वर्षमानको दाबी– सरकारलाई पार्टी र संसदबाट असहयोग भएको थिएन

नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले केपी ओली नेतृत्वको सरकारलाई तीन वर्षसम्म पार्टीबाट कुनै असहयोग नभएको दाबी गरेका छन् ।

नेकपा विभाजन भइसकेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चाहिँ आफूलाई पार्टीकै नेताहरुले काम गर्न नदिएको आरोप लगाउँदै आएका छन् । 

ओली नेतृत्वकै सरकारमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रीसमेत रहेका पुनले सरकारलाई पार्टीले सहयोग गरेको बताएका हुन् । तर, पार्टी अध्यक्ष, संसदीय दलका नेता र प्रधानमन्त्रीले नै संविधानमाथि घात गरेपछि बाध्य भएर आफूहरुले विरोध गरेको उनले बताएका छन् ।

‘तीन वर्षसम्म सबै नीति कार्यक्रम र बजेट पार्टीको समर्थनमा संसदमा उत्साहजनक रुपमा पास भए । त्यहाँ कुनै अवरोध भएन’, धनकुटा सदरमुकाममा संसद विघटनविरुद्ध आयोजित सभालाई शनिबार सम्बोधन गर्दै पुनले भने, ‘पहिलो वर्ष झण्डै १ सय १६ वटा विधेयकहरु संसदमा पेस भए । संविधानसँग सम्बन्धित अति आवश्यक विधेकय थिए, ती सबै फटाफट पास भए । म एउटा मन्त्रीका हैसियतले झण्डै तीन वर्ष काम गर्दा देखेको छु, पार्टीले पूरै सहयोग गरेको छ ।’ 

प्रधानमन्त्री ओली स्वयंले कयौंपटक सार्वजनिक अभिव्यक्तिका क्रममा संसारमै छोटो समयमा धेरै कानून बनाउने मुलुक नेपाल भएको र आफ्नो कार्यकालमा जति छिटो विकास विश्वमै नभएको दाबी गर्दै हिंडेको चर्चा गर्दै पुनले तर, अहिले संसद र पार्टीले काम गर्न दिएन भन्नुको तुक नरहेको बताएका हुन् ।

‘केपी ओलीजीले सार्वजनिक रुपमा इतिहासमै धेरै सडक कालोपत्रे भयो । मेरो सरकार विश्वमै छोटो समयमा धेरै कानून बनाउने सरकारका रुपमा उभियो भनेर सरकारको प्रगति देखाउनुहुन्थ्यो’, पुनले प्रश्न गरेका छन्, ‘तर, हामीले विश्वास गरेको त्यही प्रधानमन्त्री आज पार्टीले मलाई काम गर्न दिएन । संसदले काम गर्न दिएन र मैले विघटन गरें भनेर सार्वजनिक रुपले भन्दै हुनुहुन्छ, के यो इमानदारिता हो ?’ 





  • प्रकाशित मिति : फागुन १, २०७७ शनिबार २२:१९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया