प्रदेश २ का सबै निर्वाचन क्षेत्रमा पक्की सडक

‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रम अन्तर्गत प्रदेश २ का ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा सडक निर्माणको कार्ययोजना चलिरहेको छ । 

हरेक निर्वाचन क्षेत्रमा न्यूनतम ५ किमि पक्की सडक निर्माणको योजना अन्तर्गत ३ सय २० किमि पक्की सडक निर्माण भइरहेको भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले बताए । मन्त्री सोनलले शनिबार प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै यो जानकारी दिएका हुन् । उनले चालु आर्थिक वर्षदेखि क्रमागत रूपमा सडक निर्माण थालिएको बताए ।

जसमध्ये ५१ किमि कालोपत्रे सडक, ७५ किमि ढलान, १७० किमि ग्राभेल तथा ६० किमि नयाँ बाटो खोल्ने गरी निर्माण गरिएको बताए ।

मन्त्री सोनलले कोरोना महामारीका कारण आशा गरे अनुरुप कार्य गर्न नसके पनि उपलब्ध स्रोत साधनलाई समुचित प्रयोग गरिएको बताए । उनले प्रदेशभित्र सडक निर्माण, सिँचाइ, खानेपानी, भौतिक संरचना निर्माण लगायतको क्षेत्रमा आफ्नो मन्त्रालयले व्यापक काम गरेको दाबी गरे ।

त्यस्तै सिँचाई तर्फ चालु आर्थिक वर्षमा ५ हजार ४३० हेक्टर थप जग्गा सिँचित गरिएको प्रगति विवरणमा उल्लेख छ । मन्त्री सोनलले ८ वटै जिल्लामा मझौला सिँचाइ योजना कार्यान्वयनमा ल्याइने बताए । प्रत्येक जिल्लामा ४ सय हेक्टर जग्गा लाभान्वित हुने गरी ३/४ वटा मझौला सिँचाइ योजना सञ्चालनमा ल्याइने उनले बताए । 

मन्त्रालयको प्रगति विवरणका अनुसार गत आर्थिक वर्षमा प्रदेश भित्र २६ वटा धर्मशाला निर्माण, ८ वटै जिल्लामा गरी ९ वटा दलित छात्रावास निर्माण ८ वटा ज्येष्ठ नागरिक आवास निर्माण सम्पन्न भएको छ ।



मन्त्री सोनलले आर्थिक वर्ष ०७६/७७ मा प्रदेशभित्र ४९ वटा नयाँ हेडवर्क्सका निर्माण भइरहेको समेत जानकारी दिए । 

संघ सरकारको सहयोगमा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले सञ्चालन गर्दै आएको जनता आवास कार्यक्रम तर्फ ४ हजार ६५९ घर निर्माणको सम्झौता भएकोमा हालसम्म २ हजार १०१ घर निर्माण भई हस्तान्तरण भइसकेकोे र २ हजार ५५८ घर चालु आर्थिक वर्षमा निर्माण सम्पन्न गरिने मन्त्री सोनलले जानकारी दिए ।  



मन्त्री सोनलले १६५ वटा नहर प्रणालीको मर्मत सम्भार गरी पानी सञ्चालन गर्नुका साथै २४० वटा डिप ट्युबवेल तथा ३३ वटा पावरड्रिल ट्युबवेल जडान गरी प्रदेशभित्र करिब ३ हजार ८० हेक्टर सिँचित क्षेत्रफल वृद्धि भएको दाबी गरे । 

त्यस्तै नदी कटान र डुबानबाट करिब १ हजार ५ सय हेक्टर खेतीयोग्य जग्गा संरक्षण र २० वटा जोखिमयुक्त बस्ती संरक्षण गर्नुका साथै २० वटा नयाँ खानेपानी योजनाको सुरुवात तथा ६५ किमि खानेपानी पाइपलाइन विस्तार गरिएको मन्त्री सोनलले जानकारी दिए ।

प्रदेशभित्र १० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य रहेकोमा अहिलेसम्म ३ वटा झोलुङ्गे पुलको निर्माण सम्पन्न भइसकेको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।

  • प्रकाशित मिति : फागुन १, २०७७ शनिबार १७:३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया