नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवरजस्ती गरिने निर्वाचनमा आफू सहभागी नहुने बताएका छन् । मंगलबार चितवनको भरतपुरमा प्रेस संगठन नेपालले गरेको पत्रकार भेटघाटका क्रममा बोल्दै अध्यक्ष दाहालले यदि प्रतिनिधिसभा पुन:स्थापना नभए देश चुनावतर्फ गएमा आफ्नो समूह सहभागी नहुने बताएका हुन्।
दाहालले प्रतिनिधिसभा पुनःस्थापना नभएको अवस्थामा गरिने चुनाव असंवैधानिक,अवैधानिक र अलोकतान्त्रिक हुने जिकिर पनि गरे।‘सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना नगरेको खण्डमा हुने चुनाव असंवैधानिक, अवैधानिक र अलोकतान्त्रिक मानिनेछ', दाहालले भने, 'केही मानिसले नेपालमा पनि बंगलादेशकै मोडलमा चुनाव गराउन खोजिएको भनिरहेका छन्। यो अवस्थामा हुने चुनावले देशमा शान्ति होइन, अराजकता ल्याउँछ, यसले द्धन्द्धको सिर्जना हुन्छ।'
प्रचण्डले असंवैधानिक रुपमा गरिने निर्वाचन पनि असंवैधानिक हुने भन्दै यसले देशलाई निकास दिनुको सट्टा झनै भड्खालोमा हाल्ने बताए। ‘बलजफ्ती निर्वाचन गर्न खोजे देश फेरि अराजकताको भूमरीमा फस्छ, त्यसकाविरुद्ध जनता आन्दोलनमा उत्रिन्छन्’,उनले भने।
निर्वाचनले देशमा थप अतिवाद फैलाउने भन्दै हुने बताए । उनले देशमा द्धन्द्धको अवस्था सिर्जना भए पनि आफूले भने शान्तिपूर्ण राजनीतिमै रहने बताए । ‘देशमा अतिवाद फैलिएर बर्बाद हुने अवस्था हुन्छ, तर म चाँही त्यसमा सामेल हुदिन, शान्तिपूर्ण आन्दोलनमै रहन्छु ।’
दाहालले ओलीले गराउने चुनावमा असंवैधानिक हुने भन्दै आफ्नो समूह त्यसमा सहभागी नहुने पनि बताए। 'प्रतिनिधिसभा पुन:स्थापना नभइ देश चुनावतिरगएमा मैले नेतृत्व गरेको पार्टीले के गर्ला भन्ने कुरा मेरो भनाइबाटै यहाँहरूले बुझिसक्नुभएको हुनुपर्छ', उनले भने, 'जवरजस्ती देशलाई चुनावतर्फ लगिएमा दक्षिणपन्थी र वामपन्थी अतिवाद हाबी हुनेछ। जसले देशलाई अराजकतातर्फ लाने निश्चित छ।'
उनले जवरजस्ती गरिने चुनावमा आफूले भाग नलिने संकेत गरे। तर उनले चुनावमा भाग नलिए पनि द्वन्द्वको बाटो नरोज्ने बताए। 'जबरजस्ती बंगलादेशको शैलीमा गरिने चुनावमा भाग लिने कुरो हुँदैन, 'चुनावमा भाग नलिएपछि म शान्तिपूर्ण राजनीति छाडेर भाग्दिनँ, सरकारले जवरजस्ती गरेमा मुलुक अर्को अराजकतातर्फ अघि बढ्छ।'
प्रचण्डले निर्वाचन आयोगले ‘सूर्य’ चुनाव चिन्ह फ्रिज गर्न नपाउने बताएका छन् । निर्वाचन आयोग कसैको गोटी बन्न नहुने भन्दै उनले ४ सय ४१ केन्द्रीय सदस्यको बहुमतलाई आयोगले मान्यता दिनैपर्ने जिकिर गरे।
दाहालले संसद पुन:स्थापना हुने बताउँदै त्यसपछि बन्ने सरकारमा आफ्नो दाबी नरहने पनि उल्लेख गरे।‘मलाई प्रधानमन्त्रीको लोभ छैन, संसद पु:स्थापना हुन्छ,’प्रचण्डले भने ।
कांग्रेससँग मिलेर आन्दोलन
अध्यक्ष प्रचण्डले संसद विघटनविरुद्ध केही दिनमै नेपाली कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्ने बताए। त्यसका लागि अन्य राजनीतिक दलसँग पनि छलफल भइरहेको उनले बताए । दाहालले संसद विघटन कदमप्रति ओली निकट ९० प्रतिशत सांसद पनि असन्तुष्ट रहेको भन्दै अदालतले संविधानको मर्म र जनभावना अनुसार नै संसद पुन:स्थापना गर्ने दावी समेत गरे।
'केपी ओलीसँग भएका पनि ९० प्रतिशत सांसद प्रतिनिधिसभा विघटनको विपक्षमा छन्। तर उनीहरु त्यही गुटमा भएकाले बोल्न नसकेका हुन्', उनले भने, 'तर उनीहरुले केपी ओलीले देशलाई बर्बाद गरे भनिरहेका छन्। यो त घात भएको छ भन्ने सबैलाई लागेको छ। यो राम्रो कुरा हो सिंगै राष्ट्र एक छ। मलाई लाग्छ संविधानको मर्म भावना र जनभावना अनुसार संसद पुन:स्थापना हुन्छ।'
कांग्रेससँग मिलेर आन्दोलनका लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेलसँग निरन्तर कुरा भइरहेको पनि उनले बताए। ‘आन्दोलन भइराखेको छ। यसलाई सकेसम्म संयुक्त गरौं भन्ने प्रयास भइराखेकै छ। हिजो मैले शेरबहादुर देउवासँग कुरा गरेँ। यसलाई संयुक्त बनाऔं भनेर', उनले भने, 'रामचन्द्र पौडेल र अरू नेतासँग पनि कुरा गरिराखेकै छु। जसपाका नेताहरूसँग पनि कुरा भइराखेकै छ। केही समयमा संयुक्त आन्दोलन हुन्छ भन्ने लागेको छ।’
अयोध्यापुरीबारे ओलीलाई जवाफ
दाहालले माडीको अयोध्यापुरीमा राम जन्मिएको पुष्टि भएमा आफू सबैभन्दा खुसी हुने बताए। 'पुरातात्विक अन्वेशणबाट मेरो निर्वाचन क्षेत्र माडीको अयोध्यापुरीमा राम जन्मेको भन्ने लाग्छ भने म सबैभन्दा खुसी हुन्छु', उनले भने, 'अयोध्यापुरीमै राम जन्मेको पुष्टि भएमा सबैभन्दा खुसी म हुन्छु। पुरातात्विक अन्वेषण नगर्ने तर हो हल्ला मात्रै भयो केपी ओलीको। राम मन्दिर प्रचण्ड सिद्याउने पोलिटिक्स हो। तर उहाँ गड्डामा पर्नुहुन्छ।'
भिडियो
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।