प्रदेश २का प्रतिपक्षी दल भन्छन्- गफगाफमै बित्यो सरकारको ३ वर्ष
नामाकरण नगरी 'दुई नम्बरी प्रदेश'मै सीमित राखेकाे आराेप

प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको ३ वर्षे कार्यकाल पूर्ण रूपमा सफल भएको दाबी गरिरहँदा प्रतिपक्षी दलहरुले भने प्रदेश सरकारले ३ वर्षे कार्यकालमा कार्यकर्ता पाल्नुबाहेक केही गर्न नसकेको आरोप लगाएका छन् ।

प्रदेश सरकारको ३ वर्षे कार्यकाल पूरा भएको अवसरमा सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आयोजना गरेको प्रदेश २ सरकारको ३ वर्षको उपलब्धि सार्वजनिकीकरण कार्यक्रममा बोल्दै राउतले यस्तो दाबी गरेका थिए । 

प्रतिपक्ष दलका नेताहरु भने सरकारको ३ वर्षे कार्यकाल गफगाफ र भ्रष्टाचारमै बितेको आरोप लगाउँछन् । उनीहरुले प्रदेश सरकारले टुक्रे योजनालाई समेत  उपलब्धिकै रुपमा भनेपछि उनीहरुले यस्तो आरोप लगाएका हुन् । सरकार पूर्ण रुपमा असफल रहेको उनीहरुको आरोप छ ।  

नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव सरकारले सार्वजनिक गरेको ३ वर्षको उपलब्धि गफको पुलिन्दा र भ्रष्टाचारको पराकाष्ठाबाहेक केही नरहेको बताउँछन् । 

विकासको सिद्धान्तबाट सरकार विचलित भएको बताउँदै उनले पिछडिएको क्षेत्रमा लगानी हुनुपर्नेमा त्यो नगरेर कमिसनका लागि आफ्ना दलका नेता कार्यकर्तामार्फत उपभोक्ता समिति बनाएर काम गराउनु भनेको बजेटको दुरुपयोगबाहेक केही नरहेको उनले आरोप लगाए । 
 
‘प्रदेश सरकार मठ मन्दिर, पोखरीको सौन्दर्यीकरण, पिसिसी ढलान, ग्राभेललगायत वडा कार्यालयले गर्ने खुद्रा काम गरेर युद्ध जितेजस्तै उपलब्धिको रुपमा गिन्ती गरिरहेका छन्,’ यादवले भने, ‘आमजनताले प्रत्यक्ष रुपमा लाभान्वित हुन सक्ने वा तिनीहरुको जीवन उकास्न आयआर्जन तथा शिक्षा स्वास्थ्यमा प्रदेश २ सरकारले एउटा पनि उपलब्धिमुलक काम गर्न सकेको छैन ।’

कोरोना रोकथाम तथा नियन्त्रणको नाममा मास्कदेखि पिसिआर मेसिनलगायत सामग्री खरिद र क्वारेन्टाइन तथा आइसोलेसनका नाममा करोडौँ रकम खर्चिएको सरकारले बताउँदै आए पनि सत्तारुढ दलका नेता–कार्यकर्ताबाहेक आमनागरिकले कुनै लाभ लिन नसकेको नेता यादवको दाबी छ । 



‘कोरोना नियन्त्रणका लागि सामग्री खरिदमा करोडौँको भ्रष्टाचार भयो,’ उनले भने, ‘मिडिया र प्रतिपक्ष चिच्याइरहे पनि भ्रष्टाचारीलाई कारबाही त परै जाओस् सरकारले छानबिनसमेत गर्न सकेन ।’ 

उनले प्रदेश सरकारको बेटी पढाऊ, बेटी बचाऊ अभियान सुरु भए पनि त्यो अभियान साइकल वितरणमै सीमित रहेको जिकिर गरे । ‘प्रदेशमा बलात्कारलगायतका महिला हिंसा झन् बढेको छ,’ उनले भने, ‘शान्ति सुरक्षाका लागि प्रदेश प्रहरी गठन भए पनि आपराधिक क्रियाकलाप निरन्तर बढिरहेको छ ।’ 
 
त्यस्तै, नेकपा दाहाल–नेपाल समूहका संसदीय दलका नेता शत्रुधन महतोले प्रदेश सरकार प्रधानमन्त्री केपी ओलीभन्दा पनि ठूलो गफाडी रहेको बताउँछन् । मुख्यमन्त्री लालबाबु राउतले जनतालाई ठूला–ठूला सपना देखाए पनि उनको काम भने शून्यमै सीमित रहेको उनको आरोप छ ।
 
प्रदेश सरकारले ३ वर्षमा कुनै उपलब्धि हासिल गर्न सकेको उल्लेख गर्दै महतोले भने, ‘जनताको बलिदानीको बलमा निर्माण भएको सरकारले अहिलेसम्म प्रदेशको कुनै नामाकरण समेत नगरी दुई नम्बरी प्रदेशमै सीमित राखेका छन् । ३ वर्ष बितिसक्दा समेत प्रदेश सरकारले न त नाम दिन सकेको छ न राजधानी नै टुंगो लगाउन सकेको छ ।’



‘विकासका कामसमेत सरकारले कति गरेका छन् त्यो पनि सबैसामु छर्लङ्ग छ,’ उनले भने,‘सहिद परिवारलाई एक परिवार एक रोजगार, साना मझौला उद्योग स्थापना, कृषिमा हरित क्रान्तिलगायत ठुल्ठूला सपना देखाए पनि उपलब्धि हेर्दा त गफाडीबाहेक केही छैन ।’

यता, नेकपा ओली समूहका नेता एवं प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले समेत प्रदेश सरकार कमिसनका लागि खुद्रा योजनामा मात्र सीमित हुन गएको बताउँछन् । 

प्रदेशको नाममा विवाद रहे पनि राजधानीमा सबै दल एकमत रहेको, तर सत्तारुढ दलकै अवरोधले जनकपुरधाम अहिलेसम्म स्थायी राजधानी बन्न नसकेको उनी बताउँछन् । आफ्नै पार्टीका नेता सांसदलाई समेट्न नसक्नु प्रदेश सरकारको ठूलो असफलता रहेको उनले बताए । 

उनले भने, ‘सरकारको ठूलो सफलताको रुपमा भनिएको बेटी पढाऊ, बेटी बचाऊ अभियानमा साइकल वितरण र दुई–चार रुपैयाँ बाँडेर सस्तो लोकप्रियता कमाउनुबाहेक केही गरिएको छैन् ।’ 

त्यस्तै, चुरे क्षेत्रमा ५ करोड लगानी गरे पनि त्यसको परिणामबाट जनता अहिले पनि अनभिज्ञ रहेको उनले बताए । 
 

  • प्रकाशित मिति : फागुन ४, २०७७ मंगलबार १९:११:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया