प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिगत रुपमा राजनीति गरिरहेको नेत्रविक्रम चन्द विप्लव समूहले सरकारसँग वार्ता गर्न सकारात्मक हुँदा अन्य राजनीतिक दललाई मन नपरेको आरोप लगाएका छन् ।
आइतबार पाँचौँ इन्द्रदह पर्यटन उत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवस्थाको विरोधमा हतियार उठाइरहेको विप्लव समूहका नेता विप्लवले सरकारसँग वार्ता गरी समाधानमा जान्छौँ भनेर वक्तव्य निकालेपछि कतिपयमा आतंक छाएको बताएका हुन् ।
विप्लव समूहले वार्ता गर्ने भएपछि उक्त समूहलाई प्रयोग गर्न चाहनेमा छटपटी भएको प्रधानमन्त्रीको आरोप थियो । पृथकतावादको कुरा गरिरहेको सिके राउत पृथकतावाद छाडेर राष्ट्रिय राजनीतिको मूलधारमा आउँदा पनि अरुलाई छटपटी भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
‘हतियार उठाइरहेका, व्यवस्थाका विरोध गरिरहेका विप्लव समूहका नेता विप्लवले सरकारसँग वार्ता गर्छौं, हामी वार्ता गरेर समाधानमा जान्छौँ भनेर वक्तव्य निकालेछन्, कतिपयलाई आतंक छायो । विप्लवलाई प्रयोग गरूँला कि भनेको त वार्ता गरेर समस्या समाधान गर्छु पो भन्न थाले,’ ओलीले थपे, ‘देश त साँच्चै हरेक हिसाबले अघि बढ्छ कि क्या हो, पृथकतावादको कुरा गरिरहेको सिके राउत पृथकतावाद छाडेर राष्ट्रिय राजनीतिको मूलधारमा आउँछु भने । अब विप्लव वार्ता गर्छु भन्दै छन् । केहीलाई छटपटी भएको छ ।’
उनले देश, जनता र विकासप्रति इमान्दार भई योगदान गर्नुपर्ने बताए । राष्ट्रिय एकता कायम गर्ने कुरामा र देशलाई एकजुट बनाएर लाने कुरामा एकताबद्ध हुनुपर्ने उनको भनाइ छ ।
वैशाख १७ र २७ गते चुनाव हुने दाबी गर्दै प्रधानमन्त्री ओलीले चुनावी अभियानमा जुट्न पनि सबैलाई आग्रह गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।