कर्णाली सरकारका ३ वर्ष : ८ किमि सडक कालोपत्रे, ५ पक्की पुल निर्माण
फरकधार / ३ फागुन, २०७७

कर्णाली प्रदेश सरकारले आफ्नो ३ वर्षको अवधिमा ८ किलोमिटर सडक कालोपत्रे गरेको बताएको छ । पूर्वाधार निर्माणतर्फ राजधानी वीरेन्द्रनगरस्थित विभिन्न स्थानमा ८ किलोमिटर सडकमा कालोपत्रे गरेको बताएको हो । 

सोमबार प्रदेश सरकारको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको समारोहमा सरकारले हालसम्म गरेका प्रमुख काम सार्वजनिक गर्दै ३ वर्षको अवधिमा ५ वटा पक्की पुल निर्माण भएको बताइएको छ । उर्थु पक्की पुल, दानसाँघु पक्की पुल, जिमाली खोला पुललगायत ५ पक्की पुल निर्माण भएका हुन् । प्रदेशका विभिन्न जिल्लामा गरेर ७ सय ८७ दशमलव ८७ किलोमिटर सडक नयाँ ट्रयाक निर्माण, १ सय ६७ किलोमिटर सडक ग्राभेल र १२ वटा झोलुंगेपुल निर्माण गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

जनता आवास कार्यक्रमअन्तर्गत १ हजार ३ सय ३५ अवास निर्माण गरिएको छ भने ४२ हजार ४ सय ५४ थप जनसंख्यामा आधारभूत खानेपानी सेवा उपलब्ध गराएको बताइएको छ । यस्तै, ४ हजार २ सय हेक्टर जमिनमा वर्षैभरि सिंचाइ सुविधा पुर्याएको उल्लेख गरिएको छ । कृषि उत्पादन र बजारीकरणमा सरलता ल्याउन ४ सय ४८ दशमवल १५ किलोमिटर नयाँ कृषि सडक र ५१ दशमलव ३७ किलोमिटर कृषि सडकको मर्मत सुधार गरिएको बताइएको छ । 

स्वास्थ्यमा पहुँचको सुनिश्चिता र स्तर कायम गर्न कर्णाली प्रदेश अस्पताललाई ३ सय शय्यामा स्तरोन्नति र जिल्ला अस्पताललाई ५० शय्या हुनेगरी पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गरिएको बताइएको छ ।
 
प्रतिवेदन कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनी, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाहीलगायतले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । ०७४ फागुन ३ गते प्रदेश सरकारको पहिलो मुख्यमन्त्रीको रुपमा महेन्द्रबहादुर शाहीले पद सम्हालेका थिए भने फागुन ६ र ७ गते मन्त्रिपरिषद्को बिस्तार गरिएको थियो ।

सोमबार आयोजना गरिएको समारोहमा मुख्यमन्त्री शाहीले शून्य अवस्थाबाट सुरु भएको प्रदेश सरकारले बिस्तारै विकास निर्माणतर्फ फड्को मारिरहेको बताएका छन् । अब कर्णालीमा सरकारी क्षेत्र मात्रै नभएर निजी क्षेत्रले पनि लगानी बढाउनुपर्ने भन्दै शाहीले त्यसको लागि तत्कालै लगानी सम्मेलनको आयोजना गर्ने तयारी गरिरहेको बताए । 

  • प्रकाशित मिति : फागुन ३, २०७७ साेमबार १७:३:३८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया