भारतले काठमाडौं र काभ्रेका ६ वटा विद्यालय भवन बनाइदिने

भारत सरकारले नेपालस्थित ६ वटा विद्यालय ५१ करोड ८ लाखको लागतमा निर्माण गरिदिने गरी सम्झौता गरिएको छ। ६ वटा माध्यमिक विद्यालय निर्माणका लागि भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) बीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

ती ६ वटा विद्यालयमध्ये कान्ति भैरव माध्यमिक विद्यालय, चम्पादेवी माध्यमिक विद्यालय, धापासी माध्यमिक विद्यालय, विष्णुदेवी माध्यमिक विद्यालय गरी चारवटा विद्यालयहरु काठमाडौंका हुन्। बाँकी दुईवटा सिद्देश्वर माध्यमिक विद्यालय र हरिसिद्धि माध्यमिक विद्यालय काभ्रे पर्छन्। 

कागेश्वरीमा भूमि पूजन

यसैबीच भारतीय राजदूतावासका नियोग उप-प्रमुख नामग्य सी. खम्पा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले काठमाडौंको कागेश्वरी नगरपालिकास्थित कान्ति भैरव माध्यमिक विद्यालयको पुनर्निर्माणका लागि भूमि पूजन गरेका छन्। उक्त समारोहमा कागेश्वरी नगरपालिकाका मेयर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव तथा कान्ति भैरव विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि सहभागी थिए।

शिक्षा, स्वास्थ्य, सांस्कृतिक सम्पदा तथा आवास क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले नेपालमा दुई अर्ब करोड आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । शिक्षा क्षेत्रका लागि भारतको ५० मिलियन डलर प्रतिबद्धता रहेको छ । 

यस सहयोग अन्तर्गत नेपालका आठ जिल्लामा २०७२ सालको भूकम्पले क्षति पुर्याएका ७१ वटा शैक्षिक संस्थाहरुको पुनर्निर्माण भइरहेको छ । गोरखा र नुवाकोट जिल्लामा ८ वटा विद्यालय निर्माण भइसकेको छ।  ५६ वटा विद्यालयहरु निर्माणाधीन अवस्थामा छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको पुनर्निर्माणका लागि बोलपत्र आव्हान सम्बन्धी कार्य पनि अघि बढाइएको छ। 



२६.६ करोड लागतमा पुनर्निर्माण भइरहेको कान्ति भैरव माध्यमिक विद्यालय नेपाल सरकारले तोकेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप निर्माण हुनेछ । यस नवनिर्मित तीन तले भवनमा ३० वटा कक्षा कोठा, पुस्तकालय र प्रयोगशाला-अभ्यास कक्षका साथै छात्र तथा छात्राका लागि छुट्टै सरसफाई संरचना तथा फर्निचरको व्यवस्था हुनेछ। 

यी विद्यालयहरूको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ । केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ । 



कार्यक्रममा बोल्दै नियोग उप-प्रमुख खम्पाले भारत र नेपालबीचको बलियो र सशक्त विकास साझेदारी यस परियोजना शुभारम्भ कार्यक्रमले चरितार्थ गरेको बताइन्। नेपालमा भूकम्पपछिको पुनर्निर्माण परियोजना लगायत नेपालको सामाजिक-आर्थिक विकासमा नेपाल सरकार तथा यसका निकायहरुसँग हातेमालो गर्दै दुई देशबीचको सहकार्यलाई अघि बढाउन भारत सदैव प्रतिबद्ध रहेको उनले बताइन्। 

  • प्रकाशित मिति : फागुन ६, २०७७ बिहीबार १५:१८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया