यी खेलाडीले पाए धेरै मूल्य, अलराउण्डरमा प्रतिस्पर्धा, सन्दीप अन्सोल्ड
आइपिएल अक्सन

इन्डियन प्रिमियर लिग(आइपिएल)को १४औँ संस्करणका लागि बिहीबार भएको अक्सनमा विदेशी अलराउण्डरलाई लिन कडा प्रतिस्पर्धा भएको छ। थुप्रै चर्चित खेलाडीहरुलाई कुनै टोलीले नलिँदा सामान्य प्रदर्शन गरिरहेका र नवप्रवेशी विदेशी अलराउण्डरहरु महंगोमा बिक्री भएका हुन्।  

दक्षिण अफ्रिकाका क्रिस मोरिसले आइपिएलको अक्सनमा सबैभन्दा महंगोमा बिक्री हुने कीर्तिमान बनाएका छन्। १६ करोड २५ लाखमा बिक्री भएका उनले २०१५ मा युवराज हिंसले बनाएको कीर्तिमान तोडेका हुन्। २०१५ मा दिल्लीले युवराजलाई १६ करोडमा टोलीमा भित्र्याएको थियो। 

गत सिजन राम्रो नखेलेर पञ्जाबले उनलाई रिलिज गरेको थियो। म्याक्सवेललाई गत सिजन पञ्जाबले १० करोड ७५ लाखमा किनेको थियो। 

२०२१ को आइपिएलका लागि बिहीबार महंगोमा मूल्यामा बिक्री भएका केही विदेशी खेलाडीबारे चर्चा गरौँ ।

क्रिस मोरिस 



सबैभन्दा चर्का मूल्य दक्षिण अफ्रिकाका अदराउण्डर क्रिस मोरिसले पाएका छन्। आइपिएलमा खासै चर्चा नभएका र त्यति उत्कृष्ट प्रदर्शन नगरेका मोरिसले अस्वभाविक मूल्य पाएका हुन्। उनको आधार मूल्य ७५ लाख मात्रै थियो। 

उनीमाथि सुरुमा मुम्बईले बोली लगाएको थियो। त्यसपछि प्रतिस्पर्धामा बैंग्लोर आएको थियो। १० करोड मूल्य भएपछि बैंग्लोरले बोली लगाउन छाडेको थियो। त्यसपछि  मुम्बईसँग प्रतिस्पर्धा गर्न राजस्थान आएको थियो। मुम्बई १३ लाख पछि रोकिएको थियो। त्यसपछि पञ्जाब र राजस्थानले मोरिसलाई लिन ठूलो प्रतिस्पर्धा गरेका थिए। अन्ततः राजस्थानले मोरिसलाई १६ करोड २५ लाखमा लिएको हो।



३३ वर्षीया मोरिसले आइपिएलका ४४ इनिङमा ब्याटिङ गर्दा ५५१ रन बनाएको छन्। यसमा उनका २ अर्धंशतक सामेल छन्। ब्याटिङमा आक्रामक प्रदर्शन गर्ने फिनिसरका रुपमा रहेका मोरिसको आइपिएलमा स्ट्राइकरेट करिब १५८ छ। पहिलो पटक आइपिइलमा स्थान पाएका न्यूजिल्याण्डका फास्ट बलर काइल जेमिसन निकै महंगो मूल्य पाए । 

मिडियम फास्ट बलर मोरिसले आइपिएलमा ७० खेल खेल्दा ८० विकेट लिएका छन्। उनको बलिङ इकोनोमी ७.८ छ। 

काइल जेमिसन

न्यूजिल्याण्डका फास्ट बलर काइल जेमिसन निकै महंगोमा विक्री भएका छन्। उनलाई १५ करोडमा बैंग्लोरले टोलीमा भित्र्याएको हो। उनको आधार मूल्य ७५ लाख थियो। सुरुमा बैंग्लोरले नै उनीमाथि बोली लगाएको थियो। 

बैंग्लोरपछि  जामिसनमाथि दिल्लीले बोली लगाएको थियो। बीचमा पञ्जाब प्रवेश गर्‍यो। ८ लाख ७५ हजारपछि दिल्लीले छाडेको थियो। पञ्जाब र बैंग्लोरले पछिसम्म प्रतिस्पर्धा गरेका थिए।  २६ वर्षीय जामिसन आइपिएलका लागि नयाँ हुन्। उनले न्यूजिल्याण्ड लागि ६ टेस्ट, ४ एकदिवसीय र ४ टी–२० खेल खेलेका छन्।


ग्लेन म्याक्सवेल

अस्टे्रलियाका अलराण्डर ग्लेन म्याक्सवेल पनि धेरै मूल्य पाएका छन्। गत सिजन खासै राम्रो प्रदर्शन नगरेपछि पञ्जाबले म्याक्सवेललाई रिलिज गरेको थियो। तर २०२१ का लागि म्याक्सवेल महंगो मूल्यामा बिक्री भएका हुन्। म्याक्सवेललाई रोयल च्यालेन्जर्स बैंग्लोरले १४ करोड २५ मा खरिद गरेको हो। 

गत सिजन  किंग्स ११ पञ्जाबमा रहेका उनलाई पञ्जाबले रिलिज गरेको थियो। म्याक्सवेल २०२१ को सिजनका लागि १४ करोड २५ लाखमा विक्रि भएका हुन्। म्याक्सवेललाई रोयल च्यालेन्जर्स बैंग्लोरले आफ्नो टिममा भित्र्याएको हो। 

म्याक्सवेल लिनका लागि रोयल च्यालेन्जर्स बैंग्लोर र चेन्नई सुपर किंग्सबीच कडा प्रतिस्पर्धा भएको थियो। 

सुरुमा कोलकता नाइटराइडर्सले पनि उनीमाथि बोली लगाएको थियो। 

कोलकताले ४ करोड २० लाखपछि बोली लगाउन छाडेको थियो। राजस्थानले पनि उनीमाथि बोली लगाएको थियो। 

२ करोड आधार मूल्यबाट सुरु भएकोमा बैंग्लोर र  चेन्नईले कडा प्रतिस्पर्धा गरेका थिए। 

आइपिएलको ७९ खेलमा ब्याटिङ गर्दा ६ अर्धशतकसहित म्याक्सवेलले १५०५ रन बनाएका छन्। उनको स्ट्राइक रेट १५४ छ। अफब्रेक स्पीनर रहेका म्याक्सवेलले आइपिएलमा १९ विकेट लिएका छन्। 
 

जाय रिचर्डसन


अस्ट्रेलियाका बलिङ अलराउण्डर जय रिचर्डसनमा निकै महंगोमा मूल्यमा विक्रि भएका छन्। उनलाई पञ्जाब किंग्सले १४ करोडमा टिममा भित्र्याएको हो। उनको आधार मूल्य १ करोड ५० लाख थियो। उनलाई सुरुमा बैंग्लोरले बोली लगाएको थियो। सुरुमा बैंग्लोर र दिल्लीबीच उनलाई लिन प्रतिस्पर्धा भएको थियो। बीचमा पञ्जाब प्रवेश गर्‍यो। ११ करोड २५ लाख लगाएर दिल्ली रोकिएपछि बैंग्लोर र पञ्जाबबीच प्रतिस्र्धा भएको थियो। २४ वर्षीय रिचर्डसनले अहिलेसम्म आइपिएल खेलेका छैनन्। 

मोइन अली


इङ्ल्याण्डका मोइन अली महंगो बिकेका अर्का विदेशी अलराउण्डर हुन्। गत सिजन बैंलोरले रिलिज गरेपछि अक्सनमा सामेल भएका माइन अलीलाई २०२१ का लागि चेन्नईले खरिद गरेको हो। उनले ७ करोड मूल्य पाएका छन्। अलीको आधार मूल्य २ करोड थियो। 

इङ्ल्याण्डका युवा अलराउण्डर टम करणले पनि राम्रो मूल्य पाएका छन्। करणलाई दिल्लीले ५६ करोड २० लाख मूल्यमा टोलीमा भित्र्यायो। उनीमाथि दिल्लीसँगै हैदरावादले पनि चासो देखाएको थियो। १ करोड ५० लाख आधार मूल्य रहेका करणलाई दिल्लीले ने पहिलो बोली लगाएको थियो। 

सन्दीप बिकेनन् 

नेपाल युवा क्रिकेटर सन्दीप लामिछाने आइपिएलको आगामी सिजनका लागि बिक्न सकेनन्। ४० लाख भारतीय मूल्य रहेका सन्दीपमाथि कुनै टोलीले बोली लगाएनन्। 

२०१८ को सिजनमा दिल्लीमा आवद्ध भएका सन्दीपलाई ३ सिजनपछि दिल्लीले रिलिज गरेको थियो। २०१८ र १९ को सिजनमा खेल्न पाए पनि २०२० को सिजनमा सन्दीपले एक खेल पनि खेल्न पाएनन्। 

दुई सिजनका ९ खेल खेल्न पाउँदा सन्दीपले १३ विकेट लिएका थिए। 

राम्रा ब्याट्सम्यान सस्तोमा, धेरै चर्चित पनि बिकेनन् 

अस्ट्रेलियाका चर्चित ब्याट्सम्यान स्टेभेन स्मीथलाई दिल्ली क्यापिटल्सले सस्तैमा खरिद गरेको छ। गत सिजन राजस्थान रोयल्सका कप्तान रहेका उनलाई राजस्थानले अप्रत्यासित रुपमा रिजिल गरेको थियो। गत सिजन आइपिएलमा खासै राम्रो खेल्न नसके पनि स्मीथले अस्ट्रेलियाको राष्ट्रिय टोलीका लागि राम्रो प्रदर्शन गरिरहेका छन्। उनी अहिले विश्व क्रिकेटमा चल्तीका ब्याट्सम्यान मध्ये एक हुन्। स्मीथ आइसिसी टेस्ट बरियताको ब्याट्सम्यानतर्फ दोस्रो स्थानमा छन्।

आइसिसी टी–२० को बरियतामा रहेका इङल्याण्डका डेविड मालनलाई पञ्जाबले आधार मूल्य १ करोड ५० लाखमै भित्र्याउन सफल भएको छ। मालनमाथि पञ्जाब बाहेक कसैले चासो देखाएनन्। 

भारतीय टोलीका राम्रा ब्याट्सम्यान मध्येका एक चेतेश्वर पुजारालाई ५० लाख आधार मूल्यमा चेन्नईले टोलीमा भित्र्यायो। अन्न टोलीले उनीमाथि चासो देखाएनन्। न्युजिल्याण्डका आक्रामक ब्याट्सम्यान मार्टिन गुप्टिल, इङ्ल्याण्डका जनसन रोय, वेस्ट इन्डिजका ड्यारेन ब्राबो, अस्ट्रेलियाका शन मार्श जस्ता ब्याट्सम्यान विक्न सकेनन्।

  • प्रकाशित मिति : फागुन ६, २०७७ बिहीबार १९:२८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया