शीरमा देश र मनमा मधेश राखेर कार्य थालनी गर्दै छु : प्रदेश प्रमुख झा

प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा (अहिराज)ले शीरमा देश र मनमा मधेश राखेर आजबाट जन्मभूमिमा प्रदेश नम्बर २ को प्रदेश प्रमुखको रुपमा कार्य थालनी गरेको बताएका छन् ।
 
आज पदभार ग्रहण गर्दै प्रदेश प्रमुख झाले देश, जनता र संविधानलाई पहिलो र महत्वपूर्ण आधार बनाएर प्रदेश नम्बर २ भित्रका प्रत्येक नागरिकलाई साझा, शान्त, समृद्ध र समभावसहितको समाज निर्माणमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
 
उनले भने, ‘जात, जन्म, स्थान वा घनत्वको आधारमा दम्भ वा भय निर्माण भइरहँदा समाज अशान्त र नागरिक असुरक्षित हुन सक्छ । प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माणमा मेरो भूमिका कायम रहनेछ ।’

उनले प्रदेश नम्बर २ भित्र रहेका विविधता, संस्कृतिको रक्षा, पहिचानको सम्मान, सद्भाव, विश्वास, देशप्रेम, भाइचारा र नागरिकमैत्री सरकार निर्माण गर्दै जानुपर्ने आवश्यकता रहेको बताए । 

देशहित र अब्बल प्रदेश निर्माण गर्न सुशासन, साझापन, सबलीकरण र सहकार्यको विकल्प नरहेको भन्दै कतिपय पक्षमा तत्काल सुधारको खाँचो रहेको उनको भनाइ छ । 

उनले भने, ‘देशभक्ति, आतिथ्य सत्कार र समृद्ध सांस्कृतिक इतिहास बोकेको प्रदेश नम्बर २ मा काम गर्ने सौभाग्य पाएको छु । विविधतालाई अवसरको रुपमा लिने, अनुशासन, इमान्दारी र माटोप्रति प्रेम कायम राख्दै प्रदेश नम्बर २ लाई सकारात्मक रुपमा उदाहरणीय बनाउने कार्यमा बल पुर्याउनेछु ।’ 

उनले आन्तरिक विभेद, असुरक्षा, कुनै पनि खाले दम्भ, अहंकार, दमन र अपराधलाई सबै मिलेर समाधान गर्दै जानुपर्ने उनको भनाइ छ । 

युवामुक्त समाज, बालीमुक्त, कुषि, भययुक्त भविष्य, सम्मानमुक्त जीवनले दीर्घकालीन पीडा दिन्छ । समभावमा आधारित समाज, देशप्रेमसहितको सोच, सबल नागरिक र गौरवान्वित भविष्यसहितको प्रदेश निर्माणमा मेरो भूमिका रहनेछ,‘ उनले भने । 



प्रदेश प्रमुख झाले भने, ‘सामाजिक विभेद अन्त्य गरी राष्ट्रिय एकतामा निरन्तर बल पुर्याउन सक्नुपर्छ । प्रदेशभित्र प्रत्येक नागरिकले पूर्ण सुरक्षाको अनुभूति गर्न पाउनुपर्छ । प्रत्येकको भूमि, भावना र भविष्यको सुनिश्चितता प्रदान गर्न हामी सबैले बल पुर्याउनुपर्छ । प्रदेश नम्बर २ मा सुशासन, सद्भाव, समभाव र समृद्धि कायम गर्न–गराउन मेरो पूर्ण सहकार्य रहनेछ ।’

पदभार ग्रहण गर्नुअघि प्रदेश प्रमुख झाले जानकी मन्दिरमा पूजापाठ गरेका थिए । कार्यालय पुग्दा उनलाई नेपाली सेनाको एक टुकडीले सलामी समेत अर्पण गरेको थियो ।



  • प्रकाशित मिति : फागुन ९, २०७७ आइतबार १८:४७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया