चालकलाई सबक सिकाउँदै ट्राफिक : घुस दिन खोज्ने धमाधम पक्राउ
फरकधार / ९ फागुन, २०७७

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले ड्युटीमा खटिएका ट्राफिकलाई आर्थिक प्रलोभनमा (घुस दिन खोज्नु) पार्न खोज्नेलाई धमाधम पक्राउ गरिरहेको छ । वीरेन्द्रनगर बजार क्षेत्रमा सवारी चालक वा त्योसँग सम्बन्धित व्यक्तिहरूलाई ट्राफिकले पक्राउ गर्दै सबक सिकाइरहेको छ । जाँचका क्रममा पैसा दिएर उन्मुक्ति पाउन खोज्ने ट्राफिकको निसानामा परिरहेका छन् । 

आइतबार मात्रै वीरेन्द्रनगरस्थित सिटी बसपार्क क्षेत्रबाट एक जना मोटरसाइकल चालक पक्राउ परेका छन् । १ हजार रुपैयाँ दिएर ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने जुम्लाको गोठीचौर गाउँपालिका–५ स्थायी घर भई वीरेन्द्रनगरमा बस्दै आएका मोटरसाइकल चालक राजकुमार भण्डारी पक्राउ परेका हुन् । बसपार्कमा जाँचका क्रममा भण्डारीलाई पक्राउ गरिएको हो । 

सवारी चालक तथा साहुहरूमा ट्राफिक प्रहरी भन्ने बित्तिकै पैसा दिए पुग्छ भन्ने मानसिकता रहेको र त्यसलाई नै परिवर्तन गर्नका लागि आफूहरू लागि रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले बताए । आचार्य २०७७ कात्तिक १६ गते ट्राफिक प्रहरी प्रमुखका रूपमा सुर्खेत आएका थिए । त्यसयता त्यस्ता गतिविधिलाई नियन्त्रणमा लिन ट्राफिकले विभिन्न कदमहरू चालिरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्कअनुसार पुस यता ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने १० जना चालक, सह–चालक, गाडी साहु पक्राउ परेका छन् । पक्राउ पर्नेमा धेरै जसो मोटरसाइकल चालक हरेका छन् ।

ट्राफिक प्रहरीलाई घुस दिए पनि मनपरी गर्न पाइन्छ भन्ने मानसिकता नै परिवर्तन गर्ने अभियानमा आफूहरू निरन्तर लागेको प्रमुख आचार्यले बताए ।

‘ट्राफिकलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने समस्या सुर्खेतको मात्र नभएर नेपालकै हो,’ उनले भने, ‘यसलाई हामीले जरैबाट परिवर्तन गर्नुपर्छ । सवारी चालक मात्र नभएर ट्राफिक प्रहरी पनि त्यस्ता कामबाट टाढा बस्नुपर्छ ।’ ट्राफिक प्रहरी यस्ता गलत कामको विरुद्धमा निरन्तर लागिरहेको भन्दै उनले यदि ट्राफिक प्रहरी नै यसमा संलग्न भएको पाइएमा कडा कारबाही गर्ने बताए ।

  • प्रकाशित मिति : फागुन ९, २०७७ आइतबार १९:३६:३८,   अन्तिम अपडेट : फागुन ९, २०७७ आइतबार २०:०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया