सामान्य अंकले बढेको बजारमा बुधवार ८ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।
कारोबारमा आएका अधिकांश कम्पनीको सेयर मूल्य घटे पनि सूचक भने ९ अंकले बढेर २६११ बिन्दुमा पुगेको छ । बजार सामान्य अंकले बढेको दिन समग्र बजार पुँजीकरण पनि करिब ३६ खर्ब रुपैयाँ पुगेको छ ।
सोमबार र मंगलबार करिब १० अर्ब रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार भने आठ अर्ब रुपैयाँको मात्रै कारोबार भएको छ । सेयर बजारले दैनिक नयाँ रेकर्ड बनाइरहँदा लगानीकर्ताको आकर्षण भने बैंकतर्फ बढ्दै गएको छ ।
बजार अन्योल रहेको बेलामा सुरक्षित लगानीका लागि कम मूल्य भएका बैंकको सेयर सबैको रोजाइमा पर्न थालेको छ ।बुधबार २०३ कम्पनीको ७६ हजार ६३० पटकको व्यापारमा १ करोड ७६ लाख ८८ हजार २७१ कित्ता सेयर कारोबार भएको हो ।
सर्वाधिक कारोबार गर्नेमा आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले अग्रस्थानमा छ । आइतवारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार सुरु गरेको कम्पनीको बुधवार सर्वाधिक रू. ६९ करोड ४३ लाख ६१ हजार बराबरको सेयर कारोबार भएको हो ।
सर्वाधिक रकमको कारोबार गरेको कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयरमूल्यसमेत सर्वाधिक ९ दशमलव ९६ प्रतिशतले बढेको हो ।
उक्त कम्पनीपछि नबिल बैंकको सर्वाधिक रकमको सेयर कारोबार भएको छ । कम्पनीको ४१ करोड १६ लाख २५ हजार बराबरको सेयर कारोबार भएको हो ।
यस दिन बजारमा उतारचढाब देखिए पनि बैंकिङ र व्यापारिक समूहले सर्वाधिक कमाएका छन् । यो दिन व्यापारिक समूहको २ दशमलव शून्य २ प्रतिशत, बैंकिङको १ दशमलव ५८ प्रतिशत, विकास बैंकको शून्य दशमलव १३ प्रतिशत, अन्यको शून्य दशमलव ५१ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ५७ प्रतिशत परिसूचक बढेको हो ।
बाँकी सात वटा समूहको परिसूचक भने यो दिन घटेको छ । होटल र जलविद्युतको शून्य दशमलव ७५ प्रतिशत, वित्तको शून्य दशमलव शून्य ९ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव शून्य २ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ४८ प्रतिशत, लघुवित्तको १ प्रतिशत र जीवन बीमाको शून्य दशमलव ७७ प्रतिशत परिसूचक घटेको हो ।
यस दिन सनराइज फष्र्टको इकाइमूल्य सर्वाधिक ४ दशमलव ५३ प्रतिशतले घटेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।