कोटेश्वर-कलंकीमा थप तीन आकाशे पुल, ठेक्का सम्झौता सकिएपछि थालियो निर्माण

चक्रपथको कोटेश्वर–कलंकी सडक खण्डमा ३ वटा आकाशे पुल निर्माण अघि बढेको छ। उक्त खण्डमा पुल निर्माणका ठेक्का भएको २ वर्षपछि निर्माण थालिएको हो। 

आकाशे पुल निर्माणका लागि २०७५ सालमा सम्झौता भएको थियो। सम्झौता अनुसार, २०७७ माघ महिनामा निर्माण भइसक्नुपर्ने थियो।

निर्माण अघि नबढ्नुमा व्यवसायी दोषी नभएर सडक विभाग र काठमाडौँ चक्रपथ सुधार योजना स्वयम् जिम्मेवार रहेको योजनाका प्रमुख अर्जुन सुवाल बताउँछन्। 

'कोटेश्वर–कलंकी खण्डमा ६ स्थानमा आकाशे पुल निर्माण गर्ने योजना थियो’, प्रमुख सुवाल भन्छन्, ‘तर ३ स्थानमा पुलको डिजाइनमै समस्या भएकाले समयमै निर्माण अघि बढ्न सकेन।’ 

यद्यपि अब आकाशे पुल निर्माणलाई तीव्रताकासाथ अघि बढाउने तयारी रहेको उनले बताएका छन्। चक्रपथको कोटेश्वर–कलंकी खण्डका विभिन्न स्थानमा दुई वर्ष पहिले निर्माण शुरु भएका पुल अझै तयार भएका छैनन्। 

चीन सरकारको सहयोगमा विस्तार भएको उक्त सडकमा नेपाल सरकारले दुई वर्षअघि ६ स्थानमा आकाशे पुल निर्माण थालेको थियो। तीमध्ये तीन स्थानमा सम्पन्न भए पनि अन्य तीन स्थानमा डिजाइनमा समस्या भएपछि काम अघि नबढेको सुवालले बताए। 



चीन सरकारको आर्थिक सहयोगमा निर्माण भएको सडकमा नेपाल सरकारले एक-एक किलोमिटरको दूरीमा पर्ने गरी ६ स्थानमा आकाशे पुल निर्माण शुरु गरेको थियो।
सुवालका अनुसार पुल निर्माणको अवधि सकिए पनि पुनः ६ महिना थप गरी निर्माण थालिएको छ। आगामी असार मसान्तसम्ममा पुल निर्माण भइसक्ने उनको दाबी छ। 
यसअघि सरकारले कोटेश्वर, बागडोल र ग्वार्काेमा पुल बनाएको थियो। यी पुल मात्रै पर्याप्त नभएको निचोडसहित थप तीनवटा बनाउन लागिएको हो। 

पैदल यात्रुलाई सडक वारपार गर्न कठिन भएकाले सडक विभागले एक–एक किलोमिटरको दूरीमा पर्ने गरी थप स्थानमा पुल निर्माण गरेको थियो। अहिलेसम्म बालकुमारी, सातदोबाटो र एकान्त कुनामा सम्पन्न भएर आकाशे पुल सञ्चालनमा आएका छन्। 



सानेपा, बल्खु र महालक्ष्मीस्थानमा सच्याइएको डिजाइनअनुसार निर्माण गरिने प्रमुख सुवालले जानकारी दिए। २०७१ मा कोटेश्वर–कलंकी सडकको विस्तार शुरु भएको थियो। त्यो सडक २०७५ सालमा सम्पन्न भएर नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो। 

त्यही सडकको कलंकी खसी बजारदेखि कलंकी चोकसम्म नेपालमै पहिलो पटक ‘अण्डर पास’ समेत निर्माण भएको छ। चीन सरकारले नै चक्रपथको दोस्रो खण्डका रुपमा कलंकीदेखि चाबहिल सडक विस्तार गर्ने भएको छ। 

चिनियाँ पक्षलाई हस्तान्तरण गर्न हाल सडक विभागले सडक निर्माणस्थलमा रहेका संरचना हटाउने काम गरिरहेको छ।

चक्रपथको दोस्रो खण्डमा पनि प्रत्येक एक÷एक किलोमिटरमा एउटा आकाशेपुल निर्माण प्रस्ताव रहेको सुवालले बताए। उनका अनुसार, झण्डै १० किमी लम्बाइको सडकमा ९ वटा आकाशे पुल निर्माण गर्ने गरी डिजाइन तयार भइसकेका छन्। 

  • प्रकाशित मिति : फागुन ६, २०७७ बिहीबार १४:४८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया