चितवनमा प्रचण्डले भने : भ्रम नहोस्, मलाई प्रधानमन्त्री हुने लोभ छैन
ओलीले राम मन्दिरको कुरा आफूलाई सिद्याउन ल्याएको आरोप

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको  माडीस्थित अयोध्यापुरीमा राम मन्दिर बनाउने कुरा आफूलाई सिद्याउने उद्देश्यले ल्याएको आरोप लगाएका छन्। 

चितवनको भरतपुरमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै उनले भने, 'आफ्नो निर्वाचन क्षेत्रमा राम जन्मेको पुष्टि भएर, राम मन्दिर बन्छ भने नेताहरुमध्ये सबैभन्दा खुसी म हुन्छु। तर ओलीको नियत के हो?'

प्रचण्डले पुरातात्विक कोणबाट पुष्टि नगरी ओलीले राम मन्दिरको नाममा राजनीति गर्न खोजेको आरोप लगाए। 'ओलीजीले यसलाई पुरातात्विक अन्वेषणबाट स्थापित र प्रमाणित गर्न के गर्नुभयो, त्यसको लागि एउटा माखो नमार्ने, सिन्को नभाँच्ने, अनि होहल्ला मात्र गर्ने?,’ उनले भने।

प्रचण्डले ओलीलाई हल्ला नगरेर प्रमाणित गरेर देखाउन प्रधानमन्त्रीलाई चुनौती दिँदै उनले त्यसमा सबैभन्दा बढी सहयोग आफूले गर्ने बताए। राम मन्दिर बनाउने कुरा राजनीति गर्न र प्रचण्ड सिद्याउन यो नारा ल्याइएको भन्दै उनले त्यसो भएमा ओली आफैँ गड्डा (खाल्डो) मा पर्ने दाबी गरे।

भरतपुरमा निर्माणाधीन सिटी हल र ६ लेनको सडक आफूले ल्याउन पहल गरेको बताउँदै तर ओलीले रोक्न बल गर्ने गरेको दाबी गरे।  दाहालले संसद पुन:स्थापना भएपछिको प्रधानमन्त्री तपाईं नै हो भन्ने प्रश्नमा अध्यक्ष दाहालले त्यो कुरा नकारे।

'मैले आमसभामै सार्वजनिक रुपमै भनिसकेको छु मलाई प्रधानमन्त्री हुने लोभ नै छैन', उनले भने, 'यो भ्रम कसैलाई नपरोस्। आन्दोलनको नेतृत्व प्रधानमन्त्री बन्न गरेको हो भने त्यो गलत कुरा हो।' यो आन्दोलन लोकतन्त्र र संविधान बचाउनका लागि रहेको बताउँदै उनले अहिलेको उपलब्धि धेरै ठूलो संघर्षबाट आएको बताए।





  • प्रकाशित मिति : फागुन ४, २०७७ मंगलबार १३:३८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया