डिआइजी सुवेदी भन्छन् : निर्मलाकाण्ड पनि टुंगो लगाउँछौं
अनुसन्धानमा कुनै कमजोरी नगरेको दाबी

बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याका अभियुक्त समातिएपछि प्रहरीमा उत्साह देखिएको छ। चर्को दबाबबीच नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डिआइजी उत्तम राज सुवेदी आफैँ लगातार खटिएर भागरथी हत्यामा संलग्न भनिएका दिनेश भट्ट पक्राउ परेका छन्। 

भट्टलाई प्रहरीले उनकै घरबाट समातेको छ। र, उनले प्रहरीसमक्ष  भागरथीको हत्या पनि स्वीकारेका छन्। यस्तोमा कञ्चनपुरकी निर्मला पन्त प्रकरणमा असफल प्रहरीमा भागरथी प्रकरणको सफलताले उत्साह थपेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा डिआइजी सुवेदीले घटनास्थल नजिकै रहेको चौकीमा बसेर लगातार त्रुटिरहित अनुसन्धान गर्न सकेकाले अभियुक्त समातिएको बताए। 

'निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान अझै टुंगोमा लाग्न नसकिरहेको अवस्थामा त्यसलाई पाठकारुपमा लिएर हामीले भागरथी प्रकरणको अनुसन्धान गर्‍यौँ', उनले भने, 'यो केस पनि निर्मलाको जस्तै हुन्छ भन्ने अनेक आशंका थिए। जुन आशंका व्यक्त गरिएको थियो, त्यसले हामीलाई यो अनुसन्धान तार्किक निष्कर्षमा पुर्‍याउने दबाब थियो।'

घटनास्थलमा सबुत संकलनदेखि अभियुक्तको पहिचानका क्रममा सुरुबाटै गडबडी हुन नदिएको उनले बताए। 'जुन ठाउँमा घटनास्थल थियो, त्यहाँ हामीले कुनै त्रुटी हुन नदिइ अनुसन्धान गर्‍यौँ। सबुत प्रमाण पनि त्यही अनुसार संकलन गर्यौँ', उनले भने, 'कुकुरको प्रयोगमा केही समस्या भयो। घटनास्थलमा ठूलो पानी परेकाले कुकुरको प्रयोगले प्रभावकारी नतिजा दिन नसकेको र गलत दिशातर्फ संकेत गरेको सत्य हो। पानी परेर कुकुरलाई समस्या भए पनि हामीले सुरुबाटै गरेको गहन अनुसन्धानले अभियुक्त हात लागेका छन्।'

सुवेदीले भागरथी प्रकरण टुंगो लाग्ने चरणमा पुगेपछि अब कञ्चनपुरकी निर्मला पन्तका हत्यारा समात्नुपर्ने गम्भीर जिम्मेवारी पनि बाँकी रहेको बताए। 'हामीलाई थाहा छ, जनताको र मिडियाको दबाब केका लागि हो भन्ने', उनले भने, 'भागरथी प्रकरणले हामीलाई धेरै कुरा सिकाएको छ। अब हामी निर्मलाकाण्ड पनि टुंगो लगाउँछौँ।' 

अभियुक्त दिनेशविरुद्ध उनी उम्कनै नसक्ने प्रमाण रहेको उनले बताए। 'दिनेश त्यही लोकेशनमा रहेको कुरा उनको मोबाइलबाट खुलिसकेको छ। हामीसँगको साविती बयानमा पनि स्वीकारेका छन्', उनले भने, 'हामी अझै अनुसन्धानको चरणमै छौँ। दोषीलाई हदैसम्म कारवाहीका लागि प्रक्रिया अघि बढाएका छौँ। निर्मलासहित अरु केसहरुमा पनि अनुसन्धान भइरहेको छ। हामी यी सबैलाई ढिलो चाँडो टुंगो लगाउँछौँ।'



अनुसन्धान टोली

भागरथीको बलात्कारपछि हत्यापछिको अनुसन्धानमा दुई सातादेखि डिआइजी सुवेदी आफैँ खटिएका थिए। घटनाको अनुसन्धानका लागि खोचलेक प्रहरी चौकीमा बसेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख सुवेदी, प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायव उपरीक्षक पञ्चकुमार बाखुसहित खटिएका थिए।



उनीहरुले जघन्य अपराधको घटनाका दोषी पत्ता लगाएको भन्दै स्थानीयले फूलमाला लगाएर बिदाइ गरेका छन्। दोगडाकेदार गाउँपालिकाका स्थानीयले प्रहरीलाई सम्मानसहित बिदा गरेका हुन्। 

दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट फर्किँदा बेपत्ता भएकी थिइन्। उनको शव माघ २२ गते भेटिएको थियो।

भिडियो

  • प्रकाशित मिति : फागुन ५, २०७७ बुधबार १६:१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया