थाहै नपाई बसेको प्रेमले दिइरहेछ सफलता
आयशा भन्छिन् : उहाँले मायाको कमी हुन दिनु भएन

नेपाली खेलकुद क्षेत्रका सफल जोडी हुन् आयशा शाक्य र दीपक विष्ट। नेपाली खेलकुदको चर्चा गरिरहँदा यी दुईको नाम लिइएन भने अपुरो हुन्छ। समकालीन नेपाली खेलकुदमा सर्वाधिक चर्चितमध्ये यो जोडी पनि एक हो ।  

तेक्वान्दोमा आफ्नो जीवन समर्पण गरेको यो जोडीले दक्षिण एसियाली खेलकुद (साग) मा ७ स्वर्ण र २ रजत र एशियन गेम्समा ३ काँस्यसहित थुप्रै पदक नेपाललाई जिताएका छन्। 

आयशा र दीपकले जति खेलमा सफलता पाए त्यति नै प्रेममा पनि । उनीहरुले करिब ६ वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । 
उनीहरुको प्रेम कथा अन्यको जस्तो छैन । प्रायः प्रेममा ‘प्रपोज’ र ‘डेटिङ’ अनिवार्य मानिन्छ तर आयशा र दीपकले न त एक अर्कालाई ‘प्रपोज गरे न त डेटिङ नै गएका छन् । 

आयशालाई त दीपकलाई पहिलो पटक भेटेको मितिसमेत याद छैन, किनकी त्यतिबेला उनी सानै थिइन् । 

पहिलो भेट हुँदा आयशा भर्खर तेक्वान्दो सिक्दै थिइन् भने दीपकले राष्ट्रका लागि स्वर्ण जितिसकेका थिए । आयशाले फरकधारसँगको कुराकानीमा आफ्नो प्रेमलाई यसरी सम्झिइन् :

याद छैन पहिलो भेट



पहिलोपटक हाम्रो भेट कहिले भयो मलाई याद नै छैन, त्यतिबेला म तेक्वान्दो सिक्दै थिएँ । उहाँ (दीपक) आठौँ सागमा स्वर्ण जितेपछि हाम्रो डोजाङमा आउनु भएको थियो, त्यहीँ पहिलो भेट भएको हो । उहाँ सिनियर खेलाडी भएकाले त्यसबेला खासै कुराकानी भएन । 

त्यसको केही वर्षपछि म राष्ट्रिय टिममा परेँ। अनि तेक्वान्दो सिक्न दशरथ रंगशाला जान थालेँ त्यसपछि हामीबीच बाक्लै भेटघाट र कुराकानी हुन थाल्यो । 
दुवैजना शंखमुलमा बस्ने भएकाले सँगै रंगशाला आउने जाने गर्ने थाल्यौँ, यही क्रममा हामी एकअर्कासँग नजिकिन पुग्यौँ । 



प्रेम बसेको पत्तै भएन

मैले उहाँसँग कहिलेदेखि प्रेम गर्न थालेँ, थाहा नै छैन । अरुको जस्तो ‘प्रपोज’ गर्ने, ‘डेटिङ’ जाने हुँदैनथ्यो । खेलकै क्रममा नजिकिन पुगेछौँ, त्यो भेटघाट कति बेला प्रेममा बदलियो पत्तै भएन। तर हामी विवाहअघि ६ वर्षसम्म प्रेम सम्वन्धमा थियौं । 

हाम्रा लागि खेल नै सबैथोक थियो त्यसैले प्रशिक्षणका बेलमा पनि हामी एकअर्कालाई भन्दा खेललाई ध्यान दिन्थ्यौँ । प्रशिक्षणका बेला फुर्सद मिले मात्रै कुरा हुन्थ्यो । 
हाम्रा लागि खेल पहिलो र प्रेम दोस्रो प्राथमिकता थियो। दैनिकजसो भेट हुनाले ‘डेटिङ’ जाने आवश्यकता परेन । खेलप्रति उहाँमा निकै लगाव थियो । प्रशिक्षणमा सिनियर खेलाडीको हैसियत भए पनि हामी जुनियरलाई माया गर्नु हुन्थ्यो । 

आफुले नजानेको कुरा सिकाउनु हुन्थ्यो। सबैसँग राम्रो व्यवहार गर्नुहुन्थ्यो । प्रायः सधैँजसो प्रशिक्षणमा आउनु हुन्थ्यो । यही कुराले म उहाँप्रति आकर्षित भएकी थिएँ।

सफल श्रीमान्

आयशाको नजरमा दीपक एक सफल खेलाडी मात्रै नभएर सफल श्रीमान् पनि हुन् । उनी खेल क्षेत्रमा आफ्नो सफलताको श्रेय दीपकलाई नै दिन्छिन् ।
उहाँ कुरा बुझ्ने हुनुहुन्छ। मभन्दा सिनियर भएकाले मैले कस्तो निर्णय लिने भन्नेबारे उहाँसँग सल्लाह गर्न सहज भएको छ ।  

प्रशिक्षक भएकाले मेरा कमी कमजोरी सुधार्न सल्लाह सुझाव दिनुहुन्छ । उहाँ निकै सहयोगी भएकाले म यो सफलतासम्म आइपुगेकी छु । 

उहाँमा श्रीमानमा हुनुपर्ने सम्पुर्ण गुणहरू छन्। सागको बेल पनि स–साना छोरालाई छोड्नुपर्दा मलाई निकै गाह्रो भएको थियो। तर उहाँले यो समय परिवारबारे सोच्ने होइन, देशका लागि सोच्ने बेला हो भनेर सम्झाउनु भयो । 

‘तिमी यसरी कमजोर भयौँ भने हाम्रो त्यागको कुनै अर्थ हुँदैन’, उहाँ यसरी हौसला दिनुहुन्थ्यो, ‘जसरी पनि स्वर्ण जित्नुपर्छ भन्नुहुन्थ्यो।’

उहाँको हौसलाले नै मैले सागमा राम्रो प्रदर्शन गर्न सकेको हो जस्तो लाग्छ । त्यसैले उहाँ खेलाडीका रुपामा मात्र नभएर कुशल श्रीमानका रुपमा पनि सफल हुनुहुन्छ । 

  • प्रकाशित मिति : फागुन २, २०७७ आइतबार १३:२२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया