नागरिक आन्दोलन : जंगी अड्डा टुँडिखेलबाट हट्नुपर्छ, नो सलामी, नो गुलामी

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको नागरिक समाजले ‘मार्च टु टुँडिखेल’ कार्यक्रमको आयोजना गरेको छ ।

७१ औँ प्रजातन्त्र दिवसका दिन शुक्रबार गरिएको कार्यक्रममा नागरिक समाजले टुँडिखेल सैनिकको होइन जनताको हुनुपर्ने माग गरेको थियो । 

तानाशाहको डर प्रहरीका टाउका गनेर थाहा हुन्छ 

नागरिक आन्दोलनमा उपस्थितिको संख्याले नागरिकको शक्ति मापन नहुने साहित्यकार तथा स्तम्भकार खगेन्द्र संग्रौलाले बताए । नागरिक आन्दोलनमा भएको कम उपस्थितिबारे चिन्ता व्यक्त गरिएको भन्दै उनले आन्दोलनकारीको टाउको गनेर नभई प्रहरीको टाउको गनेर शक्ति मापन गर्नुपर्ने बताएका हुन् ।

थोरै आन्दोलनकारीलाई घेरा हालिरहेको प्रहरीको ठूलो जमाततर्फ देखाउँदै संग्रौलाले भने, ‘नागरिकसँग तानाशाह कति धेरै डराएको छ ? यहाँ उतारिका प्रहरीको संख्याले देखाउँछ ।’



जनताबाट डराएको तानाशाहले आफूसँग भएजति शक्ति प्रदर्शन गर्ने संग्रौला बताउँछन् । ‘तानाशाह जब डराउँछ आफूसँग भएका सबै प्रहरी सडकमा निकाल्छ, सेना सडकमा निकाल्छ, तोप सडकमा निकाल्छ’ उनी भन्छन् । नागरिकविरुद्ध जतिसुकै शक्ति प्रदर्शन गरे पनि तनाशाह एक दिन समाप्त हुने संग्रौलाको भनाइ छ । अहिलेको तानाशाहको नियति पनि त्यस्तै भएको र धेरै समय नटिक्ने दाबी उनले गरे ।



बाक्लो बस्तीका बीचमा जंगी अड्डा हुन नहुने तर्क उनले गरे । जंगी अड्डामा बम, बारुद हतियार हुने भएकाले त्यसलाई बस्ती नभएका ठाउँमा राख्नु पर्ने संग्रौलाले बताए । तानाशाहहरू जनतासँग डराउने भएकाले उनीहरूले आफ्नो दरबारको बलेसीमा जंगी अड्डा राखेको उनको भनाइ थियो । 

‘संसारभरि तनाशाह जनतासँग डराउँछन् । जब तानाशाह जनतासँगै डराउँछन् तिनले आफ्नो दरबारको बलेसीमुनि प्रहरीहरू तैनाथ गर्छन्, सेनाको जमात लगाउँछन्’ उनले भने ।

शाह राजाहरूले आफ्ना नोकरका रूपमा पाली पोसी हुर्काएका सेनाहरूलाई पछि नेपाली सेना भनिएकाले त्यसको तुस अहिले पनि बाँकी रहेको ठहर उनको छ ।

कुनै पनि देशको सेना दुई अवस्थामा मात्रै नागरिक समक्ष आउने नत्र एकान्त ठाउँमा ब्यारेकमा बस्ने उनले बताए । ठूलो प्राकृतिक विपत्ति भएको अवस्थामा राहत र उद्धारका लागि अथवा गृहयुद्ध वा अन्य मुलुकसँग युद्ध भएमा मात्रै सेना देखिने संग्रौलाले बताए । ‘सैनिक जवानहरू बिहान–बिहानै आइ लभ यू भन्दै सहरमा कुद्दैनन्’, उनले भने । 

यो सेना नेपालका शासकहरूको बर्बरताको प्रतीक र सहरको असभ्यताको प्रतीक भएको उनले बताए । 

‘सेनाले नागरिकहरूले खेल्ने, डुल्ने टुँडिखेल कब्जा गरेको छ संग्रौलाले भने, ‘यो नागरिकहरूको हो । यो नेपालीहरूको हो ।’

कुकुरहरू स्वतन्त्र रूपले टुँडिखेलमा विचरण गरिरहँदा आफूहरूलाई टुँडिखेलमा छिर्न नदिएर नागरिकहरूलाई राज्यले कुकुरको जति पनि इज्जत नदिएको संग्रौलाले ठहर गरे ।

नागरिकको डरले बालुवाटारको आदेशमा टुँडिखेलका सबै ढोकाहरू बन्द भएको उनले बताए । तनाशाहले जहिले पनि अधिकार खोस्न चाहने र सबैलाई आफ्नो कमारो बनाउन चाहने भएकाले त्यसका विरुद्ध नागरिक अहिले पनि खबरदारीमा रहिरहनु पर्ने उनले बताए । 

आज जसरी सधैँ टुँडिखेल ढोका लगाइए टुंडिखेल ढोका फोरिने उद्घोष उनले गरे । सधैँ नागरिकका लागि बन्द भए सहरका नागरिकले कब्जा गरी पार्क र पुष्प बाटिका बनाउने उनले बताए । 

टुंडिखेल नागरिकको भएकाले यहाँबाट जंगी अड्डा पन्छिनु पर्ने र पन्छिएन भने जंगी अड्डालाई टुँडिखेलबाट लखेटिने चेतावनी संग्रौलाले दिए । 

अब नो सलामी, नो गुलामी

आजको माइतीघर लैनचौरसम्मको उखुबारी रहेको टुँडिखेललाई कब्जा गरी शासकहरुले आफू अनुकुल प्रयोग गरेको नागरिक आन्दोलनका अगुवा नारायण वाग्लेले बताए ।

संस्कृति र सम्पदाको धनी रहेको काठमाडौँलाई विरूप बनाई समृद्धिको नारा लगाउनु उचित नभएको वाग्लेको भनाइ छ । 

शासकहरूले काठमाडौँका विशाल छाती रहेको टुँडिखेललाई मासेर नारायणहिटी दरबार, बागदरबार बनाएको, सैनिक परेड छाउनीबाट सारेर टुँडिखेल ल्याइएको । लालदरबार, सेतोदरबार, केशरमहल, सैनिक मुख्यालय बनाएको उनले बताए ।

सित्तैमा आउने ढुंड्डेधाराका पानी मासिएको र महंगो मेलम्चीको सपनाको देखाएको वाग्लेको भनाइ छ । 

‘आत्म सम्मान, आत्म विश्वास र आत्म निर्भरता लोकतन्त्रले प्रवर्धन गर्नुपर्नेमा तिम्रो पराधीन मानसिकता किन आयो ? कहाँबाट आयो ?’ उनले प्रश्न गरे ।

‘खरीबोटलाई साक्षी राखेर नेपालमा पहिलोपल्ट प्रजातन्त्र घोषणा भएको थियो । खरीबोट मासियो, प्रजातन्त्र भासियो । ७० वर्षपछि हामी यहाँ उभिएर आज भन्छौँ, अब नो सलामी, नो गुलामी’, वाग्लेले उद्घोष गरे ।

घोषणा पत्र जारी 

शुक्रबारको कार्यक्रममा बृहत् नागरिक घोषणापत्र सार्वजनिक गरियो ।  अधिकारकर्मी जेबी विश्वकर्माले बृहत् नागरिक आन्दोलनको घोषणापत्र पढेर सुनाए । शासकद्वारा नागरिक अधिकारप्रति बेवास्ता,  लोकतन्त्रमाथि प्रहार भएको, स्वेच्छाचारिता हाबी भएकाले फेरि नागरिकहरू जाग्नु परेको घोषणा पत्रमा भनिएको छ । 

कार्यक्रममा आलोकसिद्धि तुलाधर, जितेन्द्र चेपाङ, नेपालमान डंगोल  रीताकुमारी साह, सरिता तिवारीले सम्बोधन गरेका थिए । राजु स्याङ्तान,  सपना सञ्जीवनी, संगीता उराँवले कविता वाचन गरेका थिए ।

जुलुस टुँडिखेलमा छिर्ने त्रास

आन्दोलनकारीहरूले रत्नपार्कको शान्तिबाटिकामा जम्मा भएर जुलुस निकालेका थिए । पत्रकार तथा लेखक नारायण वाग्ले, लेखक खगेन्द्र संग्रौला, लेखक युग पाठक, माहिला अधिकारवादी मोहना अन्सारी लगायतले जुलुसको नेतृत्व गरेका थिए । 

बाक्लो रूपमा उपस्थित भएका सञ्चारकर्मी र ठूलो संख्यामा खटाइएका प्रहरीले प्रदर्शनकारीलाई घेरेको थियो । सैनिकले कब्जा गरेको टुँडिखेल नागरिकको हुनुपर्ने भन्दै टुँडिखेल प्रवेशको योजना बनाएको जुलुस रत्नपार्क हुँदै भद्रकाली, सहिद गेटतर्फ बढिरहेको थियो । टुँडिखेलका सबै ढोका बन्द गरिएका थिए । तैपनि जुलुस टुँडिखेलमा छिर्ने त्रासले जुलुस सहिद गेट पुगेपछि टुँडिखेलको बारलाई घेरा दिएर हिँड्यो । 

ताल्चा लगाएका टुँडिखेलका गेटमा प्रहरी तैनाथ थिए । गेटको ठीक भित्र हतियारसहित सेनाका जवानहरू अलर्ट राखिएको थियो । आन्दोलनकारीले जबरजस्ती गरेनन् । मिलिटरी अस्पतालको पारिपट्टि रहेको सडकमा सभा गरे ।

  • प्रकाशित मिति : फागुन ७, २०७७ शुक्रबार २०:५१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया