उद्योग क्षेत्रमा कोरोना प्रभाव : अधिकांश उद्योग आंशिक सञ्चालनमा

पछिल्लो समय कोरोनाको रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण मुलुकका अधिकांश लघु तथा घरेलु उद्योग प्रभावित बनेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको एक अध्ययनले बन्दाबन्दीको अवधिमा सबैभन्दा बढी लघु तथा घरेलु उद्योग प्रभावित भएको देखाएको हो । 

सरकारले गरेको बन्दाबन्दी र त्यसपछिको समयमा समेत उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन नभएको पाइएको भन्दै मन्त्रालयले त्यसमध्ये पूर्ण बन्द भएका उद्योगहरूमा लघु तथा घरेलु उद्योगको संख्या ७५ प्रतिशत रहेको उल्लेख गरेको छ ।

मन्त्रालयले गत  कात्तिक १७ देखि मंसिर १६ सम्म तथ्यांक संकलन गरेको थियो ।  अध्ययनका क्रममा गरगहना, रङरोगन, पेयपदार्थ, सिमेन्ट, तामा–पित्तलका भाँडा, जलविद्युत् उत्पादन, हस्तकला, तयारी पोसाक, परामर्शलगायत वस्तु उत्पादन तथा सेवा दिने ३७ उद्योग–व्यवसाय सहभागी थिए । 

जसमा लघु उद्यम तथा घरेलु उद्योग १७ वटा, साना उद्योग ८ वटा, मझौला उद्योग ४ वटा र ठूला उद्योग ८ वटा रहेका छन् । त्यस्तै कोरोना महामारीका कारण उद्योग–व्यवसायको सञ्चालन क्षमता घटेको तथा उत्पादनमा समेत गिरावट आएको पनि तथ्यांकमा उल्लेख छ । 

मन्त्रालयको अध्ययन प्रतिवेदनअनुसार १०.८१ प्रतिशत उद्योग पूर्ण रूपमा बन्द भएका र ८९.१९ प्रतिशत उद्योग आंशिक रूपमा सञ्चालनमा आएका थिए । यीमध्ये पूर्ण बन्द भएका उद्योगमा लघु तथा घरेलु उद्योगको अंश अधिक देखिएको छ ।

सरकारले नेपालमा कोराना भाइरस नियन्त्रणका लागि भन्दै २०७६ चैत ११ देखि बन्दाबन्दी घोषणा गरेको थियो । बन्दाबन्दी साउनमा खुला गरिएको भए पनि त्यसको केही सातामै सरकारले पुनः निषेधाज्ञा जारी गरेको थियो । यस अवधिमा उद्योगहरू पूर्णरूपमा सञ्चालन हुन नपाउँदा र कतिपय त बन्द नै हुँदा उद्योगहरूको समग्र उत्पादन क्षमतामै उल्लेख्य ह्रास आएको छ ।



११ प्रतिशत उद्योग सधैँका लागि बन्द

कोरोनाका कारण बन्द भएका ११ प्रतिशत उद्योग पुनः सञ्चालनमा आउन नसक्ने अवस्थामा पुगेका छन् । कोरोनाको महामारी र त्यसको नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण बन्द भएका ती उद्योग सदाका लागि पलायन हुन पुगेका उद्योग मन्त्रालयले गरेको अध्ययन प्रतिवेदनले देखाएको हो ।



मन्त्रालयले गरेको ‘कोभिड–१९ ले उद्योग क्षेत्रमा पारेको प्रभाव’ विषयक अध्ययन प्रतिवेदनले कोभिडका कारण १० दशमलव ८१ प्रतिशत उद्योग पूर्ण रूपमा बन्द भएको देखाएको हो । बाँकी ८९.१९ प्रतिशत उद्योग–व्यवसाय आंशिक रूपमा सञ्चालन भइरहेका छन् । सरकारले कोभिड–१९ महामारीको नियन्त्रणका लागि गरेको बन्दाबन्दी र त्यसपश्चातको समयमा समेत कुनै पनि उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको प्रतिवेदनले देखाएको छ ।

१६ प्रतिशत उद्योग मात्र नाफामूलक अवस्थामा

कोभिड–१९ र यसको नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनमा उत्पादन तथा बिक्री–वितरणमा प्रत्यक्ष असर पारेपछि उद्योग–व्यवसायको आम्दानीसमेत नराम्ररी प्रभावित भएको देखिएको छ । सो अवधिमा मात्रै १६ प्रतिशत उद्योगले नाफा कमाएको प्रतिवेदनमा उल्लेख छ ।

नाफामा रहेका उद्योगमध्ये ६६.६७ प्रतिशत ठूला उद्योग रहेका छन् भने बाँकी साना तथा घरेलु उद्योग रहेको मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 
त्यस्तै, सबैभन्दा बढी रोजगारी गुमाउने संख्या लघु उद्योगमा रहेका छन् । त्यसपछि क्रमशः साना, मझौला र ठूला उद्योगमा रोजगारी गुमेको प्रतिवेदनले देखाएको छ । रोजगारी गुमेको अवस्थालाई लैंगिक दृष्टिकोणबाट हेर्दा महिलाको तुलनामा पुरुषले उल्लेखनीय संख्यामा रोजगारी गुमाएको अध्ययन प्रतिवेदनले जनाएको छ ।

यस्तो माग छ, व्यवसायीको 

अध्ययनमा सहभागी उद्योग–व्यवसायीहरूले उद्योग–व्यवसाय सञ्चालनको अवस्थालाई पुरानै लयमा फर्काउन विभिन्न सुझाव दिएका छन् । सरकारले ब्याजदरमा छुट दिनुपर्ने, सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने, करमा छुट दिनुपर्ने, विद्युतको डिमान्ड शुल्क उत्पादनका आधारमा गरिनुपर्ने, कर्जा तिर्ने अवधि थप गरिनुपर्ने, मूल्य अभिवृद्धि कर फिर्ता दिनुपर्ने, पुनर्कर्जा उपलब्ध गराउनुपर्ने तथा घरभाडा छुट दिनुपर्ने माग राखेका छन् । 

त्यसैगरी, विद्युत् महसुल कम गर्नुपर्ने, कम्तीमा २ वर्षसम्म श्रमिकको न्यूनतम ज्याला वृद्धि गर्न नहुने, अन्त:शुल्क र भ्याटको दरमा पुनः मूल्यांकन गर्नुपर्ने र नेपाल सरकारले घोषणा गरेका सबै सहुलियत तुरुन्त प्रदान गर्नुपर्ने व्यवसायीको सुझाव छ । 

उत्पादनमा ५० प्रतिशत गिरावट 

सर्वेक्षणमा सहभागी उद्योगहरूमध्ये ५४ प्रतिशत उद्योगको ५० प्रतिशतसम्म उत्पादनमा गिरावट आएको छ । त्यस्तै, २३.५२ प्रतिशत लघु तथा घरेलु उद्योगको उत्पादन क्षमता ७५ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख गरिएको छ । लघु तथा घरेलु उद्योगमध्ये ८२.३५ प्रतिशत उद्योगहरूले कोभिड–१९ को महामारीका कारण आफ्नो उत्पादनमा असर परेको बताएका छन् ।

त्यसैगरी ७६.४७ प्रतिशत लघु तथा घरेलु उद्योगले कच्चा पदार्थ प्राप्तिमा कठिनाइ भोग्नुका साथै श्रमिक परिचालनमा समेत असर परेको बताएका छन् । ८८.२४ प्रतिशत लघु तथा घरेलु उद्योगले आफ्नो उत्पादनको बजारीकरण गर्न नसकेको पनि खुलाएका छन् ।

साना उद्योगमध्ये ८७.५ प्रतिशत उद्योगले उत्पादनमै प्रत्यक्ष असर परेको बताएका छन् । त्यस्तै ७५ प्रतिशत साना उद्योगहरूले उद्योगका लागि आवश्यक कच्चा पदार्थ प्राप्त गर्न कठिन भएको प्रतिक्रिया दिएका प्रतिवेदनमा बताइएको छ ।

८७.५ प्रतिशत उद्योगले श्रमिकको परिचालन र उत्पादनको बजारीकरणमा असर परेको बताएका छन् । अध्ययनमा सहभागी मझौला उद्योगमध्ये ५० प्रतिशतले कच्चा पदार्थ प्राप्तिमा समस्या परेको, ७५ प्रतिशतले श्रमिक परिचालनमा समस्या परेको पनि उल्लेख गरेका छन् ।

कोभिड–१९ ले सबै मझौला उद्योगको उत्पादन र बजारीकरणमा असर परेको अध्ययनले देखाएको छ । ठूला उद्योगको हकमा भने कच्चा पदार्थको प्राप्ति, वस्तु तथा सेवाको उत्पादन, श्रमिक परिचालन र बजारीकरण सबै क्षेत्रमा असर परेको अध्ययन प्रतिवेदनले देखाएको छ ।

  • प्रकाशित मिति : फागुन ४, २०७७ मंगलबार १६:४५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया