसला : सहमतिको यौनसम्बन्धलाई बलात्कार भन्‍न मिल्दैन
पतिले थाहा पाएपछि घटनालाई जबजरजस्ती करणी बनाइयो

बलात्कार अभियोगमा पक्राउ परेका कृष्ण बहादुर गिरी उर्फ सिद्धबाबालाई गत मंसिर २२ गते जिल्ला अदालत सुनसरीले नाटकीय सफाइ दियो। एक वर्षअघि आफ्नै अनुयायीलाई बलात्कारको मुद्दामा पक्राउ गिरीलाई उनी पक्षका वकिलले मात्रै गरेको बहसका आधारमा सुनसरी अदालतका न्यायाधीश अर्जुन कोइरालाको ‘बेन्च’ले सफाइ दिएको थियो।

नाटकीय शैलीमा छोड्न आदेश दिएको अदालतले फैसलाको पूर्ण पाठ भने करिब २ महिना लगाएर  माघ २९ मा तयार गरिएको छ। न्यायाधीश कोइरालाले सिद्धबाबा र अनुयायीबीच सहमतिमै सम्बन्ध भएकाले बलात्कार हुन नसक्ने भन्दै सफाइ दिने फैसला गरेका थिए।

७६ पृष्ठ लामो आदेशको  पूर्ण पाठमा करणी भएको समयलाई विभिन्‍न कोणबाट अदालतले  व्याख्या गरेको छ। व्याख्यामा अदालतले सिद्धबाबाले करणी गरेको भए पनि त्यसलाई जबरजस्ती भन्‍न नमिल्ने तर्क गरेको छ। पटक पटक महिलाले नै यौनसम्बन्धका लागि आव्हान गरेपछि सिद्धबाबा मोहित भएको व्याख्या अदालतले गरेको छ।

फैसलाको बुँदा नम्बरमा ६५ मा भनिएको छ ‘तसर्थ माथि विवेचना गरिएका आधार एवं कारणहरूबाट जाहेरवालीको शारीरिक परीक्षणबाट निजउपर जबरजस्ती करणी भएको नदेखिएको, जाहेरवाली शारीरिक तथा मानसिक रूपमा स्वास्थ्य भई आफूले गरेको कार्यको असर र परिणाम बुझ्न सक्ने हैसियतमा रहेकी छन् भन्‍ने कुरा निजले प्रतिवादीलाई पठाएका म्यासेजबाट देखिएको तथा माथि विवेचना गरिए अनुसार निज स्वयमले नै आफूले प्रयोग गर्ने मोबाइलबाट लामो समयदेखि विभिन्‍न समयमा विद्युतीय माध्यमको प्रयोग गरी प्रतिवादीलाई आशक्तिपूर्ण र अनुनयजन्य सन्देशहरू प्रवाह गरी भेटघाटको मौका उपलब्ध गराउन गरेको अनुनय अनुरूप जाहेरवालीलाई भेटेको समयमा जाहेरवाली प्रतिवादीसँग । भइ आफ्नो शरीर समर्पण गरी भएको करणी निजहरुबीच सहमतिमा भएको भन्ने देखियो। अतः यस्तो सहमतिबाट भएको करणीलाई जबरजस्ती मान्‍न नसकिने हुँदा प्रतिवादीउपरको अभियोग दावी स्थापित हुन आएन। तसर्थ प्रतिवादी सिद्धबाबा रामकृष्णचार्य श्री वैष्णव कृष्णदास भन्‍ने कृष्णबहादुर गिरीले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ।’

अदालतको ठहर : श्रीमानले थाहा पाएपछि जबरजस्ती करणी !

शारीरिक सम्बन्ध हुँदासम्म दुवैजना सहमतिमै रहेको व्याख्या अदालतले गरेको छ। सम्बन्धपछि पीडित भनिएकी महिलाले सिद्धबाबालाई पठाएको म्यासेज श्रीमानले हेरेपछि घटनाले जबरजस्ती करणीको मोड लिएको अदालतको आदेशमा उल्लेख छ।



सिद्धबाबा र महिलाबीचको म्यासेज पीडितका श्रीमानले देखेपछि उनीहरूबीच विवाद भएपछि मात्रै उजुरी परेकाले सहमतिमै सम्बन्ध भएको न्यायाधीश कोइरालाको ठहर छ। बयानका क्रममा सिद्धबाबाले आफू आगो र स्त्री स्पर्श नगर्ने त्रिदण्डी सिद्धबाबा भएको जिकिर गरेका थिए।

तर, पशुपति सिद्ध महायोग नामक फेसबुक आइडीबाट धेरै पटक 'लभ साइन' पठाएको अनुसन्धानका क्रममा खुलेको थियो। यी दुईजना बीचको फेसबुक म्यासेन्जर च्याटलाई समेत पूर्ण पाठमा उल्लेख गरिएको छ। फेसबुक म्यासेन्जरसँगै करणी भएको दिन सिद्धबाबाले चलाउने ९८५२०२५८८५ नम्बरबाट पठाएका म्यासेजमा प्रेमासययुक्त भएकाले सम्बन्ध भएको पुष्टि हुने फैसलामा छ।



फैसलाको बुँदा ६४ मा भनिएको छ,

‘खासगरी जाहेरवालीको पतिले प्रतिवादी र जाहेरवालीबीचको यौन सम्बन्ध थाहा पाएपछि घटनाले नयाँ मोड लिएको देखिन्छ। समाजमा स्त्री र आगोलाई स्पर्श नगर्ने त्रिदण्डी सिद्ध बाबाको नामले प्रसिद्धि कमाएका तथा हजारौँ अनुयायीमार्फत् ठूलो धार्मिक अखडा चलाएका प्रतिवादीलाई उक्त सम्बन्ध बाहिर आउँदा मात्रै गम्भीर असर पर्ने भएकाले त्यसलाई ढाकछोप गर्ने थुप्रै प्रयत्‍न भएका मिसिलमा देखिन्छन्।

त्यही क्रममा प्रतिवादीका अनुयायीहरु बुझिएका गोविन्दबाबु तिवारीसमेतबाट जाहेरवाली तथा निजको पतिलाई भेट्ने, सम्झाउने र यौन सम्बन्धका कुरा बाहिर नल्याउन भनेको भन्ने पनि मिसिलबाट खुल्न आएको छ। जाहेरवाली पक्षबाट घटनालाई अतिरञ्जित रुपमा जबरजस्ती करणीको आभास दिई योजनाबद्ध रूपमा बाहिर ल्याउन लागि परेको भन्ने तथ्य प्रतिवादीसँग भएको कुराकानीको रेकर्ड गरी सञ्चारमाध्यमबाट सम्प्रेषण गराइएबाट पनि स्पष्ट भएको छ।

पेस भएको उक्त फोन संवादको अडियोमा भएको आवाज प्रतिवादीकै हो भन्ने देखिएको अवस्थामा जाहेरवालीसँग यौन सम्पर्क नराखेको भए त्यसरी माफी मागी बोल्नुपर्ने कुनै कारण देखिँदैन। यसबाट पेस भएका म्यासेन्जर कुराकानी पनि जाहेरवाली र प्रतिवादीबीच नै भएका रहेछन् भनी सहज ढङ्गबाट अनुमान गर्न सकिने भई निजहरूबीच वारदात भनिएको राति यौन सम्पर्क भएको तथ्य स्थापित भएको पाइयो।’  

सफाइ दिँदा प्रमाणका ‘चाङ’को बेवास्ता

अपराध शास्त्रमा कुनै पनि मुद्दामा पहिलो प्रमाण पीडितले दिएको पहिलो निवेदनलाई लिइन्छ। प्रमाण ऐन २०३१ ले पनि पीडितले दिएको जाहेरीलाई पहिलो प्रमाणका रूपमा लिने जनाउँछ। पीडितले दिएको जाहेरीमा घटनाको दिन अवस्था र संक्षिप्त विवरणको आधारमा प्रहरीले अन्य अनुसन्धान गर्ने गर्दछ।

जाहेरी विवरण अनुसार पीडितले आफूलाई म्यासेज गरी आश्रममा बोलाएको बताएकी छन्। अनुसन्धानका क्रममा सिद्धबाबाले पीडितलाई साधनाका लागि आश्रममा बोलाएको म्यासेज भेटिएको छ। जसलाई प्राविधिक परीक्षणबाट पुष्टि गराइएको छ।

मिसिलमा जाहेरी अनुसार स्वास्थ्य रिपोर्टबाट बलात्कार गरेको देखिँदैन थियो। बलात्कारको लामो समयपछि जाहेरी दिएकाले स्वास्थ्य रिपोर्टबाट बलात्कार भएको प्रमाण पुर्‍याउन सक्ने अवस्थामा प्रहरी र सरकारी वकिलले सक्दैन थिए।

तर गिरीले पीडितसँग माफी मागेको अडियो सरकारी वकिलका लागि ठूलो ठोस प्रमाण थियो। जुन फोन रेकर्डमा सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले पीडित महिलासँग माफी मागेको आवाज थियो। विधि विज्ञान प्रयोगशालाले पनि अडियो गिरीकै भएको औंल्याएको कुरा पनि अदालतले स्वीकारेको छ।

सिद्धबाबाले घटनापछि आफ्ना भक्त भोला बरालको फोनबाट एक घण्टा २० मिनेटसम्म पीडितसँग कुरा गरेका थिए। सरकारी वकिल कार्यालयले पेस गरेको प्रमाणको लिस्टमा यो अडियो रेकर्ड पनि थियो।

अडियो रेकर्डमा मात्र होइन, सरकारी वकिलमा दिएको बयानमा समेत गिरीले माफी मागेको अडियो आफ्नै भएको स्वीकारेका थिए। गिरीले अन्य अनुयायीको आग्रहमा आफूले करणी नगरे पनि धर्म रक्षाका लागि माफ मागेको घुमाउरो रूपमा स्वीकार गरेका थिए।

शास्त्रको श्लोक भन्दै माफी मागेको स्वीकार

गिरीलाई दोषी करार गराउन सक्ने ठूलो प्रमाण अडियो रेकर्डमा गिरीले पीडितसँग माफी मागेका थिए। टेलिभिजन कार्यक्रममार्फत सार्वजनिक भएको अडियोमा गिरीले पीडितलाई मुद्दा फिर्ता गर्न अनुनय गर्दै पश्चात्तापमा लिङ्गसमेत काट्छु भन्‍न भ्याएका थिए।

सरकारी वकिलले त्यही अडियोलाई मूल प्रमाण बनाएको थियो। तर अदालतमा बयान दिँदा गिरीले त्यो आवाज आफ्नो नभएको जिकिर गरेका थिए। प्राविधिक परीक्षण समेत भएको उक्त आवाज गिरीको भएको विधि विज्ञान प्रयोगशालाको रिपोर्टले देखाएको थियो। रिपोर्टले ७६.९ प्रतिशत आवाज मिलेको देखाए पनि पूर्ण पाठमा अदालतले जानकारीका रूपमा मात्रै उक्त अडियोलाई लिएको देखिन्छ।

प्रयोगशाला मात्र होइन, गिरीले पनि उक्त अडियो आफ्नै भएको कुरा सरकारी वकिलसँग बयानमा स्वीकारेका छन्। तर पछि बयान फेर्दै गिरीले अदालतमा उक्त आवाज आफ्नो नभएको बताएका थिए।

सरकारी वकिलको बयानको सवाल नम्बर २१ को मा रहेको फोन संवादबारेको प्रश्नमा जवाफ दिँदै उनले माफी मागेको स्वीकारेका थिए। संस्कृतको श्लोक 'सही दुख पर क्षुद्र दुरावारबन्दनीय जेही जग जस पावा’ लाई उद्धृत गर्दै गिरीले ‘यदि मैले ती देवीलाई अनुरोध गर्दा धर्मको उपहास हुनबाट बच्न सक्छ भने मेरा सकल भक्तहरूको अनुरोधलाई हार्न नसकी बरु म विष पिउन तयार छु। हिन्दु धर्म, संस्कार, परम्परालाई बचाउन उनी जे भन्छिन् त्यो समेतलाई जगतको भलाई र कल्याणका लागि गरौँ भन्‍ने आशयले उक्त अनुरोध गरिएको हो।’

गिरीले मात्र होइन, उनकै अनुयायी भोला बरालले समेत ‘बाबा’ ले धर्म रक्षाका लागि महिलासँग माफ मागेको सरकारी वकिलसँगको बयानमा स्वीकारेका थिए। गुरुबाट त्यस्तो कार्य नहुने भए पनि कल्पनामा डुबेकी साधिकाबाट गल्ती हुन गयो भनेर बाबाजीले मेरै मोबाइलबाट फोन सम्पर्क गर्नुभएको भन्दै उनले घटना स्वीकारेका थिए।

‘ती महिलासँग कुरा गर्दा निजले मलाई स्वामीजीले माफी माग्नु पर्छ भन्न थालिन्। पुनः मैले स्वामीजीलाई फोन गरी यिनलाई अरू साधकहरूबाट कुनै अभद्र व्यवहार भएको पनि हुन सक्छ या त यिनी ठूलो षडयन्त्रमा छिन् वा हजुरलाई भेट्न नपाएको रिसईवी साँध्न खोजेकी छन्। हजुरले सानो भएर झुकेर, नरम भएर कुरा गरी दिनुपर्ला भनेपछि स्वामीजी कुरा गर्न तयार हुनु भयो,’बरालले सरकारी वकिलसँगको बयानमा भनेका छन्। 

फोन गरेको स्विकार्दै सरकारी वकिलमा दिएको बयान भने अदालतमा पुग्दा गिरीले परिवर्तन गरेका थिए। सरकारी वकिल कार्यालयमा संस्कृतको श्लोक सहित बयान दिएका गिरीले अदालतमा भने ‘इन्कारी’ बयान दिएका थिए।  

बलात्कारमा धरौटी दिने अदालत

बलात्कार मुद्दामा जिल्ला अदालत सुरुदेखि नै गिरीप्रति उदार देखियो। थुनछेक बहसका क्रममा सरकारी वकिलले पुर्पक्षका लागि पठाउने प्रशस्त प्रमाण पेस गरे पनि अदालतले गिरीलाई धरौटीमा छोड्ने निर्णय गरेको थियो।

आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोगमा गत २०७६ मङ्सिर १६ गते गिरी पक्राउ परेका थिए। पक्राउ परेपछि गिरीलाई जिल्ला अदालतले धरौटी लिएर छाडेको थियो। तर उच्च अदालत विराटनगरले सुनसरी अदालतको फैसला त्रुटीपूर्ण रहेको जनाउँदै गिरिलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

२०७६ पुस १४ थुनछेक बहसपछि गिरीलाई जिल्ला अदालतका तत्कालीन न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले ३ लाख धरौटीमा छोड्ने निर्णय गरेको थियो। तर जिल्लाको उक्त निर्णयलाई उच्च र सर्वोच्च अदालतले नै उल्ट्याइ दिएका थिए।

मुद्दा परेदेखि नै जिल्ला अदालतमा वकालत गर्ने अधिकांश वकिलहरूले गिरीलाई प्रथम दृष्टिमै दोषी करार गर्ने अनुमान गरेका थिए। किनकि सामान्य प्रमाण पुगेका अन्य बलात्कारका मुद्दामा जिल्ला अदालतले सहजै पुर्पक्षका लागि पठाउने गर्दथ्यो।

आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको १० दिनमै जिल्ला अदालत सुनसरीले भने सफाइ दिएको हो।

सहकर्मीको शारीरिक सम्बन्धबारे सर्वोच्चको नजिर 'भुलियो'

सर्वोच्च अदालतले माथिल्लो र तल्लो तहका सहकर्मीबीच सहमतिमा हुने शारीरिक सम्बन्धलाई बलात्कारकै संज्ञा दिने नजिर स्थापित गरको छ। २०७६ वैशाखमा सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले 'यौन शोषणकै एउटा प्रकृतिको रूपमा हेरिनुपर्ने' नजिर स्थापित गरेको थियो।

गुरुका रुपमा रहेका सिद्ध बाबाको यो केसमा त्यही नजिरलाई समेत अबलम्बन गर्नुपर्ने कानुन व्यवसायी बताउँछन्। नेपाली सेनामा कार्यरत एक पुरुष र महिलाबीचको शारीरिक सम्बन्धबारे परेको एउटा मुद्दामा सर्वोच्चको फैसलाको पूर्ण पाठमा पदसोपन शृङ्खलामा निकै अन्तर रहेको र दुई जनाबीच 'असन्तुलित शक्ति सम्बन्ध' भनेर व्याख्या गरेको थियो।

यही व्याख्यालाई समेत आधार बनाएर माथिल्लो अदालतमा सिद्धबाबाको मुद्दालाई पुनरावेदन गर्नुपर्ने पीडित महिलाको तर्फबाट बहस गरेका एक वकिल बताउँछन्। एउटै संगठनका व्यक्तिबीच सहमतिमै सम्बन्ध भए पनि त्यसलाई जबरजस्ती हुन सक्ने व्याख्या सर्वोच्चको थियो।

'आपसी सहमतिमा शारीरिक सम्बन्ध भएको भनिए पनि एउटै संस्थामा कार्यरत ती दुई जनाबीच तहगत रूपमा निकै फराकिलो अख्तियारी रहेको देखिन्छ,' पूर्ण पाठमा अगाडि भनिएको छ, 'यसमा पदीय शक्ति, आर्थिक र सामाजिक शक्ति कसले प्रयोग गर्न सक्छ भनी शक्ति सम्बन्धको आधारमा खराब आचरण र अनुशासनको विषय हो वा होइन भन्नेबारे अदालतले संवेदनशील भएर विवेचना गर्नुपर्छ।'

'यस्तोमा स्वतन्त्र मनको प्रयोग गरी जानेर वा बुझेर दिइएको सहमति मान्‍न सकिँदैन। यस्तो सम्बन्धलाई यौन शोषणकै एउटा प्रकृतिको रूपमा हेरिनुपर्छ,' फैसलाको पूर्ण पाठमा भनिएको छ।

फैसलाको पूर्ण पाठ

  • प्रकाशित मिति : फागुन १, २०७७ शनिबार १३:५४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया