फिर्ता गरियो नेतादेखि पूर्व राजासम्मका सुरक्षाकर्मी
विशिष्ठ व्यक्तिको सुरक्षामा व्यापक कटौती

सरकारी नीति विपरीत भिभिआइपीहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सरकारले धमाधम फिर्ता बोलाएको छ। राजनीतिक पहुँच र प्रभावको भरमा पूर्व मन्त्रीदेखि पूर्व राजासम्मले राखेका अगुवा पछुवा सुरक्षाकर्मीलाई सरकारले फिर्ता बोलाएको हो। 

गृह मन्त्रालयको निर्देशनमा ठूलो संख्यामा सुरक्षाकर्मीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाऊ अभियान नै चलाइरहेका छन्। 

यही मंसिरमा सुरक्षासम्बन्धी नयाँ कार्यविधि पास भएपछि गृहको निर्देशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पूर्व भीआइपी तथा भिभिआइपीको सुरक्षामा तैनाथ सुरक्षाकर्मी फिर्ता बोलाउन थालेका हुन्।

पूर्व राजाबाट फिर्ता

गृहको निर्देशनपछि थालिएको अभियानका क्रममा पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई पनि फिर्ता बोलाइएको छ। यही साता पूर्व राजा शाहको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका मात्रै ५९ सुरक्षाकर्मी फिर्ता बोलाइएको सशस्त्र प्रहरी मुख्यालय हलचोकले जनाएको छ। 

सशस्त्र प्रहरी बलका डिआइजी राजु अर्यालका अनुसार अब पूर्व राजाको सुरक्षामा सशस्त्र प्रहरीबाट १६ जना मात्रै तैनाथ छन्। नयाँ कार्यविधि अनुसार उनीहरुलाई फिर्ता बोलाइएको सशस्त्र प्रहरी बलका प्रवक्तासमेत रहेका अर्यालले जानकारी दिए। 



नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको तथ्यांक हेर्ने हो भने झण्डै ३ सय सुरक्षाकर्मी फिर्ता भएका छन्। दुई सातामा सशस्त्र प्रहरी बलका २०० र नेपाल प्रहरीका ८० गरी २८० जना भिभिआइपीको गार्डका रुपमा  खटिएका सुरक्षाकर्मी तानिएको छ। 

पूर्व राजा शाह तथा उनको महाराजगञ्जस्थित घर सुरक्षामा पनि सशस्त्र प्रहरी बल तैनाथ थियो। भीआइपी र भिभिआइपीको सुरक्षाका नाममा चाहिनेभन्दा बढी सुरक्षाकर्मी खटाइएको निष्कर्ष सरकारले निकालेको हो। 



त्यही निष्कर्ष अनुसार धेरैलाई तानेर आवश्यकताअनुरुप सीमित संख्यामा तैनाथ गर्ने रणनीति सशस्त्र प्रहरी बलले बनाएको छ।

वामदेवका पनि खोसिए

पूर्व राजा मात्रै नभइ पूर्व मन्त्रीबाट पनि सुरक्षाकर्मी फिर्ता गरिएको छ। पूर्व प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीको सुरक्षामा खटिएकालाई समेत फिर्ता बोलाइएको गृह मन्त्रालयले जनाएको छ। गृहको निर्देशनपछि पूर्व प्रहरी प्रमुख तथा अन्य विशिष्ठ पदाधिकारीको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाइएको हो।

स्रोतका अनुसार यही साता पूर्वमन्त्रीहरू वामदेव गौतम, प्रकाशमान सिंह र गोपालमान श्रेष्ठसहित नेताहरुको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई फिर्ता बोलाइएको छ। 
सुरक्षाकर्मी फिर्ता  गराइएका पूर्व भीआइपी तथा भिभिआइपीमा गौतम, सिंह र श्रेष्ठ मात्रै छैनन्, अन्यबाट पनि खोसिँदैछ। सशस्त्र प्रहरीको आँकडा अनुसार बितेको एक सातामा पूर्व भिभिआइपीहरुको सुरक्षामा खटिएका २ सय जना सशस्त्र प्रहरी फिर्ता गरिसकिएको छ। 

जिल्लाबाट तानिने

सशस्त्र प्रहरी बलका अनुसार अहिले फिर्ता बोलाइएका सशस्त्र प्रहरी राजधानीका मात्रै हुन्। नयाँ नीतिअनुरुप अब जिल्लामा पनि यही नीति अपनाइनेछ। 

नयाँ कार्यविधिभन्दा बाहिर रहेका सबै सशस्त्र प्रहरीले फिर्ता बोलाउने तयारी भइसकेको सशस्त्र प्रहरीले जनाएको छ। ‘यो अभियानअन्तर्गत अब देशभर पूर्व भिभिआइपीको सुरक्षामा खटाइएका सशस्त्र प्रहरी फिर्ता बोलाइनेछ’, सशस्त्र प्रहरीका प्रवक्ता अर्याल भन्छन्, ‘कहाँ कति खटाइएको छ, त्यसको लेखाजोखा लिने कार्य सुरु भइसकेको छ।’

यसका साथै यही सातामा पूर्व विशिष्ठ व्यक्तिको सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बलका ११ वटा अगुवा÷पछुवा गाडी पनि फिर्ता बोलाइएको सशस्त्र प्रहरीले जनाएको छ।

दुई सातमा २८० जना फिर्ता

बितेको दुई सातामा पूर्व भिभिआइपीहरुको सुरक्षामा नेपाल प्रहरीले पनि आफ्ना टोली फिर्ता बोलाएको छ। प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार यो दुई सातमा ८० जना प्रहरी फिर्ता भएका छन्।

पूर्व राजा मात्रै नभइ पूर्व मन्त्रीबाट पनि सुरक्षाकर्मी फिर्ता गरिएको छ। पूर्व प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीको सुरक्षामा खटिएकालाई समेत फिर्ता बोलाइएको गृह मन्त्रालयले जनाएको छ। गृहको निर्देशनपछि पूर्व प्रहरी प्रमुख तथा अन्य विशिष्ठ पदाधिकारीको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाइएको हो।

नयाँ कार्यविधि लागू भएपछि गृहको निर्णय कार्यान्वयन गर्न सुरक्षाकर्मी फिर्ता बोलाइएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवर बताउँछन्। अझै व्यक्तिको सुरक्षामा तैनाथ ३ सय जना प्रहरीलाई फिर्ता बोलाउने तयारी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको तथ्यांक हेर्ने हो भने झण्डै ३ सय सुरक्षाकर्मी फिर्ता भएका छन्। दुई सातामा सशस्त्र प्रहरी बलका २०० र नेपाल प्रहरीका ८० गरी २८० जना भिभिआइपीको गार्डका रुपमा  खटिएका सुरक्षाकर्मी तानिएको छ। 

सुरक्षा कार्यविधि २०७७ 

विशिष्ठ पदाधिकारी सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७७ पास भएपछि पूर्व भिभिआइपीको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाइएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए। यही मंसिरमा यो निर्णय पास भएपछि सुरक्षाकर्मी फिर्ता बोलाउन थालिएको उनले बताए।

‘सुरक्षा विज्ञहरुको सुझावमा यो नीति लिइएको हो’, उनले भने, ‘नयाँ कार्यविधिमा विशिष्ठ व्यक्तिलाई कुन तहको सुरक्षा प्रदान गर्ने हो? त्यसको तह निर्धारण गरिएको छ, कसलाई सुरक्षा दिने, त्यो कुराको उल्लेख गरिएको छ।’ 

त्यही नीतिअनुसार सुरक्षा जोखिम कम रहेका पूर्व भिभिआइपीहरुको सुरक्षाकर्मी तानिएको उनले बताएका छन्। सुरक्षाकर्मी फिर्ता अभियानमा अन्य कारण नरहेको उनले प्रष्टिकरण दिए। 

  • प्रकाशित मिति : फागुन ३, २०७७ साेमबार १३:६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया