'आफ्नो कृतिले विदेशी भाषामा पनि जीवन पाउँदा खुसीको सीमै नहुँदो रहेछ'

मोफसलमा बसेर साहित्य साधना गर्दै आएका साहित्यकार रामलाल जोशी अहिले आफ्नो चौथो पुस्तकको अन्तिम चरणमा छन् । सुदूरपश्चिमेलीहरुको जनजीवन र सुख दुःखलाई आफ्ना सिर्जनामा दुरुस्तै उतार्न खप्पिस छन्, जोशी । 

सबै कुरा जोशीको योजना अनुरुपनै भए पुस्तक यसपालिको दसैँसम्म पाठकमाझ पुग्ने छ । जोशी आफ्नो चौथो पुस्तकलाई लिएर निकै हर्षित छन् । अब उनको यो हर्ष दोब्बर भएको छ । 

कारण ?
उनको कृति ‘ऐना’ ले अझ व्यापकता पाएको छ । ऐना असमी भाषामा पनि  अनुवाद भएको छ । भारतीय प्रा.डा. जगन्नाथ उपाध्यायले अनुवाद गरेको ऐना बुधबार असाम, गहपुरमा विमोचित भएको छ । 

‘नेपाली साहित्यको बजार ठूलो छैन । आफूलाई साँघुरो घेरामा छु जस्तो लाग्थ्यो । आफ्नो कृतिले आफ्नो भाषाभन्दा अन्य भाषामा प्रवेश गर्दा एकदमै खुसी लाग्ने रहेछ,’ जोशीले खुसी साटे, ‘आफ्नो समाज र साहित्य अन्य समाजमा पनि प्रतिविम्वित हुँदा त्यसको खुसीको कुनै सीमा नहुँदो रहेछ ।’

जोशीलाई पुस्तक विमोचन कार्यक्रममा जान नसकेकामा अलि खल्लो भने लागेको छ । त्यसमाथि असाम उनलाई एकदमै मनमोहक लाग्ने ठाउँ पनि हो । उनी तीन पटक गइसकेका छन् । थुप्रै नेपाली भाषी रहेको र आफूलाई एकदमै मनपर्ने स्थान असाम जाने उत्कट चाहना हुँदाहुँदै पनि कोरोना कहर र भौगोलिक प्रतिकूलताका कारण जान सकेनन्, उनी ।

जोशीलाई फेरि यस्तो पनि लाग्यो, ‘समयसँगै एउटा लेखकका कृतिहरु विभिन्न भाषामा अनुवाद हुँदै जालान् । एउटा लेखक कहाँ कहाँ मात्र पुग्न सक्ला र ?’



कसरी अगाडि बढेको थियो त असमी भाषामा अनुवाद प्रक्रिया ?
२०७६ सालको दसैँताकाकाे कुरा हो यो । जोशी र उनका साथीहरु ‘विश्व साहित्य सम्मेलन’ को तयारीका लागि काठमाडौं जाँदै थिए । त्यो समूहमा असामका केशव उपाध्याय पनि जोडिए । केशवले प्रा.डा. जगन्नाथ उपाध्याय ऐनाबाट एकदमै प्रभावित भएको र उनलाई यो कृति असमी भाषामा अनुवाद गर्ने उत्कट चाहना भएको कुरा जोशीलाई सुनाए । 

केशवले भने– उहाँ तपाईंसँग अनुवादका लागि अनुमति माग्न चाहिरहनु भएको छ । ‘मैले केशवजीलाई आफ्नो नम्बर दिएँ । केशवजीले उहाँलाई मेरो नम्बर दिएपछि हाम्रो कुराकानी भयो । हामी फेसबुकमा पनि जोडिएर कुराकानी गर्न थाल्यौँ ।’ जोशीले सुनाए ।
 
लेखकबाट अनुमति पाइ सकेपछि उपाध्यायले अनुवाद सुरु गरे । ऐना लेखिएको भौगोलिक क्षेत्र र यहाँको भाषालाई बुझ्न अनुवादकले नेपालका सुदूर जिल्लामै आउने योजना बनाएका थिए । तर, छोरा बिरामी भएर लामो समय दिल्लीको अस्पतालमा बस्नु परेकाले आउन सकेनन् उनी । 



उपाध्यायले अनुवाद गर्दा आफूले नबुझेका शब्दहरुको सूची बनाएर जोशीलाई पठाए । ‘ऐनामा धेरै ठेट शब्दहरुको प्रयोग भएको छ । उहाँले नबुझ्नुभएका सबै शब्दहरुलाई मैले नेपालीमा अनुवाद गरेर र ती सबैको अर्थ लेखेर पठाएँ’, जोशीले भने, ‘उहाँलाई त्यसले अनुवादमा धेरै सहयोग गर्यो ।’

चार महिना अगाडि अनुवादको काम सकियो । उपाध्यायले जोशीलाई शुभकामना र अनुमति पत्रका लागि सम्पर्क गरे । उनले अनुमति र शुभकामना पत्र पठाएपछि पुस्तक छापियो । अब पुस्तक असमी पाठकहरुको हातमा पुगिसकेको छ ।
 
आफ्नो कृति अन्य भाषामा अनुवादका लागि दिँदा एउटा लेखकलाई सधैँ एउटा चिन्ताले गाँज्छ– अनुवादका क्रममा कतै पुस्तकको भाव मर्ने त होइन, कतै कृतिको अपव्याख्या त हुने होइन ?

यदाकदा अनुवादकले आफ्नो पुस्तकको भाव र मर्म बिगारिदियो भनेर गुनासो गरेको सुनिन्छ लेखकहरुबाट । धेरथोर जोशीलाई पनि यो चिन्ताले गाँजेको थियो । तर, उनी उपाध्यायले आफ्नो सिर्जनालाई न्याय गर्छन् भन्नेमा निश्चिन्त थिए ।
 
‘उहाँ नेपाली मुलकै मान्छे हुनुहुन्छ । उहाँ नेपाली राम्रोसँग बुझ्नु मात्रै हुन्न, नेपाली भाषामा धेरै कलम पनि चलाउनु भएको छ,’ जोशी विश्वस्त छन्, ‘उहाँको असमी भाषामा पनि उत्तिकै पकड छ । असमी भाषामा त उहाँ प्राध्यापन नै गराउनुहुन्छ ।’

तर, पुस्तकमा सुदूरपश्चिम क्षेत्रमा बोलिने भाषा र शब्दहरुको प्रशस्तै प्रयोग भएको छ । जसका लागि नेपालीमा मात्र राम्रो दखल भएर नपुग्ने उनको भनाइ छ । ‘आफूले सोचेअनुरुप हुन्छ कि हुन्न भन्ने कुराले अलि चिन्तित छु,’ जोशीलाई धेरथोर डर पनि छ, ‘जहाँसम्म लाग्छ, उहाँले भाव नमर्ने गरी अनुवाद गर्नुभएको छ ।’

रामलाल जोशी बहुचर्चित कृति ‘ऐना’ ले वि.सं. २०७२ को मदन पुरस्कार जितेको थियो । असमी भाषामा अनुवादित भएर आउने यो पुस्तकलाई गुवाहाटीको ‘पूर्वायोन पब्लिकेशन’ले प्रकाशन गरेको छ ।

  • प्रकाशित मिति : फागुन ८, २०७७ शनिबार ११:५३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया