भागरथी प्रकरण प्रहरीले १३ दिनमै टुंग्यायो तर निर्मला प्रकरण ?
अनुसन्धानमा सात टोली, डिआइजी सुवेदी आफैं घटनास्थलमा

पछिल्लो अढाई वर्षमा दुईवटा बलात्कारका घटना चर्चित भए। एउटा थियो, कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त र अर्को हो बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार प्रकरण। 

यी दुईमा निर्मलाका अभियुक्त अझै फरार छन् भने भागरथी प्रकरणका अभियुक्त उनकै भाइ पर्ने दिनेश भट्ट पक्राउ परेका छन्। उनले प्रहरीसँग साविती बयान पनि दिएका छन्।

यी दुइटै घटनालाई लिएर देशभर प्रदर्शन भए। निर्मला प्रकरणले त राजनीतिक रुप नै लियो। बैतडीकी भागरथी हत्या प्रकरणलाई पनि भड्काउने कोसिस हुँदै गर्दा प्रहरीले अभियुक्तलाई मंगलबार पक्राउ गरेर बुधबार सार्वजनिक गरिसकेको छ। 

निर्मला र भागरथी दुईजनाको नाम चर्चा गरिरहँदा यस अवधिमा देशभर ५ हजार ४६९ वटा बलात्कारका घटना भए। यो तथ्यांक प्रहरीकै हो, तर यति धेरै बलात्कारका घटनामध्ये यी दुईले देश नै ततायो। 

दुई वर्षको फरकमा भएका यी दुवै घटना लगभग एउटै पकृतिका छन्। अर्थात, दुवै घटनामा बलात्कार गरी पीडितको हत्या गरिएको दाबी प्रहरीको छ। यद्यपि भागरथी प्रकरणका अभियुक्तले हत्या गरे पनि बलात्कार नगरेको बयान दिइरहेका छन्। 

दुवै बलात्कारका घटना एउटै प्रकृतिका भए पनि एउटामा चाँडै सफलता मिलेको छ भने अर्कोको गुत्थी प्रहरीले अझैसम्म फुकाउन सकेको छैन। निर्मलाका हत्यारा पत्ता नलाग्दा प्रहरीको बर्दीमा लागेको दाग मेटाउन गाह्रो भएको छ। 



तर जटिल मानिएको भागरथी प्रकरण सल्टिएपछि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तम राज सुवेदी उत्साहित छन्। उनले अब निर्मलासहित अन्य बलात्कारका घटनाको गाँठो फुकाउने हरसम्भव प्रयास गर्ने बताएका छन्। प्रहरी अनुसन्धानमै प्रश्न उठिरहेका बेला डिआइजी सुवेदी आफैँ फिल्डमा उत्रिएर गरेको प्रयास सफल भएपछि केही राहत मिलेको छ।

भागरथी प्रकरणमा दिनेशले साविती बयान दिएर हत्यापछि फालिएको घडी उनले भनेकै ठाउँमा भेटिँदा पनि १७ वर्षीय किशोरबाट यो घटना हुनै नसक्ने तर्क वितर्क सामाजिक सञ्जालमा चलिरहेका छन्। अर्कातिर प्रहरीको अनुसन्धानमाथि नकारात्मक टिप्पणीसहित निशाना साँध्ने क्रम रोकिएको छैन। 



१३ दिनमै टुंगियो

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी बलात्कार र हत्याको घटना १३ दिनमै टुंगिएको छ। तर अढाई वर्ष अगाडि भएको निर्मला प्रकरणमा प्रहरीलाई अझै सफलता मिलेको छैन। 

यी दुईवटै घटना एकै प्रदेशका हुन्। अहिले ती प्रदेशमा प्रहरी मुखिया छन्–डिआइजी उत्तम राज सुवेदी। उनकै कोसिका कारण यो घटनाका दोषीलाई पक्राउ पर्न सके। डिआइजी सुवेदी लगातार १२ दिनसम्म घटनास्थलमै बसेर लगातार अनुसन्धानमा खटिरहे। स्थानीय प्रहरी चौकीलाई नै आफ्नो अड्डा बनाएर यो घटनालाई सुवेदीसहितका प्रहरी अधिकृतले किनारा लगाइ छाडे।

‘चेकलिस्ट’ बनाएर अनुसन्धान

भट्ट प्रकरणलाई प्रहरीले १३ दिनमै कसरी टुंगो लगायो त? तर निर्मला प्रकरण प्रहरीलाई किन फलाम सावित भइरहेको छ ? यसलाई लिएर हामीले सुवेदीलाई सोध्दा उनले दुवै घटनामा फरक सिनारियो देखिएको बताउँछन्। 

पहिले भट्टको घटनामाथि चर्चा गर्दै उनले भने,‘यो घटना हुनेबित्तिकै सूचना पाउनासाथ हामी घटनास्थल पुग्यौँ, गम्भीरतापूर्वक हेरेर तत्कालै पूर्व योजना बनायौँ। अनुसन्धान कसरी गर्ने भनेर त्यसका लागि ‘चेकलिस्ट’ तयार गर्यौँ। त्यसपछि हामी विस्तृत अनुसन्धानमा जुटेका हौँ।’ 

उनका अनुसार अनुसन्धानको यो सिलसिलामा सुरुमै डाक्टर, वकिल र स्थानीय जनप्रतिनिधिलाई घटनास्थल देखाइयो। त्यसपछि सबुत प्रमाण जुटाउने काममा प्रहरी जुटेको थियो। निर्मला प्रकरणमा सचेत हुँदै भागरथीको स्वाब संकलन र परीक्षणमा सजगता अपनाइएको तर्क उनले गरेका छन्। 

अनुसन्धानमा ७ टिम

स्वाब संकलन एवम् घटनास्थलको निरीक्षणपछि प्रहरीले अर्को जुक्ति पनि अपनायो। यो अनुसन्धानमा ७ वटा टिम बनाइयो। कमाण्डर सेक्टर, टेक्निकल, विश्लेषण, इमर्जेन्सी, खबर संकलन, पक्राउ टिम र सुरक्षा टिमसहित सातवटा टोली बनाइएको डिआइजी सुवेदीले बताए।

उनका अनुसार यी सबै टिमले चुपचाप आफ्नो जिम्मेवारी अनुसार काम गर्न थाले। अर्थात् यहाँ व्यवस्थित रुपमा प्रहरी परिचालन गरियो। ‘त्यसपछि घटनामा को को संलग्न हुनसक्छन् भनेर बृहत सूची बनायौं’, उनले भने, ‘अनि ‘फोकस’ अनुसन्धान भयो।’

जनताको साथ

यी प्राविधिक काम भइसकेपछि प्रहरीले अर्को नीति अवलम्बन गरेको उनी बताउँछन्। यो नीतिअनुरुप प्रहरीले नारा, जुलुस गर्नेलाई सम्झायो। ‘हामीले भन्यौं, तपाईंहरु नारा जुलुस गर्नुहुन्छ भने हाम्रो ध्यान उतै हुन्छ, अनि अनुसन्धानमा फरक पर्छ’, उनले भने।  

यसरी सम्झाइसकेपछि नारा जुलुस पनि रोकिएको उनले सुनाए। ‘त्यसपछि हामी पनि अनुसन्धानमा केन्द्रित भयौं’, उनले भने, ‘हामीलाई सबै नागरिकले सूचना दिन थाल्नुभयो। यसरी आम नागरिकको सहयोग भएपछि प्रहरीको ‘टिम वर्क’ले अनुसन्धानमा सफलता मिलेको हो।’

पूर्व प्रहरीको साथ

यो घटनाको भोलिपल्टै त्यस क्षेत्रका प्रहरी प्रमुख सुवेदी धनगढीबाट घटनास्थल पुगेका थिए। उनी आफैँ पुगेपछि अनुसन्धानमा धेरैबाट सूचना लिने कोसिस गरे। 

स्थानीयबासीसँगै उनले यो घटनामा त्यहीँ ठाउँका पूर्व प्रहरीलाई समेत सूचना संकलनमा खटाए। पूर्व प्रहरी पनि सूचना संकलनमा लागेपछि धेरै जानकारी आएको उनी बताउँछन्। ‘यहाँ व्यवस्थित ढंगले सबै जनशक्ति परिचालित गरेर ‘टिम वर्क’ मा काम भयो’, उनले भने, ‘भट्ट प्रकरण अनुसन्धानमा सफलता मिल्नुको मुख्य कारण पनि यही हो।’

निर्मला प्रकरणका कमजोरी

तर कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त प्रकरणमा प्रहरीले भागरथी प्रकरणमा जस्तै व्यवस्थित अनुसन्धान गर्न सकेन निर्मला प्रकरणबारे कुरा गर्दै उनले भने, ‘यो घटनालगत्तै व्यवस्थित रुपमा प्रहरी परिचालन भएन, जसले गर्दा धेरै प्रमाण जुटाउन सकिएन। यसबाहेक घटनास्थलमै प्रहरी र स्थानीयबीच विवाद भयो। यही नै खतराको घण्टीको सुरुवात थियो।’

उनको बुझाइमा कुनै घटनाको अनुसन्धानमा सफलता मिल्न प्रहरीले स्थानीयसँग राम्रो सम्बन्ध बनाउनुपर्छ। 

‘अपराध समाजमै हुन्छ, अपराधी पनि समाजमै बस्छ। तर प्रहरीले चिन्न सक्दैन, यहाँ समाजकै आवश्यकता पर्छ’, उनी भन्छन्, ‘सूचना समाजबाटै आउने हो, जुन कुरा कञ्चनपुरमा हुन सकेन। त्यहीकारण प्रहरीलाई सूचना नमिलेपछि दूरी बढ्यो। यसैले गर्दा निर्मला प्रकरणमा प्रहरी सफल हुन सकेन।’ 

राजनीतिकरण

कञ्चनपुर घटना अन्य दुई कारणले पनि लम्बिएको उनको तर्क छ। पहिलो, सोसल मिडिया र दोस्रो राजनीतिकरण। यी दुई कारणले घटना असफलतातर्फ गएको उनको भनाइ छ। ‘अनुसन्धानमा समाजबाट प्रहरीलाई सहयोग नै भएन’, उनले भने, ‘उल्टै सोसल मिडियामा अनावश्यक हल्ला फिँजाउन थालियो, अनर्गल प्रचार गरियो। त्यसले प्रहरीको मनोबल गिर्दै गयो।’ 

निर्मला प्रकरणमा नारा जुलुस गरेर प्रहरीको ध्यान अर्कैतिर डाइभर्ट गरिएको उनले  बुझेका छन्। निर्मला प्रकरणलाई राजनीतिकरण गरिएकोले लम्बिँदै गएको उनको आँकलन छ। 

अर्थात्, सोसल मिडियामा एकातिर अफवाह फैल्याइयो भने अर्कातिर बलात्कार जस्तो घटनालाई राजनीतिकरण गरिएपछि प्रहरीले स्वतन्त्रतापूर्वक काम गर्न नपाएर यो घटनाका दोषी उम्केको उनी बताउँछन्। 

  • प्रकाशित मिति : फागुन ६, २०७७ बिहीबार १८:१७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया