‘कार्यविधि नबुझाउनेले झुटो आरोप लगाउन मिल्दैन’

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले आफूमाथि लगाएको आरोप मिथ्या भएको बताएका छन् । बागमती प्रदेश सभा सचिवालयमा  शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्तावलाई टुंग्याउन आवश्यक पर्ने कार्यविधि नहुँदा बैठक सञ्चालन गर्न नसकिएको बताएका छन् ।

सभामुख श्रेष्ठले प्रदेशसभा सञ्चालन गरेपछि मतदानको प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ, तर त्यसका लागि आवश्यक पर्ने कार्यविधि नहुँदा बैठक राख्न समस्या भएको दाबी गरेका हुन् । मतविभाजनका लागि आवश्यक कार्यविधिको मस्यौदा बनाउन सांसदहरू राजेन्द्र पाण्डे, बुद्धिमान माझी, केशव पाण्डे, गणेश दुलाल, छिरिङ दोर्जे, शोभा शाक्य, सुरेन्द्र गोसाईं, रिना गुरुङ र रीता माझीसहितको समिति गठन गरिएको थियो ।

उक्त समितिले प्रदेश सभामा अहिलेसम्म समितिले तयार पार्ने भनिएको अविश्वासको प्रस्तावसम्बन्धी मत विभाजन कार्यविधिको प्रतिवेदन नबुझाउँदा सभामुखले बैठक राख्न नसकेको प्रष्ट पारेका छन् ।

उनले आफूलाई झुटो आरोप लगाएको प्रति आक्रोश व्यक्त गर्दै भने, ‘उनीहरू प्रतिवेदन नबुझाउने, अविश्वासको प्रस्तावको टुंगो नलागेसम्म अरू विषय संसदमा प्रवेश हुने देखिन्न । कार्यविधिको प्रतिवेदनबिना अविश्वासको प्रस्तावमाथि छलफल भएपछि मत विभाजन हुन सक्छ तर छलफलपछि मत विभाजन कसरी गर्ने भन्ने टुंगो छैन । अनि मलाई प्रहार गर्ने ?’ मत विभाजन गर्न अझै समस्या रहेको उनले बताए ।

‘केही सांसदहरूले नो भोटिङको व्यवस्था समेत माग गरेका छन् त्यसबारे कार्यविधिमा लेखेको हुनुपर्छ, कार्यविधि हामी सँग छैन’ श्रेष्ठले थपे । सभामुख श्रेष्ठले आफू कुनै दलको कार्यकर्ता नरहेको समेत बताउँदै कसैको दबाब र प्रभावमा नपर्ने दाबी गरेका छन् ।

उनले नेपाली कांग्रेसले समेत झुटो आरोप लगाएको बताए । प्रचण्ड–माधव समूहले पनि संसदमा छलफलमा अविश्वासको प्रस्ताव लैजाने तर मतदानमा नजाने कुरा गरेको र कांग्रेसले पनि केन्द्रको निर्णयको प्रतीक्षा गर्न समय माग गरेको समेत बताए ।



अविश्वासको प्रस्तावमाथि छलफल गर्न माग गर्दै अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव समूहका सांसदहरूले उपसभामुख राधिका तामाङ मार्फत बुधबार विरोधपत्र बुझाएका थिए । विरोध पत्रमा सभामुख सानुकुमार श्रेष्ठमाथि आरोपै आरोप लगाएका थिए । उनीहरूले  सभामुख सानुकुमार श्रेष्ठलाई ‘अल्पमत सरकारको रबर स्ट्याम्प’ भएको आरोप लगाएका थिए ।

यसअघि माघ १९ गतेका लागि तय भएको बैठक मुख्यमन्त्रीको दबाबमा अघिल्लो राति सूचना जारी गर्दै सभामुख श्रेष्ठले फागुन ५ गतेसम्मका लागि स्थगित गरेका थिए ।



फेरि ५ गते बुधबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक सभामुख श्रेष्ठले बिहानै सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित गरेका थिए । पुस १० गते प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो । माघ १९ का लागि तय भएको बैठक अघिल्लो राति सूचना जारी गरी स्थगित भएको थियो ।
 

  • प्रकाशित मिति : फागुन ७, २०७७ शुक्रबार १८:४०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया