जनयुद्धको इतिहास जोगाउन रोल्पामा बन्यो 'युद्ध सङ्ग्रहालय'
फरकधार / ६ फागुन, २०७७

‘तत्कालीन जनयुद्धको सबैथोक हराइसके, जनयुद्धका कमाण्डर अहिले मन्त्री भनेर चिनिन्छन्, सेनाहरु कोही विदेशमा, कोही मजदुरी गरिरहेका छन्, । राज्यले जनयुद्धको निशानीका रुपमा जनयुद्ध स्मृति सङ्ग्रहालय बनायो, त्यही रोल्पासँग त्यही मात्रै छ ।’ यो भनाइ तत्कालीन जनयुद्धका सिपाही मोहन नेपाली (उज्ज्वल)को हो । 

शान्ति स्थापनासँगै जनयुद्धका सबै कुरा हराउँदै जाँदा राज्यले जनयुद्धको स्मरणका लागि युद्ध सङ्ग्रहालय स्थापना गरेसँगै तत्कालीन युद्धका सिपाहीलाई सङ्ग्रहालयले युद्धको स्मरण गराएको खुसी उनले यसरी पोखे । जसले पूर्वजनमुक्ति सेनाहरुलाई खुसी दिएको उनले बताए । 

जनयुद्धपछिको अवस्थाबारे नेपाली थप्छन्, 'कलाकारहरु कोही विदेश पुगेका छन्, कोही मजदुरीमा बाँचेका छन्, घाइते अपाङ्ग भएकाहरु घरमै छटपटाइरहेका छन् । हातहतियार राज्यसँग छ । त्यस बेलाका केही चिज अहिले छैनन् । सबै हराए, अहिले जनयुद्ध इतिहास जस्तै बनेको छ ।' 

रोल्पा दशवर्षे जनयुद्धको उद्गम थलो मात्रै होइन, आधार इलाका पनि हो । युद्धकालमा अधिकांश कमाण्डरहरु रोल्पामै बस्थे, जनयुद्धका योजना, कार्यक्रमहरु रोल्पामै तय गरिन्थ्यो । जसका कारण रोल्पालाई जनयुद्धको आधार क्षेत्र भन्ने गरिन्छ । 

जनयुद्धलाई स्मरण गर्दै लुम्बिनी प्रदेश सरकारले रोल्पाको त्रिवेणी गाउँपालिकाको तिलामा जनयुद्ध सङ्ग्रहालय स्थापनाको थालनी गरेको छ । जसलाई जनयुद्ध स्मृति सङ्ग्रहालयमा नामाकरण गरिएको छ । 

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी (सोनाम)ले जनयुद्धलाई स्मरण गर्नका लागि रोल्पामा जनयुद्ध सङ्ग्रहालय स्थापना गरिएको बताए । तिलाको ज्वार स्मृति बिग्रेड जनमुक्ति सेना ब्यारेकमा सङ्ग्रहालय स्थापना गरिएको छ । 

रोल्पामा तत्कालीन जनयुद्धको अध्ययनका लागि थुप्रै विदेशी पर्यटकहरुकाे आवतजावत भएकाले रोल्पाको तिलामा जनयुद्ध सङ्ग्रहालय स्थापना गरिएको मन्त्री केसीको भनाइ छ । 

सङ्ग्रहालयले जनयुद्धको अध्ययनका लागि पर्यटकहरुलाई ठूलो सहयोग पुर्याउनुका साथै रोल्पाको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने मन्त्री केसीले बताए । आर्थिक वर्ष २०७६÷७७ मा सङ्ग्रहालय स्थापना गरिएको हो ।

  • प्रकाशित मिति : फागुन ६, २०७७ बिहीबार १०:१४:२८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया