आगामी आवमा आर्थिक वृद्धिदर दोहोर अङ्कमा : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष ०७८/७९ मा १० प्रतिशतको आर्थिक वृद्धि पुग्ने बताएका छन् । प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने भनिरहेका प्रधानमन्त्री ओलीले आगामी आवमा मुलुकको आर्थिक वृद्धि दोहोरो अङ्कले बढ्ने दाबी गरेका हुन् ।

सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भवन पुनर्निर्माणपछि शुभारम्भ गर्दै सरकार गठन भएको ३ वर्षको अवधिमा सरकारले गरेका महत्त्वपूर्ण कार्यक्रमको जानकारी दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

आफूले सरकारको नेतृत्व लिएका बेलामा अर्थतन्त्र भद्रगोल अवस्थामा रहे पनि त्यसलाई एक वर्षभित्रै पुनः ट्रयाकमा ल्याएको उनले बताए । सरकार गठन भएको पहिलो वर्षदेखि नै अर्थतन्त्रले सही बाटो लिन थाले पनि गत वर्ष देखापरेको कोभिड महामारीले विश्व अर्थतन्त्र गम्भीर संकटमा परेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

कोभिड महामारीका कारण विश्वका कतिपय देशको आर्थिक वृद्धिदर नकारात्मक रहे पनि सरकारको सुझबुझपूर्ण कार्यका कारण नेपाली अर्थतन्त्रमा धेरै नकारात्मक असर नपरेको प्रधानमन्त्रीको दाबी छ ।

नेपालमा पनि कोभिड महामारीको कारण अर्थतन्त्रमा नकारात्मक असर परे पनि चालु आर्थिक वर्षको ६ महिना बितेदेखि नै अर्थतन्त्रले लय समाउन थालेको उनको भनाइ छ । अर्थतन्त्रले गति लिन थालेको, आर्थिक क्रियाकलाप बढेको जस्ता कारणले चालु वर्षको आर्थिक वृद्धिदर औसत ५.५ प्रतिशतको हुने र अर्को वर्ष राष्ट्रिय योजना आयोगको १५ औं योजनाले लक्ष्य लिए अनुसार १० प्रतिशतको हुने प्रधानमन्त्री ओलीको दाबी छ ।

यस्तै उनले बेलायती पत्रिका दि इकोनोमिस्टले नेपाली अर्थतन्त्र उच्च आर्थिक वृद्धिदर समातेका मुलुकमा परेको उल्लेख गरेको बताउँदै आफूले उल्लेख्य काम गरेको बताएका छन् । ‘अर्थतन्त्रको सबै क्षेत्रको वृद्धि ५ प्रतिशतभन्दा बढी भयो, सातै प्रदेशको आर्थिक वृद्धि ६ प्रतिशतभन्दा बढी भयो । केही मुलुकको अर्थतन्त्र नकारात्मक भयो, तर हाम्रो आर्थिक वृद्धिदर घटे पनि सरकारको सुझबुझका कारण मन्दीको चपेटामा परेन’, उनले भने ।





  • प्रकाशित मिति : फागुन ३, २०७७ साेमबार १३:१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया