चुनाव गराउँदा संविधान मिचिँदैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन गराउँदा संविधान नमिचिने बताएका छन् । ‘वैशाखमा चुनाव हुन्छ, सरकार बन्छ अनि संविधान कहाँ मिचियो ?’ उनले प्रश्न गरे । उनले भने, ‘चुनाव हुँदा संविधान मिचिन्छ, लोकतन्त्र समाप्त हुन्छ भने अब डेढ वर्षपछि त लोकतन्त्र कुनै हालतमा बाच्ने भएन नि त नेपालमा ।’

प्रधानमन्त्री ओलीले चुनावले लोकतन्त्र समाप्त नहुने दाबी गरे । लोकतन्त्रविरुद्ध षड्यन्त्र हुन थाल्यो भने जनताको बिचमा जानुपर्ने उनको भनाइ छ ।

७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले निर्वाचनका लागि निर्वाचन आयोगको तयारी भने राम्रो नदेखिएको बताएका छन् । 

जनताले निर्वाचन आयोगको तयारी थाहा नपाएको उनको भनाइ छ । निर्वाचन आयोगले जनताले थाहा पाउने गरी समयमै निर्वाचन गर्न तयारी गर्नुपर्ने पनि उनले बताए । 

उनले भने, ‘निर्वाचन गर्नुपर्ने निकायले निर्वाचनको तयारी समयमा गर्नुपर्दछ । मैले ५ गते प्रतिनिधिसभा विघटन सिफारिस गरेर विघटन भएपछि ६ गते नै बिहान बोलाएर निर्वाचन आयोगलाई दुई महिना एक दिन अघि नै अब निर्वाचनको तयारी गर्नुस् भन्या छु । मैले अस्ति गएर सोधेँ, तयारी गरिरहेका छौँ भन्नुभयो तर कार्यक्रम प्रकाशित भएको छैन । केही भएको छैन । के तयारी गर्दै हुनुहुन्छ त्यति राम्रो देखिएको छैन । जनतालाई निर्वाचन आयोगको तयारी त्यति थाहा पाएजस्तो लाग्दैन । जनताले थाहा पाउने गरी निर्वाचन आयोगले समयमै निर्वाचन गर्नेगरी, यहाँ कतिपय तत्त्वहरुले यो निर्वाचन घोषणा गरेको निर्वाचन गराउन होइन भन्ने आरोप लगाउन खोजेका छन् । तोकिएकै मितिमा निर्वाचन गर्नका लागि निर्वाचनको मिति घोषणा गरिएको हो । त्यसका विरुद्ध कुनै प्रकारको षड्यन्त्र नहोस् भन्ने म चाहान्छु ।’





  • प्रकाशित मिति : फागुन ७, २०७७ शुक्रबार १९:७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया