'नेपालमा भारतीय हस्तक्षेप बढ्यो, ओलीलाई निरन्तर च्यापिरह्यो'
मध्यावधि चुनाव गराउने योजनामा भारत रहेको जिकिर

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले देश गम्भीर संकटबाट गुज्रिरहेको बताएका छन्।

प्रतिनिधिसभा विघटन भएको दुई महिना भइसक्दा पनि त्यसविरुद्धको आन्दोलन नउठिरहेका बेला प्रवक्ता श्रेष्ठले बुधबार निराशा व्यक्त गर्दै सामाजिक सञ्जालमा आफ्ना कुरा राखेका हुन्। 

नेता श्रेष्ठले देशमा पुनः वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको दाबी गरेका छन्। उनले दक्षिणी छिमेकी भारतको नामै लिएर नेपालमा वैदेशिक हस्तक्षेप बढ्दै गएको बताएका हुन्। 

‘संविधान र लोकतन्त्रमाथि मात्र प्रहार मात्रै भइरहेको छैन, पुनः वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ’, उनले भारतका एकजना विज्ञ एसडी मुनीले एक दैनिकमा लेखेको लेखलाई उद्धृत गर्दै भनेका छन्, ‘यसपटक भारतले आफ्नो कार्ड निकै सचेतताका साथ र कुशलतापूर्वक खेलेको छ। ओलीविरोधी शक्तिहरु उनलाई अब ठेगान लगाउने भनेर उत्साहित देखिन्थे। तर अस्तित्वको लडाइँमा छट्पटाइरहेका ओलीलाई जब भारतले विस्तारै सहयोगी हात अघि बढायो, अनि उनीहरु असफल भए।’

नेता श्रेष्ठले एसडी मुनीकै लेखलाई उद्धृत गर्दै आफ्ना थप कुरा राखेका छन्। उनले ओलीका अहिलेसम्मका कदमलाई भारतले साथ दिइरहेको निचोड पनि निकालेका छन्। 

‘अहिलेसम्मका यी कदमहरूबाट भारतले आफ्नो रणनीतिक लक्ष्य हासिल गरेको छ। आफ्नो पार्टी नै फुटाएर भए पनि सरकारमा टाँसिरहने साहस ओलीमा थपिएको छ’, मुनीको लेखको लाइन प्रस्तुत गर्दै उनले अगाडि भनेका छन्, ‘यस क्रममा, ओलीको अवसरवादी र राजनीतिक रुपमा लक्षित भारतविरोधी राष्ट्रवादको पर्दाफास भएको छ।’



श्रेष्ठले एसडी मुनीको त्यही लेखको अर्को अंश राख्दै अब भारत नेपालमा चुनावको बाटोमा रहेको उल्लेख गरेका छन्। ‘सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको एकता र दबदबा ध्वस्त भएको छ’, मुनीको लेखको अंशको सहयोगमा उनले भनेका छन्, ‘भारत अब नेपालमा नयाँ चुनाव गराउने पक्षमा खुलेर लागेको देखिन्छ।’

नेता श्रेष्ठले ओली नेतृत्वको नेकपालाई सत्ता स्वार्थले अन्धा भएका निरङ्कुश तत्वरुको संज्ञा दिएका छन्। उनले उनीहरुबाटै देशी शक्तिलाई आमन्त्रण गरेर तिनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भइरहेको पनि जिकिर गरेका छन्। 



‘विदेशी शक्तिहरु कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पुरा गर्न सकिन्छ भनेर सुक्ष्म व्यवस्थापनमा चासो दिँदै क्रमशः हस्तक्षेप बढाइरहेका छन्,’ उनले भनेका छन्।

प्रवक्ता श्रेष्ठले प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गर्न सम्पूर्ण देशभक्त शक्ति एक जुट भई राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न आग्रह पनि गरेका छन्। 

भारतमा नेपाल विज्ञ भनेर चिनिने प्रा• एस डी मुनी ले यस्तो खुलासा गरेका थिए एक महिना अघि नै हिन्दुस्तान टाइम्समा ; यसपटक...

Posted by Narayan Kaji Shrestha on Wednesday, February 17, 2021
  • प्रकाशित मिति : फागुन ५, २०७७ बुधबार २१:५१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया