नेपालमा बढ्दै राजनीतिक तनाव : नेताहरु उपचार गर्न धमाधम भारत धाउँदै
विदेशी शक्तिलाई मनाउन दाहाल-नेपाललाई चुनौती

प्रतिनिधिसभा विघटनसँगै नेपालमा राजनीतिक अस्थिरता चुलिएका बेला नेताहरु उपचारका लागि भारत धाउने क्रम बढेको छ। नेपालमा राजनीतिक संकट चुलिएको अवस्थामा नेताहरु आफ्नो र परिवारका सदस्यको समेत उपचारका लागि भन्दै भारत धाउने क्रम बढेको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै नेताहरुको राजनीतिक तीर्थयात्रा सुरु भएको हो। 

प्रतिनिधि सभा विघटनयता मात्रै तीनजना पूर्व प्रधानमन्त्रीहरु आफ्नो र परिवारका सदस्यहरुको उपचारको बहनामा भारत पुगिसकेका छन्। तर तीनैजना पूर्वप्रधानमन्त्रीहरूले भारतमा रहँदा राजनीतिक भेटघाट नगर्ने र नगरेको बताइरहेका छन्। 

नेपालमै सम्भव हुने रोगको उपचारको निदान पनि नेताहरुले दिल्लीमा खोजी गर्ने क्रम हटेको छैन। नेताहरु एकपछि अर्को दिल्ली धाउन थालेपछि सर्वसाधारणले अनेक आशंका गर्न थालेका छन्। 

प्रचण्ड पुगे

पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएपछि सबैभन्दा पहिले  गत पुस २० गते पत्नी सीता दाहालको उपचारका लागि भन्दै दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुम्बई उडे।  



भारतको राजनीतिक केन्द्र दिल्ली नगइ उनी गम्भीर बिरामी पत्नीको उपचारका लागि  भन्दै मुम्बई पुगेर पुस २५ गते फर्किए। उनले त्यसक्रममा कुनै राजनीतिक भेटघाट नगरेको बताए। 

उनले महाराष्ट्रका राज्यापल भगतसिंह कोश्यारीलाई भेट्न खोजे पनि मौका मिलेन। दाहाललाई भेट दिनका लागि कोश्यारीले अस्वीकार गरेको दाबीसहितका समाचार त्यसबेला आएका थिए। 



नेपालको आन्तरिक राजनीतिमा सबैभन्दा धेरै चासो राख्दै आएको भारत पछिल्लो समय मौन छ। प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि न त कुनै विज्ञप्ति निकाल्यो न त विरोधमै बोल्यो। 

नेपालमा तत्काललाई ओली नै सत्तामा रहेको हेर्न चाहने भारतको दृष्टिका कारण दाहाल-नेपाल नेकपालाई पनि समस्या भएको छ। दाहालले मुम्बई पुगेर राजनीतिक भेटघाट गरेको चर्चा र अनुमान धेरैले गरेका छन्। तर उनले कुन तहका कस्ता नेतालाई भेटे भन्ने बलियो आधार कोहीसँग छैन।

उपचारमा झलनाथ 

प्रचण्ड भारत गएको एक महिनापछि दाहाल-नेपाल समूहका अर्का नेता झलनाथ खनाल पनि भारत यात्रामा निस्किए। वरिष्ठ नेता झलनाथ खनाल माघ ३० गते भारत गएका थिए। उनी भारतको राजधानी नयाँ दिल्लीमा  ९ दिनसम्म बसे। तर उनले पनि कुनै किसिमको राजनीतिक भेटघाट नगरेको कुरा बताएका छन्।  

तर उनी भारत यात्रामा निस्किनुको कारण पनि स्वास्थ्योपचार हो। खनालले दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराएका थिए। उनी ९ दिनसम्म दिल्ली बसेर ८ गते काठमाडौं फर्किए । आइतवार काठमाडौं उत्रिएका उनले दिल्लीमा आफ्नो स्वाथ्योपचार बाहेक अरु कुनै काम नभएको बताए। राजनीतिक भेटघाट पनि कसैसँग नभएको स्पष्टीकरण खनालले दिएका छन्। 

बाबुराम पनि लागे

पेटमा समस्या भएपछि पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पनि आइतबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन्। वरिष्ठ नेता झलनाथ खनाल फिर्दै गर्दा बाबुराम दिल्लीतर्फ उडेका हुन्। 

उनले लामो समयदेखि ललितपुरको निदान अस्पतालमा परीक्षण-उपचार गराउँदै आएको बताएका छन्। तर निदान अस्पतालले रोगको पक्का पहिचान गर्न नसकेपछि आफू दिल्लीतर्फ लाग्न बाध्य भएको जानकारी भट्टराईले दिएका छन्। 

पेटमा समस्या देखिएपछि उनी नेपाल वायुसेवा निगमको जहाजबाट नयाँ दिल्ली गएको प्रेस सल्लाहकार विश्वदीप पाण्डेले बताए। पाण्डेका अनुसार नेता भट्टराईलाई न्युरो-इन्डोक्राइनको ट्युमर आशंका गरिएको छ। 

उनी नेपाली चिकित्सकको सल्लाहमा दिल्लीस्थित 'इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस'मा भर्ना हुन गएका हुन्। भट्टराईसँग श्रीमती हिसिला यमी र प्रेस सल्लाहकार पाण्डे पनि गएका छन्। 

भट्टराईको भारतमै उपचार गर्नुपर्ने कारण बारेमा निदान अस्पताल प्रशासनले प्रतिक्रिया दिन अस्वीकार गरेको छ। यद्यपि भट्टराईले आफूमा गम्भीर स्वास्थ्य समस्या देखिएको हुन सक्ने आशंकासहित दिल्ली गएको बताए। 

महन्थ ठाकुर पनि  

जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर पनि नेपालमा राजनीतिक तरलता चुलिएकै समयमा भारत गएर आएका छन्। प्रतिनिधिसभा विघटनपछिको जटिल अवस्थामा ठाकुर पनि माघ २५ मा दिल्ली गएर फर्किएका छन्।

यद्यपि उनको भ्रमणलाई पनि स्वास्थ्योपचार भनिएको छ। जसपा नेता केशव झाले दिल्लीको मेदान्त अस्पतालमा मुटुको नियमित चेकजाँचका लागि ठाकुर दिल्ली गएर आएको बताएका छन्। 

भारतमा कोरोना महामारी फैलिएपछि मेदान्ता अस्पतालमा नियमित चेकजाँच गराउन नपाएका ठाकुर स्थलमार्गबाट दिल्ली गएका थिए। यद्यपि उनी मेदान्तामा नियमित चेकजाँच गरे फर्किसकेका छन्। देशमा राजनीतिक अस्थिरता भएका बेला उपचारको नाममा नेताहरुले गर्ने भारत भ्रमण सर्वसाधारणले राम्रो ठानेका छैनन्। 

आन्दोलनमा विदेशी गुहारियो

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलित नेकपा दाहाल-नेपाल समूहका नेताहरु एकपछि अर्को भारत लागिरहँदा सर्वसाधारणले आशंका गर्ने ठाउँ पनि छन्। प्रतिनिधिसभा विघटनको दुई महिना हुँदा पनि आन्दोलन उठ्न नसकेपछि खासगरी दाहाल-नेपाल नेकपा तनावमा छ। 

दाहाल-नेपाल नेकपाका अध्यक्ष प्रचण्डले गत माघ २८ गते काठमाडौंमा आयोजित आमसभामै विदेशी शक्तिको सहयोग खोजेका थिए। 'सबै अन्तर्राष्ट्रिय देशहरु, खासगरी हाम्रा छिमेकी, संसारकै सबैभन्दा ठूलो लोकतन्त्र भएको छिमेकीबाट यो बेलामा हामी सबै संसारभरीका लोकतान्त्रिक मूल्य मान्यता राख्नेहरूबाट सहयोग र सद्भाव चाहेका छौँ। दायाँ बायाँ हुने छैन भन्‍ने भरोसामा हामी छौँ।'

विदेशी पत्रकारसँग 

प्रचण्ड-माधव समूहको नेकपाका प्रमुख नेताहरुले नेपालस्थित विदेशी सञ्चारमाध्यमका पत्रकारहरुसँग भेटेर पनि आफूहरुको पक्षमा माहोल बनाइदिन अपिल गरेका थिए।  

माघ २७ गते राजधानीको याक एण्ड यति होटलमा पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपालसहित प्रमुख नेताहरुले विदेशी पत्रकारलाई भेटेर यस्तो आग्रह गरेका थिए। 

अन्तरक्रियाको क्रममा पत्रकारहरुले प्रधानमन्त्री केपी ओली समूहको २३ गतेको आमसभासँग जोडेर पनि प्रश्न गरेका थिए। तर उक्त अन्तरक्रियाले पनि नतिजा ल्याउन सकेको छैन।  
विदेशी शक्तिहरुले नेपालमा लोकतन्त्रका आधारस्तम्भ मौलिक हक, प्रेस स्वतन्त्रता, सभा जुलुसको अधिकार सबै सुरक्षित रहेको भन्दै प्रतिनिधिसभा विघटन हुँदैमा अधिकार खोसिएको मान्न नसकिने बताउँदै आएका छन्। 

  • प्रकाशित मिति : फागुन १०, २०७७ साेमबार १३:३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया