पौडेल भन्छन् : आन्दोलन चर्काउनै पर्छ, देउवा भन्छन् : पैसा भए पो आन्दोलन गर्नू
दुई शीर्ष नेता दुई तिरको अडानम

पोखरा : प्रतिनिधिसभा विघटनपछि आन्दोलन र निर्वाचनको दोधारमा फसेको नेपाली कांग्रेसका नेताहरूबीच मतभेद झन् झन् बढ्दै गएको छ। खासगरी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच लगातार सार्वजनिक मञ्चमै घोचपेच चलिरहेको छ। 

यस्तै कटाक्ष र घोचपेचको दृश्य बिहीबार दुई नेताबीच पोखरामा देख्न पाइयो। पोखरामा नेपाल मगर सङ्घको गण्डकी प्रदेश सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सभापति देउवालाई जे मन लाग्यो त्यही नबोल्न भन्दै कटाक्ष गरे।

पहिले बोलेका वरिष्ठ नेता पौडेलले जनतालाई भ्रममा पार्ने गरी जे मन लाग्यो त्यही नबोल्न सभापतिलाई देउवालाई दबाब नै दिए। ‘पार्टीले संसद् विघटनलाई असंवैधानिक अलोकतान्त्रिक कदम भनेको छ, नेताहरू जनतालाई कन्फ्युजनमा पार्ने कुरा बोलेर हिँड्ने?', उनले देउवातिर लक्षित गर्दै भने, 'नेता भएर जे मन लाग्यो त्यही बोलेर हिँड्ने ?’

उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई तानाशाहीतन्त्र भने । 'तानाशाही तन्त्रको विरोध गर्नु कांग्रेसको कर्तव्य हो। प्रधानमन्त्रीले संविधानमाथि हमला गरेकाले अदालतले के गर्ला भनेर हेरेर बस्ने होइन', उनले भने, 'लोकतन्त्रको रक्षाका लागि कांग्रेस आन्दोलनको मोर्चामा अघि बढ्नुपर्ने विकल्प छैन।'

देउवाले कांग्रेसको भिजन, मिसन र इतिहास भुलेको आरोप पनि पौडेलले लगाए। 'कांग्रेसको इतिहास के हो ?, कांग्रेसको भिजन के हो ? त्यो त प्रस्ट पार्नु पर्छ, संविधान र लोकतन्त्रमाथि हमला हुँदा कांग्रेसले हेरेर बस्ने ?', उनले देउवालाई अर्को प्रश्नसहित कटाक्ष गरे, 'अदालतले फैसला गर्दा पनि संविधानमा जे लेखेको छ, त्यही गर भनेर कांग्रेसले भन्नुपर्छ, चुनाव त पञ्चायतमा पनि भएको थियो, कांग्रेसले किन चुनाव चुनाव भन्ने? तानाशाहीविरुद्ध आन्दोलन नै चर्काउनु पर्छ।'

वरिष्ठ नेता पौडेलले संविधान र लोकतन्त्र जोगिएमा मात्रै निर्वाचनको अर्थ हुने टिप्पणी गरे। 'संविधान र लोकतन्त्र नै मासिने खतरा बढ्दै गर्दा हुने  निर्वाचनको कुनै अर्थ हुँदैन', उनले भने, 'कुनै पनि भ्रममा नपरी पार्टीलाई आन्दोलनमा अगाडि बढाउनुबाहेक हामीसँग अर्को विकल्प छैन।'



अनि दिए देउवाले जवाफ

पौडेलले बोलिसकेपछि मञ्चमा आएका सभापति देउवाले आन्दोलनका लागि सडकमा हुलका हुल मान्छे ल्याउन पैसा नभएको भन्दै कटाक्ष गरे। देउवाले संसद् पुनःस्थापना हुनै पर्छ भनेर कांग्रेसले आन्दोलनका लागि पैसा खर्च गरेर सडकमा मान्छे ल्याउन नसक्ने बताएर पौडेललाई जवाफ दिए। 



‘सडकमा आन्दोलन गर्ने नाममा हुलका हुल मान्छे कांग्रेसले ल्याउन सक्दैन, कांग्रेससँग त्यसका लागि पैसा छैन,’ देउवाले पौडेलतिर लक्षित गर्दै सम्मेलनमा भने, 'संसद् विघटनपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा विचाराधीन छ। अदालतले गर्ने निर्णय नै कांग्रेसलाई मान्य हुनेछ।'

उनले आफूहरु अदालतको निर्णय स्वीकार गर्न तयार रहेको बताए। ‘अदालतले संसद् पुनःस्थापना भन्यो भने स्वीकार गर्छौँ', उनले भने, 'यदि सरकारलाई चुनावमा जानु भन्यो भने पनि स्वीकार्न तयार छौँ। सडकमा जुलुस निकालेर, दबाब दिएर हामी अदालतलाई यसो गर, उसो गर भन्न सक्दैनौँ।'

  • प्रकाशित मिति : फागुन ६, २०७७ बिहीबार २०:४२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया