म्युजिक भिडियोका सबैभन्दा महङ्गा मोडल बने माग्ने बुढा

कोरोना कालपछि ठप्प भएको नेपाली सिने उद्योगले राम्रोसँग गति लिन सकेको छैन । फिल्म छायाँकनको क्रम बाक्लिए पनि चलचित्रको प्रचारमा निर्माताहरू बाहिर निस्किसकेका छैनन् । केही चलचित्र प्रदर्शनको तयारीमा रहे तापनि निर्माताहरुले प्रदर्शन गर्ने आँट गरिरहेका छैनन् ।

कोरोना कालमा खाली भएका नाम चलेका कलाकार म्युजिक भिडियोमा देखिए । यो समय म्युजिक भिडियो निर्माणको क्रम भने निक्कै बाक्लियो । राजेश हमाल, करिस्मा मान्धरदेखि केदार घिमिरेसम्मका कलाकार म्युजिक भिडियोमा देखिए । म्युजिक भिडियोमा मात्रै सीमित रहेका कतिपय कलाकार फेजआउट जस्तै भए ।

पछिल्लो समय निर्माण भएका म्युजिक भिडियोले फिल्मकै शैलीमा प्रचार हुने मौका पाए । स्टार कलाकार राखेर ठूलो लगानीमा बनेका म्युजिक भिडियो युट्युबमा सार्वजनिक हुनुभन्दा अघिबाटै पोस्टर, प्रोमोमार्फत प्रचार-प्रसार हुन थालेका छन् । म्युजिक भिडियोका पोस्टरहरू कुनै फिल्मका भन्दा कम देखिँदैनन् ।

ठूलो पर्दामा जमेका कलाकार म्युजिक भिडियोमा व्यस्त हुन थालेपछि उनीहरुले म्युजिक भिडियोमा आफ्नो पारिश्रमिक तोक्न थालेका छन् । केही समय अघि अभिनेता पल शाहले म्युजिक भिडियोको पारिश्रमिक रेट सार्वजनिक गरेका थिए । यही समय पूजा शर्मा, वर्षा राउत, वर्षा शिवाकोटी लगायतका कलाकारले पनि आफ्नो पारिश्रमिक बढाए । उनीहरुले एउटा म्युजिक भिडियोमा अभिनय गरेको एक लाखसम्म पारिश्रमिक लिने गरेको बताउँदै आएका छन् ।

पछिल्लो समय हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले पनि म्युजिक भिडियोमा अभिनय गर्दाको आफ्नो रेट तोकेका छन् ।  उनले एउटा म्युजिक भिडियोमा अभिनय गरेको पारिश्रमिक ५ लाख रुपैयाँ लिएका छन् । उनले ‘इस’ बोलको गीतको म्युजिक भिडियोमा अभिनय गरेवापत ५ लाख रुपैयाँ लिएको बताएका छन् ।

नेपाली म्युजिक भिडियोमा मोडललाई दिएको सबैभन्दा धेरै पारिश्रमिक यही हो । तर, केदारले आफूले निरन्तर म्युजिक भिडियोमा काम नगर्ने बताएका छन् । सम्राट चौलागाईंको शब्द संगीत रहेको उक्त गीत रचना रिमाल र सम्राटले गाएका छन् । सम्पादनको क्रममा रहेको म्युजिक भिडियो केही दिनमा सार्वजनिक हुनेछ ।





  • प्रकाशित मिति : फागुन ७, २०७७ शुक्रबार १२:४७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया