भागरथी हत्या प्रकरण : युवकमाथि अनुसन्धानका लागि पाँच दिन म्याद थप

बैतडीकी किशोरी भागरथी भट्टका हत्या आरोपी युवक दिनेश भट्टमाथि अनुसन्धान गर्न थप ५ दिन म्याद थप गरिएको छ ।

गत बुधबार सार्वजनिक गरिएका दिनेशमाथि अनुसन्धानका लागि यसअघि अदालतले ५ दिनका लागि अनुमति दिएको थियो । उक्त म्यादमा अनुसन्धान नसकिएकाले थप ५ दिनका लागि अनुमति पाइएको बैतडी प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेको दिन नै भागरथीका दाजु केशव भट्टले दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारबाहीका लागि जाहेरी दर्ता गरेका थिए । कुनै पनि अपराधमा संलग्न रहेको आरोप लागेका बालबालिकाको हकमा २१ दिनसम्म थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ । 

माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घरनजिकैको लबलेक जंगलमा उनको शव बीभत्स अवस्थामा भेटिएको थियो । सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म हत्या मात्रै गरेको र बलात्कार नगरेको बताए पनि बिहीबार सरकारी वकिलसमक्ष दिनेशका बुबासमेत राखेर लिइएको बयानमा बलात्कारपछि हत्या गरेको स्विकारेका थिए । घटना माघ २१ गते दिउँसो नै भएको प्रहरीले जनाएको छ । 

घटनामा संलग्न पत्ता नलागेको भन्दै भागरथीका परिवारले यसअघि शव बुझ्न मानेका थिएनन् । शुक्रबार भागरथीको शव बुझेर १७औँ दिनमा अन्त्येष्टि गरिएको थियो ।  

दिनेशको शंकास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र साबिती बयानका आधारमा सार्वजनिक गरिएको प्रहरीले बताएको छ । भागरथीको भजाइनल स्वाब परीक्षणका लागि राष्ट्रिय विधिविज्ञान प्रयोगशाला पठाइएको छ । उक्त परीक्षण रिपोर्टपछि बलात्कार सामूहिक हो वा एकल हो भन्ने पत्ता लाग्नेछ । 



भागरथी दोगडाकेदार गाउँपालिका ३ स्थित सनातन धर्म माविमा कक्षा १२ अध्ययनरत रहेकी थिइन् भने दिनेश पनि सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिए ।  

घर जाने बाटोमा पर्ने लवलेक जंगलमा पुगेपछि पहिला सडकबाट धकेलेर भिरमा लडाएको त्यसपछि बेहोस अवस्थामा बलात्कार गरेको र पछि घाँटी निमोठेर हत्या गरेकोसमेत बयान दिएका छन् ।  



घटनाको अनुसन्धान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी उत्तमराज सुवेदी नेतृत्वको टोलीले गरेको  थियो । उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक खटिएका थिए । हाल वरिष्ठ उपरीक्षक पाण्डेको टोलीको नेतृत्वले जिल्लामा बसेर थप अनुसन्धान गरिरहेको छ ।

दिनेशको डिएनए जाँच हुने

प्रहरीको थुनामा रहेका दिनेशको पनि डिएनए परीक्षणका लागि प्रयोगशाला पठाइने तयारी भएको छ । साथै, थप प्रमाण जुटाउने काम पनि गरिरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । भने, ‘थप तथ्य र प्रमाण भिडाइरहेका छौँ, हामी अनुसन्धानकै क्रममा छौँ, अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा अहिले भन्न मिल्दैन ।’

  • प्रकाशित मिति : फागुन १०, २०७७ साेमबार १७:३२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया