नेकपा विवाद : प्रधानमन्त्रीसँग उपराष्ट्रपति र सभामुखको बोलचाल नै बन्द
वसन्तपुरमा एकअर्कालाई छलेर कटाए समय

परम्परा अनुसार मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी वसन्त श्रवण गर्न वसन्तपुर पुगेकी थिइन्। राष्ट्र प्रमुखले वसन्त श्रवण गर्ने परम्पराअनुसार राष्ट्रपति वसन्तपुर पुगेकी हुन्। 

राष्ट्रपतिले वसन्त श्रवण गर्ने उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा**, उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित सहभागी थिए। 

यसअघि माघ २१ मा संवैधानिक निकाय प्रमुख र सदस्यहरुको राष्ट्रपति भवनमा भएको सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेका उपराष्ट्रपति पुन र सभामुख सापकोटा राष्ट्रपतिले वसन्त श्रवण गर्ने कार्यक्रममा भने सहभागी भए। जहाँ प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित थिए। 

भिडियो

माघ शुक्ल पञ्चमीका अवसरमा हरेक वर्ष वसन्तपुरमा वसन्त श्रवण कार्यक्रम हुने गरेको छ। नेपाली समाजमा सरस्वती पूजा, वसन्त पञ्चमी, श्रीपञ्चमी जस्ता नामले सम्बोधन हुने यो पर्वमा वसन्त श्रवणका लागि राष्ट्रप्रमुख तथा सरकार प्रमुखको समेत उपस्थिति हुने परम्परा छ। 



वसन्तपुरको दृश्य 

राष्ट्रपतिले वसन्त श्रवण गर्ने कार्यक्रममा सहभागी हुन मंगलबार बिहान सुरुमा विघटित प्रतिनिधिसभाका सभामुख सापकोटा पुगेका थिए। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली वसन्तपुरको डबलीमा आइपुगे। अनि उपराष्ट्रपति नन्दबहादुर पुन पनि आइपुगे। त्यसपछि अन्तिममा मात्रै राष्ट्रपति भण्डारी वसन्त श्रवणका लागि पुगेकी थिइन्। 



वसन्त श्रवणका लागि सभामुख, प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपतिको आसन आयोजकले लहरै राखेका थिए। संयोग कस्तो देखियो भने सभामुख र उपराष्ट्रपतिको बीचमा प्रधानमन्त्री ओलीको कुर्सी थियो। 

पुस ५ को प्रतिनिधिसभा विघटनसँगै नेकपा विभाजित भएपछि ओली समूहले एउटा समूहको नेतृत्व गरिरहेका छन् भने सभामुख र उपराष्ट्रपति प्रचण्ड नेतृत्वको समूहमा झुकाव राखिरहेका छन्। संवैधानिक जिम्मेवारी सम्हालेपछि स्वतन्त्र हुनुपर्ने मान्यताविपरित उनीहरु प्रचण्ड समूहसँगको छलफलबाट नै ओली विरोधी कित्तामा छन्। पुनले त प्रचण्ड र डा. बाबुराम भट्टराईलाई मिलाउन आफ्नै सरकारी निवासमा चार पटकसम्म बैठक राखिसकेका छन्। 

बोलचाल नै बन्द

वसन्तपुर डबलीमा बनाइएको आसनमा सुरुमा सभामुख सापकोटा बसेका थिए। त्यसपछि प्रधानमन्त्री ओली पुगे। जहाँ सभामुखले प्रधानमन्त्रीलाई उठेर नमस्कार गरे। तर नमस्कार औपचारिकताको मात्रै! सभामुखको नमस्कारलाई ओलीले सकेसम्म छल्न वा नदेखेको झैँ गर्न खोजे। नमस्कार त फर्काए तर उनले सभामुखलाई नदेखेको झैँ गरेर अन्तै ध्यान केन्द्रित गरे।

त्यसपछि उपराष्ट्रपति पुन पुग्दा पनि त्यही दृश्य देखियो। नमस्कार आदान प्रदान भयो तर सकेसम्म प्रधानमन्त्री र उपराष्ट्रपतिबीच एकअर्कालाई इन्कार गर्ने कोसिस चल्यो। राष्ट्रपति आउनुअघिसम्म तीनै जनाबीच त्यहाँ बोलचालको कुनै वातावरण देखिएन। राष्ट्रपति आएपछि पनि उनीहरुबीच संवाद हुनै सकेन। 

त्यहाँ बसुञ्जेल प्रधानमन्त्रीले सभामुख र उपराष्ट्रपतिलाई छल्न कोल्टिएर भूकम्पले क्षति भइ पुनःनिर्माण भइरहेको वसन्तपुर दरबारतर्फ नजर लगाइरहे। तर तीनैजनाको मुहारमा न त कुनै मुस्कान थियो न त चमक नै। 

त्यसबीचमा उपराष्ट्रपतिले पुनले बरु आफ्नो पछाडिको सिटमा बसेका गृहमन्त्री बादल र उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग इशारा गरेर सांकेतिक कुरा गरे। राष्ट्रपति आइपुगेपछि सबैले उठेर नमस्कार गरे। तर राष्ट्रपतिको आगमनले पनि त्यहाँको वातावरण सौहार्दपूर्ण बनाएन। करिब आधा घण्टा बस्दा तीनैजनाबीच बोलचाल नै भएन।

सच्याइएको** : सभामुख अग्नि सापकोटा हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ। -सम्पादक

  • प्रकाशित मिति : फागुन ४, २०७७ मंगलबार १४:५४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया